Logo

प्रदेश-२

‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्नेबाट कस्तो कानूनी राज्यको अपेक्षा राखौं?’



काठमाडौं, ८ कात्तिक – नेपाली कांग्रेसले नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राख्ने भन्ने प्रश्न गर्दै पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरी सत्तारुढ दल नेकपाको स्थानीय दुई समूहबीच पर्सा जिल्लामा असोज ६ गते बिहीबार झडप हुँदा घाइते भएका मुकेश चौरसियाको उपचार क्रममा मृत्यु भएको विषयमा ध्यानाकर्षण भएको बताएका हुन्।

दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेको सार्वजनिक समाचार विवरणहरूप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको विज्ञप्तिमा उल्लेख छ।

‘घटना विवरण अत्यन्तै दुःखद छ, अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दबासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानवीन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य भएको सम्झाउँदै शर्माले नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको उल्लेख गरेका छन्।

‘प्रधानमन्त्रीकै जिल्ला झापामा यसबीचमा कयौंको हत्या भएको छ, प्रतिपक्षी दलका समर्थक शुभचिन्तक यसबीचमा देशको कयौं ठाउँमा आधा दर्जनको संख्यामा सत्तारुढ पार्टीका कार्यकर्ताबाट मारिएका छन्, पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेकोे दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ,’ शर्माले भनेका छन्।

घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व रहेको शर्माको भनाई छ। तर, हत्याको ३ दिनपछि पनि जाहेरी समेत नलिएर नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय रहेको कांग्रेसको ठहर छ।

‘नेपाली कांग्रेस निष्पक्ष अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अविलम्ब थालनी गर्न संघीय र प्रदेश दुवै सरकारको गम्भीर ध्यानाकर्षण र माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

‘सर्वोच्चको मानहानीमा प्रधानमन्त्री २४ घण्टाभित्र पक्राउ पर्न सक्छन्’

प्रकाशित : ८ कार्तिक २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल