Logo

खेलकुद

नैराश्यताको दलदलमा मेसी, किन गुमाउँदै छन् धैर्यता?



एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। उनलाई सर्वकालिन महान् फुटबलरमध्ये एक मानिन्छ।

उत्कृष्ट खेल कौशल, शालिन व्यक्तित्व, हँसिलो अनुसार अनि मिजासिलो स्वाभाव भएका खेलाडी हुन् मेसी। फुटबल जगतमा उनलाई अनुशासित खेलाडीको रुपमा वर्णन गरिन्छ। जीत वा हार जे सुकै होस् उनी प्रायः प्रफुल्ल मुद्रामा देखिन्थे।

तर, पछिल्लो समय मेसी मैदानमा फरक अवस्थामा देखिन्छन्। खेल खेल्दै गर्दा मैदानमा निर्धक्क देखिने मेसी अहिले खेल हारिन्छ भन्ने शंकालु भावका साथ मैदान उत्रिएको देख्न सकिन्छ। उनी निराश अनि तनावपूर्ण अवस्थामा देखिन्छन्।

बढ्दो उमेर र खराब प्रदर्शनबाट गुज्रिरहेका मेसीले स्पेनिस सुपर कपको फाइनल खेलमा रातो कार्ड खान पुगे। त्यस खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबसँग ३–२ को हार बेहोर्दै उपाधि गुमायो। टिमलाई पराजयउन्मुख देखेका मेसीले उक्त खेलको अन्तिम समयमा धैर्यता गुमाउन पुगे।

र, बार्सिलोनाका लागि ७ सय ५३ औं खेल खेल्दा पहिलो पटक रातो कार्ड पाउँदै मैदान बाहिर निस्किए। क्लबको लागि पहिलो भए पनि मेसीको फुटबल करियरको त्यो तेस्रो रातो कार्ड थियो।

मेसीको रातो कार्ड कथा

लियोनल मेसीले अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकै खेलमा पहिलो रातो कार्ड पाएका थिए। सन् २००५ को अगस्ट १७ मा हंगेरीविरुद्ध भएको अर्जेन्टिनाको मैत्रीपूर्ण खेलमा उनलाई रातो कार्ड देखाइएको थियो। उक्त खेल फेरेन्स पुस्कस रंगशालामा भएको थियो। उनलाई दिइएको उक्त रातो कार्ड विवादित बनेको थियो।

मेसीले बल लिएर अघि बढिरहेको बेला विपक्षी खेलाडीले खेल अनुशासनविपरीत उनलाई रोक्न खोजेका थिए। तर, आफूमाथिको त्यो फलको प्रतिक्रियामा मेसीको हात विपक्षी खेलाडीको मुखमा पुगेको थियो र विपक्षी खेलाडीको मुखमा चोट लाग्यो। उनको नियत खेलाडीलाई हान्नु थियो वा थिएन भन्ने चाँहि प्रष्ट थिएन।

मेसीले फुटबल करियरको दोस्रो रातो कार्ड सन् २०१९ को जुलाई ६ मा अर्जेन्टिनाकै जर्सीमा पाएका थिए। कोपा अमेरिका सन् २०१९ को तेस्रो स्थानका लागि भएको चिलिविरुद्धको खेलमा मेसीलाई रेफ्रिले रातो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए। चिलिका ग्यारी मेडेल र मेसीबीच उक्त खेलमा विवाद भई धकेलाधकेल भएको थियो।

मेसीले तेस्रो रातो कार्ड भने बार्सिलोनाबाट पाएका हुन्। जनवरी १८ मा भएको स्पेनिस सुपर कपको फाइनल खेलमा एथ्लेटिक क्लबका खेलाडीलाई धकेलेर लडाएपछि उनलाई रातो कार्ड दिइएको हो। उक्त खेलमा मेसीले असीर भिल्लालिब्रेलाई लडाएपछि भिएआरको मद्दतमा मेसीलाई रेड कार्ड दिइएको हो।

३३ वर्षीय मेसीले हालसम्म अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनन्। फिफा विश्वकप र कोपा अमेरिकाको फाइनलसम्म पुगे पनि उनले टिमलाई अन्तर्राष्ट्रिय उपाधि जिताउन सकेका छैनन्। त्यसकारण पनि मेसीमा नैराश्यता बढेको फुटबल विश्लेषक बताउँछन्।

त्यस्तै, मेसी बार्सिलोनामा सन्तुष्ट नरहेका कारण पनि उनको निराशा झन् बढेको र उनी मैदानमा अनावश्यक गतिविधितिर उन्मुख भइरहेको बताइएको छ। पछिल्लो समयमा राष्ट्रिय टिम र व्यवसायिक क्लबको सन्तोषजनक प्रदर्शन नहुनु र आफैंले पनि टिममा शानदार प्रदर्शन गर्न नसक्नुले मेसी मैदानमा दबाबमा देखिएको अनुमान गर्न सकिन्छ। र, त्यही दबाद र नैराश्यताले मेसी मैदानमा रिसालु देखिएको हुन सक्छ।

गगन थापाले किन केपी शर्मा ओलीलाई भारत जान सुझाव दिए?

प्रकाशित : ६ माघ २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल