Logo

गण्डकी प्रदेश

पहिराले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो



म्याग्दी – पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरुपमा बग्न थालेको छ। गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिएका हुन्।

‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो,’ उनले भने, ‘थप जोखिमको अवस्था अध्ययनका लागि आज बिहानै पहिरो गएको ठाउँतर्फ हिँडेका छौँ।’ तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाइएको छ।

गुर्जा हिमालको फेदीमा मुहान भएको गुर्जाखोला म्याग्दी नदीको सहायक खोला हो। धवलागिरि–४ मुदीमा गुर्जाखोला म्याग्दी नदीमा मिसिन्छ। सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ। पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिँड्नुपर्छ। दुवै किनारमा भिर भएको साँघुरो खोँचमा पहिरो खसेर खोला थुनिएको खेतमा काम गर्न गएका किसानले देखेपछि खबर गरेका थिए।

पहिरो गएको र तलाउ बनेको ठाउँसम्म पुग्ने बाटो छैन। किसानले टाढैबाट देखेर खबर गरेका हुन्। केही समय खोला सुकेको थियो। धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ। चारवटै स्थानीय तहको तटीय क्षेत्रका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताएका छन्।

प्रकाशित : १० श्रावण २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल