Logo

शिक्षा

त्रिभुवन विश्वविद्यालय सुचारु गर्न अनेरास्ववियुको माग, ताला तोडेर त्रिवि सञ्चालन गर्ने अध्यक्ष बरालको चेतावनी



काठमाडौँ, जेठ २५ गते । नेकपा एमालेनिकट अनेरास्ववियुले पाँच महिनादेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय सुचारु गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष सुनिता बरालले बुधबार वक्तव्य जारी गरी त्रिविमा भइरहेका आपराधिक गतिविधि बन्द गर्न चेतावनी दिएकी हुन् ।

‘हामीले दुःखका साथ भन्नुपर्छ कि, विगत पाँच महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी छ । हाम्रो अपेक्षा थियो सरकार, विश्वविद्यालयप्रति संवेदनशील हुनेछ र ताला खोलेर विश्वविद्यालयको कामलाई सुचारु गराउनेछ, विडम्बना, विश्वविद्यालयमा तालाबन्दी गरिरहेको एक गैरराजनीतिक गिरोह जसले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने माथि ज्यान मार्ने उद्देश्यले गरेको आक्रमणपछि अदालतबाट माग गरेको धरौटी रकम विश्वविद्यालयबाटै असुल गर्ने अभिप्रायले गरेको तालाबन्दीलाई वैधानिकता दिने काम मात्र गरेन राज्यको प्रहरी प्रशासनको उपस्थितिमा ताला लगाउने र ताला लगाउनेलाई पूर्ण सुरक्षासहित संरक्षण गर्ने काम पनि गर्यो । यसका नजिर र पुष्टिहरु तपाई हाम्रो अगाडि नै छर्लङ्ग छन्,’ बरालले भनेकी छन् । 

बरालले नेवि संघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुण्डको समर्थनमा अहिले विश्वविद्यालय बन्द रहेको दावी गरेकी छन् । उनले यस्तो गतिविधिमा संलग्नलाई राजनीतिक संरक्षण नदिन नेवि संघ र प्राध्यापक संगठनहरूलाई आग्रह गरेकी छन् ।

यसको उद्देश्य वर्तमान पदाधिकारीलाई हटाउने र जथाभावी कलेजको सम्बन्धन बाँढेर पैसा असुल गर्ने काममा रहेको उनको आरोप छ । ‘त्यही पैसाबाट धरौटीबापतको रकम मिलाउने अनि आफू अनुकूलका अप्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयलको बागडोर जिम्मा लगाउने नै हो, उनले भनेकी छन् ।

दर्जनौं विश्वविद्यालयहरूको नेतृत्व गरिरहेका कुलपति तथा प्रधानमन्त्री देशकै ठुलो विश्वविद्यालय विगत पाँच महिनादेखी तालाबन्दी हुँदा पनि बसिरहनुले विश्वविद्यालयलाई बन्धक बनाउन आफै क्रियाशील रहेको देखिने अध्यक्ष बरालको ठहर छ ।

‘यस्तो संवेदनशील विषयमा प्रेस जगत मौन छ, प्राध्यापक वर्ग डर त्रासमा छन्, र विद्यार्थी चिन्तित छन् । देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ, अबको ३ दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय सञ्चालन गर्न सहयोग गर्नेछ, त्यस पछाडि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न हामी तयार छौं, उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मावार स्वयं सरकार र सम्बन्धित पक्ष हुने चेतावनी दिन चाहन्छौं,’ बरालले भनेकी छन् ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल