Logo

कर्णाली प्रदेश

लालकिल्ला तोड्ने लक्ष्यसहित कर्णाली सभापतिमा उम्मेदवारी दिँदैछन् भुपेन्द्रजङ शाही



काठमाडौं, ७ भदौ – नेपाली कांग्रेसको महाधिवेशन नजिकै गर्दा आगामी नेतृत्वका लागि बहस शुरु भइसकेको छ। कोरोना प्रकोपका बीच नेपाली कांग्रेसको १४औं महाधिवेशनको तयारी भइरहँदा शीर्ष नेतादेखि विभिन्न पदका प्रत्याशीले आन्तरिक तयारी तीव्र पारेका छन्।

वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिङ केसी लगायतले आफ्नो स्थान सुरक्षित गर्ने तयारी थालेका बेला युवा नेताहरू पनि विभिन्न जिम्मेवादी लिने तयारीमा जुटेका छन्।

यसैगरी, पदाधिकारीमा नेपाली कांग्रेसका युवा नेताहरूले आन्तरिक तयारी तीव्र पारेका छन्। संघीय संरचना अनुसार नेपाली कांग्रेसको परिवर्तित विधान अनुसार प्रदेश अधिवेशनले प्रदेश कार्यसमितिसहित सात वटा प्रदेश सभापति पनि चयन गर्ने व्यवस्था छ।

नेपाली कांग्रेसको कर्णाली प्रदेशको सभापतिमा युवा नेता भुपेन्द्रजङ शाहीले उम्मेदवारी दिने घोषणा गरेका छन्। नेवि संघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री, २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवार, २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइसकेका शाहीले प्रदेश सभापतिको दाबेदारी प्रस्तुत गरेका हुन्।

राजनीतिसँग साहित्य र सामाजिक सेवामा सक्रिय रहेका शाही कर्णालीमा जन्मिएर कठिन संघर्षबाट केन्द्रीय राजनीतितर्फ पाइला अघि बढाइरहेका छन्।

‘नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट पार्टीमा आमूल रुपान्तरणको खाँचो रहेको युवा नेता शाहीले बताएका छन्। ‘पार्टी अब पुरानै शैली, गतिहीनता, परम्परावादी दृष्टिकोण र कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन,’ शाहीले भने, ‘अब पार्टीभित्रको गुटबन्दी, नातावाद, भागबन्डा, व्यक्तिगत स्वार्थ, पदीय स्वार्थ र चाकडीवादको राजनीति अन्त्य हुनपर्छ।’

शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भयकाले पार्टीका नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाई गम्भीर ढंगले बुझ्नु पर्ने बताएका छन्।

‘नेपाली कांग्रेसलाई मजबुत र सशक्त पार्टी बनाउन अब कांग्रेसमा संगठन सुद्धिकरण र सुदृढीकरणको अभियान चलाउनु पर्छ, पार्टीमा अब व्यक्ति होइन विचार, पद होइन पद्धति, नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित मूल्य मान्यताको राजनिति स्थापित हुन अति आवश्यक भइसकेको छ,’ शाहीले भने।

नेपाली कांग्रेसलाई अब समयको गतिसँग दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशील र उर्जाशील पार्टी बनाउन सबै कांग्रेसीहरू एकतावद्ध भएर लाग्नु पर्नेमा शाहीले बताए।

नेकपाको भ्रष्टाचारबाट जनता वाक्क भइसकेकाे र सरकार पूर्णरुपमा असफल भइसके उनले बताए। जनताले नेकपाको विकल्प खोजिसके यस्तो बेला नेपाली कांग्रेस पनि पुरानै पाराबाट चलेर हुँदैन विगतका कमी कमजोरीलाई सुधारेर अब नयाँ सोच, विचार, नयाँ उर्जा, कार्यक्रम र नयाँ भिजनका साथ अगाडि बढेर जनताको आशा, विश्वास र भरोशाको पार्टी बन्ने उनले बताए।

नेपाली कांग्रेसका आशा लाग्दा युवा नेताहरू मध्यमा पर्ने युवा नेता शाहीले आफू विगत लामो समय भातृसंंस्थाको केन्द्रीय मुख्य जिम्मेवारीमा बसेर धेरै समय काम गरिसकेकाले अब आफ्नो ध्यान पार्टीको मूल राजनीतिमा नै केन्द्रित रहेको बताए।

नेपाली कांग्रेसको तर्फबाट आफू दुई–दुई पटक सांसदको उम्मेदवार भइसकेको नाताले पनि नेपाली कांग्रेसको संगठनलाई गाउँस्तरसम्म पुगेर वडा–वडा, टोल टोलसम्म संगठन निर्माण र विस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारी रहेको शाहीले बताए।

‘म ६ कक्षा पढ्दै गर्दा राजनीतिमा होमिएको हु, मलाई कुनै निजी फाइदा र स्वार्थ छैन, जनताको सेवा, गाउँको विकास र समाजको परिवर्तन नै मेरो मुख्य लक्ष्य हो, आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन कम्मर कसेर लाग्ने प्रण गर्छु,’ शाहीले भने, ‘अबका दिनमा भात्तृसंस्थाको राजनीतिभन्दा पनि पार्टीकै राजनीतिमा मनस्थिति बनाइसकेको छु।’

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा कर्णाली प्रदेशको प्रतिनिधि भएकाले प्रदेश सभापति वा पिछडिएको क्षेत्रबाट केन्द्रीय सहमहामन्त्री उठ्ने शाहीले बताए।

‘अहिले म जिल्लातिर संगठनको काम र केही सामाजिक काममा सक्रिय छु, कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकसँग छलफलमै छु, यदि पार्टी महाधिवेशनको प्रक्रिया औपचारिकरुपमा शुरु भएपछि सबै नेता कार्यकर्ता र साथीहरूको सल्लाहबाटै उम्मेदवारी घोषणा गर्छु,’ शाहीले भने।

प्रकाशित : ७ भाद्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल