Logo

समाचार

युवा साहित्यकार यज्ञराज जोशीको पुस्तक ‘बैशाखी’मा नयाँ पुस्ता र भुइँमान्छेका कथा



काठमाडौं, असोज २५ गते । युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी कथा संग्रह लोकार्पण भएको छ। काठमाडौँमा शनिबार आयोजित समारोहमा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी, समालोचक एवं बैसाखीका सम्पादक सुभाषचन्द्र भण्डारीले पुस्तकको लोकार्पण गरेका हुन्।

प्रमुख अतिथि प्राडा अवस्थीले लेखक जोशीमा सिर्जनात्मक प्रतिभा रहेको बताए। ‘पत्रकारिताबाट आएका लेखकहरूका शब्दमा शक्ति हुन्छ। जोशीमा पनि सिर्जनात्मक प्रतिभा छ। उहाँमा इच्छा शक्ति छ। लोकपरिवेशमूलक निपूर्णता छ। लेखनमा आलंकारिक्ता छ,’ उनले भने।

प्राडा अवस्थीले कथाका शैली काव्यात्मक रहेकाले यस्तो अवस्थामा कथानकमा क्षति पुग्ने र लेखक बहकिन सक्ने भएकाले त्यसतर्फ सचेत रहन सुझाव दिए।

यस्तै समीक्षक ज्ञानु अधिकारीले पुस्तकमाथि परिचर्चा गर्दै बैसाखीमा भुइँमान्छेको इतिहास संग्रहित कथा रहेको ‌बताइन्। अधिकारीले नारीवादी मनोविज्ञानलाई पनि लेखकले सशक्त रूपमा प्रस्तुत गरेको बताइन्। उनले कथाका पात्रलेजस्तै समाजका सबै पुरुषले महिलालाई सम्मान गर्ने भए यो संसार कति सुन्दर हुन्थ्यो भन्ने मनोभाव कथा पढ्दै गर्दा आफूमा पैदा भएको बताइन्।

बैसाखीमाथि परिचर्चा गर्दै पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले नयाँ पुस्ताको मनोभावलाई गहिरोसँग लेख्न सफल भएकोमा कृतिकार जोशीलाई बधाई दिए। ‘जोशीको लेखनीमा आधुनिक कथाशिल्प छ। पछिल्लो पुस्ताको मनोभाव गहिरोगरी आएको छ । बालशखादेखि गाउँपरिवेशका सबै कथा मिहिन रूपमा उहाँ लेख्न सफल हुनुभएको छ,’ भण्डारीले भने।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. टीएन जोशीले आफूले लेखक जोशीलाई २० वर्षदेखि चिनेको र जोशी साहित्यिक गतिविधिमा सक्रिय रहेको प्रस्ट पारे। उनले सुदूरभूमिबाट दुःख, संघर्ष गर्दै अगाडि बढेको र भुइँमान्छेकै रूपमा भुइँमान्छेका कथा लेखेको भन्दै खुसी व्यक्त गरे।

यस्तै प्राध्यापक माधव नेपालले बैसाखी लेखनीका क्रममा आफूले थुप्रै सुझाव दिएको र ती सुझावलाई पालना गर्दै जोशीले कृतिका रूपमा बैसाखी ल्याएको बताए। ‘उहाँ प्रतीक्षा गर्न सक्ने व्यक्ति हो। ७ वर्ष लगाएर बैसाखी बजारमा ल्याउनुभयो । मिहिनेत गर्ने हुटहुटी र प्रतीक्षा गर्न सक्ने जोशीको बानीबाट म प्रभावित छु,’ उनले भने।

यस्तै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महरले दशकदेखि जोशीलाई निकट रूपमा चिनेको र लेखकको मिहिनेतको बैसाखी पढ्न पाउँदा खुसी लागेको बताए। उनले लेखक जोशी शब्दसँग रम्न सक्ने स्वाभावका भएकोले साहित्यिक कर्मलाई नै निरन्तरता दिन सदीक्षासमेत प्रकट गरे।

नेपाली जनसम्पर्क समित अमेरिकाका पूर्व सभापति एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द बिष्टले लेखकको व्यक्तिगत जीवन कष्टकर हुने भए पनि यसरी बैद्धिक सम्पत्ति बाहिर ल्याउँदा प्राप्त हुने सन्तुष्टिको कुनै मूल्य नहुने बताए। उनले लेखक जोशीको मिलनसार र मिजासिलो गुण आफूलाई सबैभन्दा बढी मन पर्ने बताए ।

कृतिकार जोशीले आफूले बैसाखीमार्फत नै सबै कुरा बताइसकेकाले अब पाठकका सुझावलाई नै अमूल्य निधि मानेर अगाडि बढ्ने बताए। ‘आमाले दुई दशकअघि भारतमा रहेका पितालाई चिट्ठी लेख्न भन्नुहुन्थ्यो । चिट्ठीको अन्तिममा देउडा लेख्नुहुन्थ्यो । म त्यसैबाट प्रेरित भएर साहित्यिक क्षेत्रमा आकर्षित भएको हुँ । र, आजको दिनसम्म आइपुग्दा त्यही प्रेरणाले बैसाखीको रूप लिएको छ,’ उनले भने।

शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ऊर्जावान युवा लेखक जोशीको कृति बजारमा ल्याउन पाउँदा खुसी लागेको बताए। उनले लोकार्पणअगावै बजारमा पुस्तकको माग बढिसकेको दावी गरे। बैसाखी लोकार्पणको सहजीकरण पत्रकार दीपक जोशीले गरे। बैसाखी पुस्तकको बजार मूल्य ५९५ रुपियाँ रहेको छ।

प्रकाशित : २५ आश्विन २०८३, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल