Logo

धर्म

जान्नुहोस् मंगलबार व्रत लिँदा के गर्ने ?



काठमाडौँ –विशेष गरेर गणेश भगवान्‌को पूजा मंगलबार हुने गरे पनि हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ । मंगलबार भगवान् गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत् रुपमा गणेशजीको पूजा गर्ने गर्छन् । मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउन पनि यस दिन व्रत बसी विधिवत रुपमा भगवान् गणेशको पूजा आराधना गर्ने गरिएको हो ।

हिन्दुधर्मअनुसार मंगलबार गणेश भगवान्‌को पूजा(आराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन भन्ने मान्यता छ । सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट सुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने गरिन्छ भने सकेसम्म जीवनभरै लिए अझ राम्रो हुन्छ भन्ने चलन छ । हिन्दु धर्म अनुसारभगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ ।

गणेश भगवान्‌को पूजा भनेको कुनै पनि धार्मिक कर्मको आधिकारिक सुरुवात हो । सुरुमा गणेश भगवान्‌को पूजा नगरी अरु भगवान्‌को पूजा गरेमा त्यो पूजा असफल हुन्छ भन्ने मान्यता छ । पूजा मात्र होइन, कुनै पनि काम वा यात्राको सुरुवात गर्दा पनि गणेश भगवान्‌लाई सम्झिने हाम्रो धार्मिक संस्कार छ ।

त्यसैले, जस्तै ठूलो पूजाआजा वा पुराण नै किन नहोस्, हरेक धार्मिक अनुष्ठानको सुरुवात गणेश भगवान्‌कै पूजाबाट गरिन्छ । अन्य भगवान्‌बाट आशीर्वाद पाउनसमेत पुज्‍नुपर्ने गणेश भगवान्‌को कीर्ति हाम्रा सबै धर्मग्रन्थहरुले यथेष्ट रुपमा बयान गरेका छन् । हामीले साताका अन्य दिनमा गर्ने धार्मिक अनुष्ठान वा अरु भगवान्‌को आराधानाको प्रतिफल पाउन पनि मंगलबार गणेश भगवानको पूजा नगरी हुँदैन ।

मंगलबार भनेको मंगल ग्रहलाई समर्पित दिन हो । हिन्दु धर्ममा मंगल ग्रहलाई ज्ञान, बुद्धि, विवेक र आर्थिक सम्पन्नताको प्रतीकका रूपमा लिइन्छ । त्यसैले, मंगलबारको दिन भगवान् गणेशको पूजा तथा आराधना गर्दा शुभमंगल फल प्राप्त हुने विश्वास गरिन्छ ।

यस्तै, मंगल ग्रहलाई मानव जीवनमा आउने अनेक समस्याका निर्माता तथा कारक पनि मानिन्छ जसको असरबाट बच्नलाई पनि सो दिन शुभलाभका प्रतीक मानिने श्री गणेश भगवान्‌को पूजा गरिएको हो । मंगलबार गणेश भगवान्‌को पूजा गर्नाले जिन्दगीभर सुखद् फल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।

बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । भगवान् गणेशको आराधना गर्दा रातो फूल, फल, तामा, नरिवल दान गर्नुपर्छ । गणेशको व्रत गर्दा गहुँ र सक्खरको भोजन गर्नुपर्ने हुन्छ । वस्त्र पनि रातो लगाउनुपर्छ । एक छाक अलिनो भोजन गर्नुपर्छ ।

व्रतको दिन के गर्ने ?
बिहानको समयमा मैनबत्ती या दीप बाल्नुहोस् । बिहानको ध्यान गर्नुहोस् । केही धार्मिक ग्रन्थहरु पढेर आफ्नो दिनको सुरुवात गर्नुहोस् । जब बेलुका घर पुग्नुहुन्छ । हातखुट्टा धुनुहोस् । कपडा फेर्नुहोस् अनि चोखो खाना ९प्रसाद० बनाउनुहोस् । जस्तै हलुवा, खिरलगायतका खाना ।

खाना ९प्रसाद० प्रेम र सद्‌विचार अथवा कुनै मन्त्र उच्चारण गर्दै बनाउनुहोस् । यो मनन् गर्नुहोस् कि, व्रत या अन्य बेला खाना बनाउँदा पूर्ण रुपमा त्यसमा ध्यान दिनुहोस् र प्रशन्न मन लिएर बनाउनुहोस् अनि मात्र खानाखाने मान्छेको आत्मा तृप्त हुन्छ ।

जब खाना (प्रसाद) तयार हुन्छ, ध्यान अथवा पूजा गर्ने ठाउँमा फलफूल र प्रसाद राख्नुहोस् । पूजास्थानमा दीप, मैनबत्ती या अगरबत्ती बाल्नुहोस् । प्रकाशलाई स्वयं भगवान्‌को उपस्थिति मानिन्छ । यसले ज्ञान र बुद्धि प्रदान गर्छ । फूल, फल र सुगन्ध विश्व, ब्रह्‍माण्ड शक्तिको भेट मानिन्छ । त्यसपछि परिवार, साथीभाइ वा एक्लै बसेर भगवान्‌को आरती गर्न सकिन्छ । त्यस समयमा भागवत् गीतालगायत आफ्नोअनुसारको धार्मिक ग्रन्थको अध्याय पढ्न सक्नुहुन्छ । अथवा फेरि भजन गाउँदै प्रार्थना गर्न सकिन्छ ।

व्रतको दिन के खाने ?
व्रतको दिन कुनै ठोस खाना नलिनुहोस् । रातको समयमा ५ बजेपछि हल्का खाना ९खीर, हलुवा, भात र सागसब्जी० खान सक्नुहुन्छ ।

यदि स्वास्थ्यका कारण दिनभर निराहार व्रत बस्न सम्भव छैन भने कमजोरी हुनुहन्छ भने यातफेरि अत्यधिक टाउको दुख्यो भने दूध र फलफूल लिन सक्नुहुन्छ । त्यस्तै जडीबुटीको चिया वा पानी पनि पिउन सक्नहुन्छ ।

गणेशजीलाई लड्डु मनपर्ने बारेमा पद्मपुराणमा भनिएको कथा स्
परापूर्वमा पार्वतीलाई देवताहरुले अमृतबाट तयार पारिएको एउटा दिव्य लड्डु दिए । लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले । तब माताले लड्डुको महत्‍त्वको वर्णन गरेर भन्नुभयो कि तिमीहरुमध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु ।

माताको यस्तो कुरा सुनेर कुमारले मयूरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आउनुभयो । यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ हुनुभयो । तब गणेशजीले श्रद्धापूर्वक माता–पितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिनुभयो ।

यो देखेर माता पार्वतीले भन्नुभयो “सबै तीर्थमा गरेको स्नान, सबै देवतालाई गरेको नमस्कार, सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत, मन्त्र, योग र संयमको पालन यी सबै साधनाहरु मातापिताको पूजाको सोह्रअंशको बराबर पनि हुन सक्दैन ।”

त्यसकारण गणेशजी सयौं पुत्रहरु र सयौं गणहरुभन्दा पनि धेरै हुनुहुन्छ । त्यसैले उहाँलाई गणनायक पनि भनिन्छ । पार्वतीमाताले भन्नुहुन्छ अतः यो लड्डु म गणेशलाई दिन्छु । त्यसकारण यो लड्डुसँग माता–पिताको भक्ति पनि जोडिएको छ । हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको माता–पिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ । उहाँको साथमा रहने लड्डु यसैको प्रतीक हो ।

‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ । तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक हुनुहुन्छ । भगवान्‌ गणेशको अर्को नाम ‘विघ्नेश्वर’ पनि हो । उहाँ सबै बिघ्नबाधाहरुको निवारक पनि हुनुहुन्छ । उहाँले सबै कार्यहरु निर्बिघ्न गराउनुहुन्छ । भगवान गणेशको अर्को नाम ‘विनायक’ पनि हो विनायकको अर्थ उहाँको अरु कोही नायक छैन र उहाँ नै सर्वश्रेष्ठ नायक हो भन्ने बुझिन्छ ।

भगवान् गणेश सबै शक्तिका स्रोत पनि हुनुहुन्छ । हुन त हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मंगलदाता हुनुहुन्छ । गणेशजी हाम्रो सोच, चिन्तन, धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उहाँ गुणहरुको खानी हुनुहुन्छ । उहाँमा सबै गुण र शक्तिहरु शोभायमान छ । उहाँ देवताहरुमध्ये गुणको देवता हुनुहुन्छ ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल