Logo

खेलकुद

रेवाहाङ फेयर फुटबल क्लब महिला टिमद्वारा मावादिन युवा समाजलाई पराजित



संखुवासभा, कात्तिक ९ गते । संखुवासभाको मादी नगरपालिका-३, मूलखर्कमा प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा धरानको रेवाहाङ फेयर फुटबल क्लब महिला टिमले मावादिन युवा समाज विकास केन्द्र मादी संखुवासभालाई ५-० गोल अन्तरले पराजित गरेको छ।

खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको रेवाहाङ फेयर फुटबल क्लबले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो। खेलको १४ औँ मिनेटमा आसिका कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि २७औँ मिनेटमा जर्सी नम्बर १५ की प्रजिता राईले गोल गरिन्। २९औँ मिनेटमा जर्सी नम्बर २३ की यमकुमारी बिकेले गोल थपिन्।

पहिलो हाफमा ३-० को अग्रता बनाएको रेवाहाङले दोस्रो हाफमा पनि आफ्नो लय कायम राख्यो। दोस्रो हाफको नवौँ मिनेटमा जर्सी नम्बर १७ की शिक्षा याक्खाले गोल गरिन्। उनले अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरेपछि रेवाहाङले ५-० को फराकिलो जित दर्ता गरेको हो। खेल अवधिभर मावादिन युवा समाज विकास केन्द्रले गोल फर्काउन सकेन। उत्कृष्ट प्रदर्शन गरेकी रेवाहाङकी प्रजिता राई प्लेयर अफ द म्याच घोषित भइन्।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लिङ्थेपले श्रमदानमार्फत निर्माण सुरु गरिएको खेलमैदानलाई थप व्यवस्थित बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। खेलकुदका गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउन खेलमैदानको पूर्वाधार विकास महत्त्वपूर्ण हुने भएकाले मैदानलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता प्रतियोगिताका आयोजक तथा स्थानीयका लागि महत्त्वपूर्ण रहेको छ।

स्वर्गीय मानबहादुर जिमी मझियाको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजनामा तथा हाङ्थुम क्लबको सह-आयोजनामा सञ्चालन भइरहेको छ। स्थानीय क्षेत्रमा महिला फुटबल प्रतियोगिता कम आयोजना हुने गरेको अवस्थामा प्रतियोगिताले महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

स्थानीय क्षेत्रमा फुटबलको विकास तथा सामाजिक क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएका स्वर्गीय मझियाको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै महिला फुटबलको विकासमा योगदान पुर्‍याउने प्रतिष्ठानका अध्यक्ष रामकुमार जिमीले बताए।

प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेता टोलीले नगद तीन लाख रुपैयाँ र उपविजेता टोलीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टरफाइनल खेल कात्तिक ९ गते दिउँसो १ बजे पदमा स्पोर्ट्स क्लब, ओखलढुङ्गा र बेलबारी फुटबल क्लब, मोरङबीच हुनेछ। प्रतियोगिता कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित : १० कार्तिक २०८३, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल