Logo

शिक्षा

प्याब्सन र एनप्याब्सनलाई चेतावनी दिँदै नेवि संघले सोध्यो- सरकार के हेरेर बसेको छ?



काठमाडौं, ८ असार – नेपाली विद्यार्थी संघले कोरोना प्रकोपका कारण बन्द रहेका शैक्षिक संस्था सुचारू नभएसम्म अवधिको कुनै पनि प्रकारको शुल्क नतिर्न अभिभावकहरूलाई आग्रह गरेको छ।

संघका अध्यक्ष राजीव ढुंगानाले सोमबार विज्ञप्ति जारी गरी निजी विद्यालय सञ्चालकहरूलाई लकडाउनको अवधिमा कुनै शुल्क नलिन र लिएको शुल्क तत्काल फिर्ता गर्न चेतावनी दिएका हुन्।

व्याब्सन र एनप्याब्सनले विगत ३ महिनादेखि बन्द रहेको विद्यालयहरूले यसबीचको शुल्क चुक्ता गर्न अभिभावकहरूलाई गरेको अपील हास्यास्पद र भत्सर्नायोग्य रहेको अध्यक्ष ढुंगानाले बताएका छन्।

‘लामो समयदेखि नेपाली विद्यार्थीहरू लकडाउनका कारण घरमै सीमित भएर बसेको सर्वविदितै छ, मुखमै आएका परीक्षाहरू स्थगित भएको मात्र होइन, विद्यालयहरू कहिलेदेखि सुचारू हुन्छन् भन्ने अन्यौलता समेत रहेको र कोरोना संक्रमणले मनोवैज्ञानिक रूपमा त्रसित भएर बनेको अवस्थामा नेपाली विद्यार्थीहरू तनाव, दवाव र त्रास एकसाथ झेलिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा विगत ३ महिनादेखि बन्द रहेका विद्यालयहरूले यसबीचको शुल्क चुक्ता गर्न अभिभावकहरूलाई गरेको अपील हास्यास्पद र भत्सर्नायोग्य छ।’

शिक्षा मन्त्रालयले २०७७ वैशाख २२ गते अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि तह वा कक्षामा नयाँ भर्ना नगर्नु, नगराउनु र भर्नाका नाममा वा अनलाइन पठनपाठका नाममा कुनै शुल्क लिने वा बैङ्क खातामा रकम जम्मा गर्न लाउने कार्य नगर्नु भनेर प्रष्ट निर्देशन दिएको ढुंगानाले स्मरण गराएका छन्।

‘प्याब्सन र नेशनल प्याब्सनले कसरी यस्तो अपिल गरे? त्यसैगरी प्याब्सन र एनप्याब्सले यसरी खुला अपिल जारी गरेर अभिभावकलाई शुल्क बुझाउन भन्दापनि शिक्षा मन्त्रालय र नेपाल सरकार के हेरेर बसिरहेका छन्? आज नेपाली विद्यार्थीहरू अचम्भित भएर यो प्रश्न गरिरहेका छन्,’ ढुंगानाले भनेका छन्।

प्याब्सन र एनप्याब्सनलाई तत्कालै यो निर्णय फिर्ता लिन र सरकारले गम्भीरतापूर्वक यो समस्या समाधान गर्न तदारुकता देखाउनुपर्ने ढुंगानाको तर्क छ।

‘शैक्षिक संस्था नखुलुन्जेलको अवधिभरको कुनै पनि प्रकारको शुल्क नतिर्न सम्पूर्ण अभिभावकहरूलाई नेपाल विद्यार्थी संघ आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्याथीका अभिभावकहरूसँग शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्न असुल्ने कुरा नेवि संघलाई कुनै हालतमा मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौं।’

प्रकाशित : ८ असार २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल