Logo

स्वास्थ्य

आँखामा आउने स्टाई (आनो) : उपचार र निदानकाे विधि कस्ताे हुन्छ ?



आँखामा हुने विभिन्न समस्यामध्ये एउटा हो स्टाई, जसलाई बोलीचालीको भाषामा आनो भनिन्छ। आनो भनेको एक प्रकारको खटिरा जस्तै हो। जुन परेलाको रौं उम्रिने ठाउँको प्वालमा अर्थात् परेलाको जरो र परेलाको तेल ग्रन्थीमा स्टेफाइलोकोकसु ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ।

संक्रमण भइसकेपछि यसमा पिप जम्मा हुन्छ र त्यसैलाई हामी आनो आउनु भन्छौं। यो आँखाको परेलाभन्दा भित्र वा बाहिर र तल्लो वा माथिल्लो जुनसुकै परेलामा पनि आउन सक्छ।

धेरैजसोलाई थाह होला हामी सानो छँदा यदि आँखामा आनो आयो भने बुढापाकाले यो त धेरै झुटो बोलेर आएकाे हो भन्ने सुन्न पाइन्छ, जुन कुरामा कुनै सत्यता छैन।

फोहोर हातले आँखा चलाउँदा वा माड्दा, आँखा धेरै मिचिरहने बानीले, आनो भएको व्यक्तिले प्रयोग गरेको रूमाल वा तौलिया अरूले प्रयोग गर्दा, फोहर पानीले आँखा धुँदा यो समस्या उत्पन्न हुने गर्दछ।

त्यसैगरी परेलामा चायाँ पर्ने समस्या छ भने पनि आनो हुने सम्भावना हुन्छ। आनो जुनसुकै उमेर समुहका व्यक्तिलाई पनि हुनसक्छ।

तर, प्राय बालबालिकामा आनो बढी देखापर्छ। आनो एकपटक भइसकेपछि फेरि पनि आउन सक्छ र सामान्यतया यसले आँखाको दृष्टिलाई भने असर गर्दैन।

लक्षणहरू
– आँखा चिलाइरहने र माड्न मन लाग्ने

– आँखाको परेला भारी हुने

– आँखाको परेला सुन्निने

– खटिरा आउने र रातो हुने

– आँखाबाट आँशु बगिरहने वा चिप्रा आउने

– घाममा वा प्रकाशमा हेर्न अफ्ट्यारो हुने

उपचार

सामान्यतया आनो केही समयमा आफैं निको भएर जान्छ। तर, बारम्बार आनो हुने समस्या छ भने चिकित्सकको सल्लाहमा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ र दुखाइ धेरै भएमा दुःखाई कम गर्ने औषधिको प्रयोग गर्न पनि सकिन्छ।

आनो आएपछि घरमै गर्न सकिने उपचार जस्तैः सफा नरम कपडालाई मनतातो पानीमा भिजाएर दिनमा कम्तीमा २-३ पटक आँखा सेक्ने। यसरी सेक्दा पीडा कम हुने, आँखाको वरिपरि सफा हुने र बन्द रहेका ग्रन्थीका प्वालहरू खुल्न मद्दत पुग्छ।

आनो आएको आखाँलाई सफा राख्नुपर्छ र मिच्नु हुँदैन। आनो आएको बेला आँखाको मेकअप गर्नु हुँदैन। त्यसैगरी चिकित्सकको सल्लाहबिना बजारमा पाउने औषधीको प्रयोग पनि गर्नु हुँदैन।

यसरी घरेलु विधिबाट आँखाको हेरचाह गर्दा पनि सन्चो भएन भने आँखारोग विशेषज्ञको सल्लाहबमोजिम औषधी सेवन गर्नुपर्छ।

बृद्धाअवस्थाका मानिसमा आनोको समस्या देखिए मधुमेहको जाँच गराउनुपर्छ र दृष्टिमा समस्या भए समयमै परीक्षण गरेर चस्मा लगाउनुपर्छ।

तर आँखा धेरै सुन्नियो, धेरै दुख्यो, पिप या रगत निस्किन थाल्यो, ज्वरो आयो भने घरेलु विधि अपनाउनुभन्दा तुरुन्त स्वास्थ्य संस्थामा गएर जचाउनु बुद्धिमानी हुन्छ।

घरमा आफैंले आनो फुटाएर पिप निकाल्ने, आनोमा लिसोको प्रयोग गर्ने आदि गर्नु हुँदैन।

आनोको रोकथाम

– प्राय: बालबालिकामा यो समस्या बढी देखिने हुँदा उनीहरूको सरसफाईमा ध्यान दिनुपर्छ। धुलो, धुवाँ र फोहरबाट आँखालाई बचाउनुपर्छ। आँखा सधैँ सफा पानीले धुनुपर्छ।

– आँखा चिलाउँदा मिच्नुहुँदैन।

– आँखालाई असर पर्नेगरी मेकअपका सामान प्रयोग गर्नु हुँदैन।

– कन्ट्रयाक्ट लेन्स प्रयोग गर्नेले लेन्स लगाउँदा र निकाल्दा हात राम्ररी धुनुपर्छ।

समयमै उपचार गरिएन भने आनो फुटेर थप संक्रमण हुन सक्ने र आँखाको दृष्टिमा पनि समस्या उत्पन्न हुनसक्ने भएकाले बेलैमा चिकित्सकको परामर्श लिई उचित औषधीको प्रयोग अत्यन्तै आवश्यक हुन्छ।

आँखा एक संवेदनशील अंग भएका कारण चिकित्सकको सल्लाहबिना आँखामा कुनै पनि औषधीको प्रयोग गर्नु हुँदैन।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल