Logo

अन्तरवार्ता

‘नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन जेठको पहिलो हप्तामै हुन्छ’



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन्। संघका संस्थापक अध्यक्ष विपीन कोइराला अहिले राजनीतिक यात्रामा पूर्ण सक्रिय नरहे पनि आफ्ना विचार विभिन्न माध्यमबाट व्यक्त गरिरहेका छन्। देउवापछि अध्यक्ष भएका नेताहरू अहिले कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्य छन्। महाधिवेशन गर्ने अध्यक्षहरूमा विपीन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोर राठौर, महेन्द्र शर्मा र रञ्जित कर्णको नाम आउँछ। अरु अध्यक्षले महाधिवेशन गरेनन्। अहिलेका अध्यक्ष दुजाङ शेर्पा पनि महाधिवेशन टार्दै आएका छन्। नेपाल विद्यार्थी संघ देशको सबैभन्दा ठुलो विद्यार्थीको संगठन भए पनि अहिले भताभुंग जस्तै छ। संगठन अस्तव्यस्त छ। नेवि संघ किन यस्तो अवस्थामा पुग्यो ? नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य राज थेबेसँग गरिएको अन्तरवार्ताः

–नेपाल विद्यार्थी संघको बैठकको कुरा चर्चामा छ, साथै नेतृत्वले मनोमानी गरेको भनेर संघका केन्द्रीय सदस्य नै विरोधमा उत्रिएका छन्। संस्थापक समूहबाटै तपाईले नेतृत्व गर्नुभएको छ। किन भाँडभैलो मच्चाउनुभएको छ ?

–नेपाली विद्यार्थी संघ अहिले निकै पेचिलो दाउपेचको राजनीति, सांगठानिक रुपमै अस्तव्यस्त र सैद्धान्तिक रुपमा कठिन मोडबाट अघि बढिरहेको सत्य हो। तर, विद्यार्थी आन्दोलन अघि बढाउने सन्दर्भमा हामी कटिबद्ध छौँ। एक ढिक्का छौँ। विद्यार्थीको आवाज बोल्ने संगठन नेपाल विद्यार्थी संघ नै हो। र, विद्यार्थीका मुद्दालाई अघि बढाउन अगुवाइ गर्ने संगठन पनि हो। हाम्रो माग एउटै हो, नेवि संघ सधैँ विधि र विधानले दिएको सीमामा रहेर काम गरियोस्। हामीले नेतृत्वलाई यही विषयमा खबरदारी गरिरहेका छौँ।

–नेवि संघ विद्यार्थीको संगठन मात्रै होइन, कांग्रेसका नेता उत्पादन गर्ने नर्सरी पनि हो। तर तपाईहरु किन विवादमा रुमलिनु भएको हो?

–कांग्रेस सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष हुनुहुन्थ्यो। अहिले पार्टीको नेतृत्व र पाँच पटक प्रधानमन्त्री पनि बन्नुभयो। उहाँ महाधिवेसन गर्नेमध्येको नेवि संघको अध्यक्षमा पर्नुहुन्छ। त्यसैले हाम्रो काम विद्यार्थीका पक्षमा होस्, हरेक काम विधि सम्मत तरिकाले होस् भन्ने चाहन्छौँ। यसलाई विवाद भन्न मिल्दैन। संगठन व्यक्तिले होइन, विधिले चल्नुपर्छ। व्यक्तिको हस्तक्षेप, मनोमानीले संगठन अघि बढ्दैन। हाम्रो फरक मत यसैमा हो।

–तपाईले अध्यक्षले राम्रोसँग काम नगरेको भनेर आरोप लगाइराख्दा तपाईले चाहिँ के गर्नुभयो भन्ने प्रश्न उठ्छ। के भन्नुहुन्छ ?

–हेर्नुस्, हामीले गर्ने विद्यार्थी पक्षमा निरन्तर अभियान अघि बढाइरहेका छौँ। दिनरात काम हामीले गरिरहेको छौँ। विद्यार्थीका समस्यालाई मिहीन ढंगले केलाएर समाधानका लागि पहल गरिरहेका छौँ। तर नेवि संघको महाधिवेसन नहुँदा विद्यार्थी आन्दोलनलाई क्षति पुगेको छ। हाम्रा एजेन्डामाथि बहस हुन सकेको छैन। समयमा महाधिवेसन होस् भन्ने हाम्रो जोड हो। महाधिवेसनमा जीतहारको विषय एउटा हो। तर महाधिवेसन तत्काल हुनुपर्छ, समयसीमामै हुनुपर्छ। विधिसम्मत हुनुपर्छ। मैले यसैका लागि नेतृत्व गरेर पार्टी नेतृत्वदेखि क्याम्पस युनिटसम्म ध्यानाकर्षण गराएको छु। त्यसैले महाविधेसन हुनुपर्छ। विद्यार्थीको नेता विद्यार्थीले नै चुन्न पाउनुपर्छ। त्यसैका लागि हाम्रो संघर्ष हो। 

–नेतृत्व नै गलत छनौट गर्ने कांग्रेस नेतृत्वलाई नयाँ समिति बनाउन दबाब दिन र आफै नेतृत्व गरेर नेवि संघलाई सुधार गर्न सक्ने क्षमता छैन तपाईको?

–म प्रस्ट छु, ‘नेतृत्व बजारु हल्लाले जन्मिदैन। नेतृत्व समय र इतिहासले आफै जन्माउँछ। त्यसैले प्रतिक्षा गर्नुपर्छ। निरन्तर संघर्ष पनि गरिरहनुपर्छ।’ म विद्यार्थीको हकहितका निमित्त आवाज उठाउँदै आएको छु। सधैँ विद्यार्थीको अधिकारका लागि समर्पित भएर लडिरहेको छु। त्यसैले नेपाल विद्यार्थी संघका दस लाख सदस्य मसँगै सहयात्रामा हुनुहुन्छ। मेरा सहयात्रीले अघि बढ्न प्रोत्साहित गरे म नेतृत्व गर्न तयार छु। र निर्धारित समयमै महाधिवेसन पनि गराउँछु। नेवि संघको सांगठानिक रुपान्तरणका लागि नवीनतम् कार्यशैली र कार्यदिशा नै अहिलेको आवश्यकता हो।

–नेवि संघ यसरी नै अघि बढ्न सक्छ त ?

–नेवि संघ यसरी अघि बढ्न सक्छ सक्दैन, त्यो मैले भन्दा दुजाङ शेर्पाजीले राम्रो जवाफ दिनुहुन्छ। तर नेपाल विद्यार्थी संघलाई नवीन कार्यदिशाका साथ अघि बढाउनुपर्छ। दश लाख विद्यार्थीको भरोसा र पचास लाख विद्यार्थीको हक र अधिकारका पक्षमा हामीले सिर्जनशील भएर अघि बढाउनुपर्छ। यो कुरामा हामी प्रस्ट छौँ। विद्यार्थीको नेता विद्यार्थीले नै चयन गर्न पाउनुपर्छ। त्यसपछि सबै विद्यार्थीले सोचेको जस्तो नेतृत्व आउँछ। अनि, नेवि संघ वास्तवमै विद्यार्थीको साझा संगठन बन्नसक्छ। वैधानिक रुपमा महाधिवेसन गर्नुपर्छ भनेर निरन्तर अभियान चलाउनुको लक्ष्य पनि त्यही हो।

–गठबन्धन परिवर्तन भएपछि तपाईको पार्टी पनि फुर्सदमा छ। तपाईहरुलाई संगठनमा सुधार गर्न, पार्टी रुपान्तरण गर्न नेवि संघलाई नै पनि रुपान्तरण गर्न केले रोकेको ?

–संघ–संगठनका सुधारमा हामी दैनिक लागेको छौँ। तर अहिले आन्तरिक मतभेद र विमतिलाई समाधान गरेर चाँडै स्कुलदेखि विश्वविद्यालयसम्म गाउँबाट सहरसम्म अभियान लिएर जानेछौँ।

–तपाईहरुले नेताको चाकडी र भक्तिगान गरेरै नेवि संघ, विद्यार्थी आन्दोलन समाप्त पार्नुभयो, होइन ?

–हरेक पार्टीमा नेताको चाकरी र भक्तिगान गाउने हुन्छन्। तर, मैले आफ्नो विवेक र बोधले राजनीति गरेको हुँ। म विधि र विधानमा भरोसा गर्छु।

–देउवा र कोइराला समूह भनेर, विवाद गरेर विद्यार्थी आन्दोलन अघि बढ्छ ?

–समूहगत वा गुटगत विषय बहसका लागि हो। विद्यार्थी आन्दोलनका लागि हामी सबै एकै ठाउँमा छौँ।

–अबको नेवि संघ कस्तो हुनुपर्छ, कस्तो बनाउँदै हुनुहुन्छ ?

–नेवि संघ विद्यार्थीले अनुभूति गर्ने, राष्ट्र र राष्ट्रियताका पक्षमा लड्ने र देशको रुपान्तरणका लागि निरन्तर खबरदारी गर्न प्रतिवद्ध हुनुपर्छ।

–१२ महाधिवेशन कहिले हुन्छ?

–वैशाखको पहिलो सातामा क्याम्पस इकाइको अधिवेसन सक्नुपर्छ। दोस्रो साता जिल्ला र तेस्रो साता प्रदेशको अधिवेसन गर्नुपर्छ। अनि, जेठको पहिलो साता नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन गर्नुपर्छ। किनभने नेवि संघको तदर्थ समितिको समयावधि असार १५ गते सकिन्छ। असार र साउनमा महाधिवेसन गर्न मौसमका कारण अनुकूल हुँदैन। त्यसैले उक्त समयसीमाभन्दा अगाडि नै महाधिवेसन सम्पन्न गर्न नेतृत्वलाई आह्वान गर्छु। र महाधिवेसनका लागि तयारी थाल्न नेवि संघका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु।

प्रकाशित : ८ चैत्र २०८०, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल