Logo

स्वास्थ्य

प्राकृतिक उपचार स्पा : पाँचतारे होटलदेखि मोफसलसम्म, किन आवश्यक छ स्पा ?



मानसिक र शारीरिक तन्दुरुस्ती प्रदान गर्ने, शरीरका विषाक्त पदार्थहरू निकालेर शरीरमा सकारात्मक ऊर्जा उत्पन्न गराउने र तनाव कम गराउने प्राकृतिक उपचार विधि हो, स्पा। पछिल्ला दिनमा उपचारदेखि जीवनशैली परिवर्तन तथा शौखका रुपमा समेत स्पाको प्रयोग बढ्दै गएको छ । प्रयोगसँग पाँचतारे होटलदेखि, पर्यटकीय स्थानमा समेत यसको बजार फैलिन थालेको छ।
शारीरिक तन्दुरुस्ती र सौन्दर्यको क्षेत्रमा निकै महत्त्वपूर्ण मानिएको स्पाभित्र विभिन्न प्रकारका उपचार विधि समेटिएका हुन्छन् ।

स्पाथेरापी उपचारअन्तर्गत बाथ, स्टिमबाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन पेन रिलिफ मसाज, अकुप्रेसर थेरापी, शिरोधारा, ओफुरो, साउनालगायत पद्धति प्रचलित छन् । स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदथेरापी, स्पाइनलथेरापी, शिरोधारा, साउनाबाथ, स्टिम बाथ, हटस्टोन मसाज, जोइन पेन रिलिफ मसाज, अकुप्रेसरथेरापी, ओफुरोलगायत प्राकृतिक चिकित्सापद्धतिहरू अपनाउने गरेको छ ।

नेपालमा व्यावसायिक स्पाको इतिहास लामो छैन । १२ वर्षदेखि सञ्चालनमा रहेको स्पा पछिल्लो समय १ सय ५० देखि २ सय वटा स्पा सेन्टर तथा साना–ठूला गरी २ सयवटा मसाज सेन्टरमा विस्तार भएको छ, यद्यपि यसको यकिन तथ्यांक भने उपलब्ध छैन । धेरैजसो स्पा सेन्टरहरू काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्रहरू, पाँचतारे होटेल, ठमेलबजार तथा क्यासिनो क्षेत्रमा बढी मात्रामा केन्द्रित छन् । त्यसैगरी मोफसलका पर्यटकीय क्षेत्र तथा जिल्ला सदरमुकामहरूमा पनि स्पा सेन्टरहरू खोलिएका छन् ।

किन आवश्यक छ स्पा ?

आधुनिक समाजको विकाससँगै मानव जीवनमा पनि आधुनिकताको राम्रै प्रभाव परेको छ । यसले मानिसमा शारीरिक तथा मानसिक समस्याहरू थप्दै छ । बदलिँदो वातावरण, असन्तुलित खानपान, आवश्यक मात्रामा व्यायामको कमीजस्ता कारणले मानिसमा अनगिन्ती समस्या देखिन थालेका छन् । यस्ता समस्याबाट मुक्ति दिलाउन तथा प्रभाव कम गर्न पछिल्लो समय स्पाथेरापीतर्फ आकर्षण बढ्दो छ । स्पाले भित्री अंग तथा आउटलुकको मेन्टिनेन्सका साथै कुनै पनि केमिकलको प्रयोगविना प्राकृतिक तरिकाले पछिसम्मका लागि स्वास्थ्यलाई मेन्टेन गरी जिउने कला सिकाउँछ ।

ट्रयान्क्युलिटी स्पाका निर्देशक राजेश फैँजू मानिसमा स्वस्थ जीवनशैली अपनाउनेबारे मानिसमा चेतनाको विस्तार भएका कारण स्पातर्फ आकर्षण बढ्दै गएको बताउँछन् । ‘स्वस्थ जीवनशैली बनाउने विषयमा मानिसको चेतना वृद्धि भइसकेको छ,’ उनी भन्छन्, ‘मानिसको अस्वस्थकर जीवनशैलीलाई स्वस्थ जीवनशैलीमा बदल्नु तथा शरीर र मनलाई सन्तुलनमा ल्याउनु नै स्पाको प्रमुख उद्देश्य हो । यो व्यवसायलाई उचित ढंगले व्यवस्थित एवम् व्यवसायीकरण गर्न सकेको खण्डमा अर्थतन्त्र तथा स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण टेवा पुग्नेछ ।’

नेपालमा स्पाको अवस्था

मानसिक र शरीरिक तन्दुरुस्तीका लागि गरिने मसाजलाई नेपाली समाजमा अझै पनि नकारात्मक दृष्टिले हेरिन्छ । मसाज भन्नासाथ यौन वा गलत धन्दाका रूपमा अनुमान लगाउने सामाजिक रोग अझै विद्यमान छ । ‘सुरुमा यसप्रतिको मानिसको गलत धारणाका कारण स्पाका लागि जनशक्ति पाउन पनि समस्या थियो,’ रियल थेरापीका सञ्चालक भवी शर्मा भन्छन्, ‘तर, अहिले रोजगारीको नयाँ अवसरका रूपमा विकसित भएको छ ।’ स्पाको विश्वव्यापी रूपमा बजार बढेसँगै स्वदेशी तथा विदेशी सेवाग्राहीको संख्यामा पनि उल्लेखनीय वृद्धि हुँदै गएको उनको भनाइ छ ।

आयुर्वेद र स्पाको सम्बन्ध

स्पामा प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदथेरापी, एरोमाथेरापी, स्पाइनलथेरापी, शिरोधारा, साउनाबाथ, स्टिमबाथ, हटस्टोन मसाज, जोइन पेन रिलिफ मसाज, अकुप्रेसरथेरापी, ओफुरोलगायत प्राकृतिक चिकित्सापद्धति अपनाउने गरिएको छ । पहिले स्पालाई विलासिताको आवश्यकताका रूपमा लिइन्थ्यो भने अहिले नेसेसरी (आधारभूत आवश्यकता) का रूपमा लिने गरिएको छ । स्पा र आयुर्वेद दुवैलाई अल्टर्नेटिभ थेरापीका रूपमा लिन सकिने फैँजूको धारणा छ । आयुर्वेद उपचारमा आधारित हुन्छ भने स्पालाई रिल्याक्समा आधारित मानिन्छ । आयुर्वेदमा प्रयोग गरिने नियमहरू स्पामा पनि पालना गरी स्पाथेरापी सेवा दिइने हुनाले आयुर्वेद र स्पालाई एकीकृत रूपमा लिन सकिने फैँजू बताउँछन् ।

कत्तिको महँगो छ ?

स्पालाई ट्रिटमेन्ट र रिल्याक्स दुवै बेसमा लिन सकिन्छ । सेवाको यही प्रकृतिअनुसार स्पाको शुल्क लिने गरिएको छ । पछिल्लो समय सामान्य मानिसले पनि स्पाथेरापी लिन सक्ने सैँजू बताउँछन् । पहिले पाँचतारे होटेलहरूमा मात्र स्पासेवा सञ्चालन हुँदा धनी मानिसले मात्रै सेवा लिन सक्ने सोच आममानिसमा छ । तर, पछिल्लो समय स्पाले व्यावसायिक रूपमा व्यापकता पाएसँगै आममानिसले पनि स्पासेवा लिन सक्ने रियल थेरापीका सञ्चालक शर्मा बताउँछन् । उनका अनुसार अझै पनि स्पा सर्भिस महँगो छ भने गलत धारणा कायमै छ । ‘स्वास्थ्यको चासो राख्ने जोसुकैले स्पाथेरापी सर्भिस लिन सक्ने अवस्था छ,’ उनी भन्छन् ।

स्पा सर्भिसको निश्चित शुल्क तोकिएको छैन । स्पा सेन्टरले आफ्नो तरिकाले शुल्क लिने गरेका छन् । स्पा सेन्टरले लेबनअनुसार र उपचारको प्रकृतिअनुसार शुल्क लिने गरेका छन् । रियल थेरापीमा स्पा सर्भिस लिएबापत एक हजारदेखि सेवाअनुसार शुल्क तय गरिएको छ । ट्र्यान्क्युलिट स्पामा भने न्यूनतम ३ हजार शुल्क लिने गरेको सेन्टरले जनाएको छ ।

शैक्षिक योग्यता

स्पाथेरापीका लागि अहिलेसम्म नेपाल सरकारबाट प्रमाणित कुनै कोर्स नभएको शर्मा बताउँछन् । ‘यसको रिसर्च गरेर विदेशमा चलाइएका कोर्सहरू र ट्रेनरसमेत झिकाएर ट्रेनिङ दिएर काम गरिरहेका छौँ,’ उनी भन्छन्, ‘यसरी हामीले म्यानपावर तयार गरेका छौँ ।’ तयार भएका म्यानपावरले पछि अरुलाई ट्रेनिङ दिने गरेको शर्माले बताउँछन् । ‘स्पाका लागि आवश्यक कोर्स कुन हो भनी आवश्यक रिसर्च गरी कोर्स सञ्चालनसँगै शैक्षिक योग्यताको सीमा तोकिनु आवश्यक छ,’ उनले भने ।

सञ्चालन प्रक्रिया

पठन–पाठन मात्र नभएर नेपालमा हालसम्म स्पासम्बन्धी कुनै कानुनी व्यवस्थासमेत छैन । तसर्थ, स्पा सञ्चालनका लागि घरेलु उद्योगमा दर्ता गरी सञ्चालनमा ल्याइँदै आएको छ । स्वस्थ्यरक्षाका लागि निकै उपयोगी मानिने स्पाथेरापी सञ्चालनका लागि कम्पनी दर्ता हेल्थ काउन्सिल, घरेलु उद्योग, प्यान वा भ्याट आदिमा दर्ता भई सञ्चालनमा ल्याउन सकिने व्यवस्था छ ।

रोगहरूमा स्पा

विश्व स्वास्थ्य संगठनका अनुसार ७५ प्रतिशत मुटु तथा रक्तनलीका रोग, ७५ प्रतिशत मधुमेह रोग, ७५ प्रतिशत मस्तिष्काघात वा स्ट्रोक र ४० प्रतिशत क्यान्सररोगको पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ । योग, प्राकृतिक चिकित्सा र जीवनशैली व्यवस्थापन नै यी रोगका निम्ति अन्तिम उपाय हुन् । किनकि, यी रोगबाट बच्ने वा उपचार गर्ने उपाय मात्र होइनन्, जीवन जिउन सिकाउने कला पनि हुन् ।

योग, प्राकृतिक चिकित्सा, जीवनशैली चिकित्सा एवम् आयुर्वेदबाट यी रोगको प्रभावकारी उपचार र रोकथाम सस्तो शुल्कमा गर्न सकिन्छ । केही अवस्थामा आधुनिक औषधि तथा अप्रेसनको पनि जरुरत पर्न सक्छ, तर ८० प्रतिशतभन्दा बढी रोगको सुरुवाती अवस्था औषधि तथा अप्रेसनसँगभन्दा पनि जीवनशैलीसँग नै सम्बन्धित हुन्छन् र पूर्णतया ठिक हुनेखालका हुन्छन् ।
प्रायः नसर्ने रोगको रोकथाम र रोगमाथि विजय पाउने सबैभन्दा सजिलो, सस्तो र भरपर्दो उपाय नै योग, प्राकृतिक चिकित्सा, जीवनशैली व्यवस्थाप र आयुर्वेद हुन् ।

स्पा सेन्टरको डिजाइन

स्पा सेन्टरको डिजाइनमा पाँचतारे होटेलहरू तथा ठूला स्पा सेन्टरहरूले निकै ठूलो रकम खर्च गरेको पाइन्छ । स्पा सेन्टर छिर्नेबित्तिकै मानिसमा छुटै आनन्द आउनेखालको सजावट गरिएको हुन्छ । महँगा पेन्टिङ, आकर्षक चित्र तथा वस्तुहरूले भित्ता सजिएका हुन्छन् ।

राजनीतिमा आउँदैछन् रमेश खरेल ? (विशेष अन्तरवार्ता)

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल