Logo

स्वास्थ्य

समयमा उपचार नगरे आजीवन औषधि सेवन गर्नुपर्ने हुनसक्छ दमका बिरामीले



हिँड्दा, विभिन्न काम गर्दा तथा बस्दाबस्दै पनि स्याँ–स्याँ हुनुलाई दम भनिन्छ । दमका कारण श्वास–प्रश्वासमा असहज अवस्था सिर्जना हुने गर्छ । स्याँ–स्याँ छातीमा हुने भएकाले छातीसम्बन्धी सम्पूर्ण रोगलाई दम भन्ने गरिएको छ ।

दमका विभिन्न प्रकार हुन्छन् । जस्तै, सिओपिडी दम उमेर ढल्केका व्यक्तिमा हुने दमको प्रकार हो, जुन लामो समय धूमपान गर्ने व्यक्तिमा देखापर्ने गर्छ । त्यसैगरी, आस्थमा र एलर्जीका कारणले हुने दम कम उमेरका व्यक्तिमा हुने गर्छ । यस्तो दम कम उमेरका बालबालिकामा बढी हुने गर्छ, तर उमेर ढल्केकाहरूमा पनि यो दम हुन नसक्नेचाहिँ होइन ।

त्यसका साथै अन्य छातीसम्बन्धी रोगहरू, जस्तै, इन्डिस्ट्रिसिन लङ डिजिजका कारण पनि स्याँ–स्याँ हुने गर्छ । छातीमा विभिन्नप्रकारका संक्रमण भएर, जस्तै, टिभीका रोगीमा पनि स्याँ–स्याँ बढ्ने भएकाले त्यसलाई पनि दम भएको भन्ने गरिन्छ ।

सामान्य भाषामा स्याँ–स्याँ गराउने प्रक्रियालाई दमका रूपमा बुझ्नुपर्ने हुन्छ । यस्तो स्याँ–स्याँ गराउने कारण भने विभिन्न हुन सक्छन् । केही दीर्घकालीन रोग छन् भने केही छोटो समयमा आउने रोग छन् । निश्चित उमेर समूहका मानिसमा निश्चित प्रकारको दम पाइने गरेको छ । उदाहरणका लागि सिओपिडी दम ६० वर्ष उमेर कटेका मानिसमा लाग्ने गर्छ ।

कसरी थाहा पाउने दम भएको ?

मानिसले दैनिक रूपमा गर्दै आएको क्रियाकलापमा असहजता तथा कठिनाइ महसुस भयो भने दम लागेको शंका गर्न सकिन्छ । हिँड्दा तथा उकालो चढ्दा स्याँ–स्याँ महसुस भयो भने दम लागेको शंका गर्न सकिन्छ ।

दम लागेको व्यक्तिलाई पटक–पटक खोकी लागिरहने हुन्छ । सुरुवातको समयमा जुनसुकै दममा पनि परिश्रम बढी पर्ने काम गर्दा मात्रै स्याँ–स्याँ भएको महसुस हुन्छ । बिस्तारै सामान्य काममा पनि स्याँ–स्याँ महसुस हुँदै जान्छ । दम एकदमै अन्तिम अवस्थामा गएमा बस्दाबस्दै पनि स्याँ–स्याँ महसुस हुने गर्छ । यस्ता लक्षण देखापरेमा दमरोग विशेषज्ञकोमा गई विभिन्न जाँच गराउनुपर्ने हुन्छ ।

दमका दीर्घरोगीलाई चिसो समयमा भाइरललगायत अन्य संक्रमण बढी हुन सक्ने तथा चिसोयाममा हावामा प्रदूषणको मात्रा बढी हुने र चिसो हावाले एलर्जीलाई बढाउने भएकाले चिसो समयमा दमका रोगीको संख्या बढ्ने गर्छ । त्यसका कारण चिसो समयमा दमका रोगी र रोगीका हेरचाहकर्ताले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

उपचारविधि

मुख्यतया दमका रोगीलाई दिइने औषधि इनेलर हो । यसमा पनि पाउडरबाट दिने इनेलर, मिटर डोज इनेलरलगायत विभिन्न प्रकार हुन्छन् । सिओपिडी, ब्रोन्किटेस्टी दमलाई भने तान्ने औषधि इनेलरका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । यो सबैभन्दा उत्तम तथा कम असर गर्ने प्रविधि हो ।

केही दमको उपचारमा भने इनेलर प्रविधिको प्रयोग त्यति प्रभावकारी मानिँदैन । श्वास फेर्ने नलीमा रोकावट धेरै नभएको दममा यस्तो प्रविधिको प्रयोग त्यति प्रभावकारी मानिँदैन । त्यस्ता दमका रोगीलाई विभिन्न प्रकारका ट्याब्लेट औषधिमार्फत उपचार गराउनुपर्ने हुन्छ ।

उपचारपश्चात् दमलाई पूर्ण रूपमा निको पार्न सकिन्छ या सकिँदैन भन्ने कुरा दमको प्रकारमा निर्भर रहन्छ । जस्तै, सिओपिडी दम धेरै नै भएको छ भने त्यस्ता बिरामीले इनेलरको प्रयोग जीवनभर गर्नुपर्ने पनि हुन सक्छ । दम सुरु भएको लामो समयसम्म उपचार नगराउनेले पनि जीवनभरि नै उपचार गराउनुपर्ने हुन्छ ।

दम लागेको सुरुवातको समय छ भने उपचारका क्रममा आउँदा इनेलर प्रविधिको प्रयोगबाट केही समयमा निको हुन सक्छ । बिस्तारै घटाउँदै लगेर पछि त्यसको प्रयोग नगरे पनि हुन सक्ने अवस्था आउन सक्छ । तर, चिकित्सकको सल्लाहविना इनेलरको प्रयोग रोक्न भने हुँदैन । यस्तो गरेमा दम बल्झिने पनि हुन सक्छ । यसले फोक्सोमा विभिन्न प्रकारका दीर्घकालीन प्रभाव हुन सक्छ ।

के छ अवस्था ?

दम महिला वा पुरुष दुवैमा हुन सक्छ । अस्पतालमा उपचारका क्रममा आएका पुरुषमा दमरोग बढी पाइए पनि महिलामा पनि दम उत्तिकै रहेको आकलन छ । महिलाहरू उपचारका लागि थोरै मात्रै आउने गरेकाले पनि पुरुषमा दमको समस्या बढी देखिएको हुन सक्छ ।

गाउँघरमा धुवाँरहित चुल्होको प्रयोग नहुनुले पनि दम निम्त्याएको छ । अझै पनि गाउँ–गाउँमा महिलाको स्वास्थ्य क्षेत्रमा पहुँच नहुनाले पनि महिलामा दम कम भएजस्तो लागेको मात्रै हो ।
आस्थमा नामक दम भने पुरुषभन्दा महिलामा बढी हुने गर्छ । उनीहरूमा वंशानुगत कारणले नै यसप्रकारको दमको जोखिम बढी हुन्छ । विश्वका विभिन्न अनुसन्धानले पनि यो देखाएको छ । महिलाले पुरुषको तुलनामा शारीरिक रूपमा परिश्रम पर्ने काम धेरै गर्नुपर्ने नभएका कारण पनि यस्तो प्रकारको दमको जोखिम महिलामा बढी हुने गरेको हो । औषधिको प्रयोग गर्न डराउने भएका कारणले पनि दिनानुदिन दमका रोगी बढ्दै गएका हुन् ।

कसरी बच्ने ?

–धूमपान तथा मद्यपान नगर्ने।
–वायु प्रदूषणबाट बच्न धुवाँ–धुलोमा जाँदा माक्र्सको प्रयोग गर्ने।
–गाउँघरमा धुवाँरहित चुल्होको प्रयोगलाई बढावा दिने।
–सकेसम्म चिसोबाट बच्ने।
–कलकारखानामा काम गर्ने मानिसले राम्रोखालको माक्र्सको प्रयोग गर्ने।
–विभिन्न प्रकारका रसायनसँग नजिक हुनुपर्ने मानिसले सुरक्षाका उपायहरू अपनाउने।

प्रकाशित : १ फाल्गुन २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल