Logo

आर्थिक

नेपाल उद्योग वाणिज्य महासंघलाई नवीन रुपान्तरण गर्ने उद्घोषसहित ढकालको उम्मेदवारी



काठमाडौं, ३१ असार – नेपाल उद्योग वाणिज्य महासंघलाई नवीन रुपान्तरण गर्ने उद्घोषसहित वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन्। वरिष्ठ उपाध्यक्षमा ढकालसहितको प्यानलले साउन २५ र २६ गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणा गरेका हुन्।

वरिष्ठ उपाध्यक्ष र अन्य चार जनाले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका छन्। जिल्ला–नगरतर्फका उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिने घोषणा गरेका छन्।

महासंघको वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान छ। त्यसैले वरिष्ठ उपाध्यक्षका विशेष प्रतिष्पर्धा हुन्छ। उम्मेदवारीको घोषणा गर्दै ढकालले समावेशी रहेको बताए। आफ्नो टिम अनुभवले खटिएको र साना तथा मझौलादेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति रहेको उनको भनाइ थियो।

व्यवसायीलाई समस्या परेको समयमै समाधान खोज्ने उद्घोष ढकालले गरे। ‘महासंघमा नयाँ नेतृत्वमा आउने हाम्रो टिमले कोरोना प्रकोपबाट सिर्जना भएको चुनौतीलाई परास्त गर्ने छ,’ उनले भने।

हेर्नुहाेस् वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका ढकालको सम्बोधन

यस्ता छन् याेजना

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले अहिले स्वास्थ्य र आर्थिक चुनौती देखा परेका बताउँदै स्वास्थ्य सम्बन्धी चुनौतीलाई सरकारले सामना गरिरहेको विश्वास व्यक्त गरेका छन्।

‘आर्थिक चुनौती सरकार र निजी क्षेत्र दुवैले मिलेर सामना गरिरहेका छन्, हामीसँग पनि त्यही बाटोलाई पछ्याउने बाहेक अरु विकल्प छैन,’ ढकालले भने।

ढकालले महासंघका नयाँ अध्यक्ष शेखर गोल्छाको टिमलाई सहयोग गरेरै अघि बढ्ने बताए। कोरोना महामारीका कारण कारण उत्पन्न भएको समस्या समाधानका लागि नयाँ अध्यक्षलाई सहयोग गर्ने उनले प्रष्ट पारे।

‘शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु, हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं? त्यसको मर्मलाई अहिले कसले मार्दैछ?, त्यो केका लागि हो?,’ ढकालको प्रश्न छ।

‘आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिनाअघि नेतृत्वमा बसेका अधिकांश साथीहरूले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर कसले लबिङ गरेको थियो?, भविष्यमा हामीले जे गरौंला–गरौंला, तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो?, हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नैपर्छ,’ ढकालले भने।

उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रुपैयाँ, आम्दानीको श्रोत जुटाउन कार्ययोजना बनाउने, उद्यमशीलता विकासका तालिम, एक गाउँ एक उत्पादन कार्यक्रम लागू गर्ने लगायतका योजना ढकालले सार्वजनिक गरेका छन्।

प्रकाशित : ३१ असार २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: