Logo

प्रदेश

कांग्रेस र कम्युनिष्टको पतन शुरू, जनताको खोजी हिम्मत भएको पार्टी र नेता: कुमार लिङदेन



जीवन पौडेल, इलाम, ६ पुस – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले अहिले हिम्मत भएको राजनीतिक शक्तिको आवश्यकता जनताले महसुस गरिरहेको टिप्पणी गरेका छन्।

मञ्चले इलामको चुलाचुलीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपाली राजनीतिमा कांग्रेस र कम्युनिष्टको पतन प्रारम्भ भइसकेको बताएका हुन्।

‘गत उपनिर्वाचनमा कांग्रेसको गढमा कांग्रेस हार्‍यो, नेकपाको गढमा नेकपा हार्‍यो, जनता सत्ता विरोधी धारमा जाँदै छन्, जनताले परिवर्तन खोजेको छन्,’ लिङदेनले भने, ‘जनताको खोजी हिम्मत भएको नेता र पार्टीको छ, त्यो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पूरा गर्ने छ।’

देशको मुख्य सत्रु कर्मचारीतन्त्र भएको बताउँदै उनले कर्मचारीतन्त्र नेकपा र कांग्रेसको संरक्षणमै सञ्चालित रहेकाले यी पार्टीहरुबाट परिवर्तन सम्भव नरहेको टिप्पणी गरे। ‘त्यसैले अब पहिचानका पक्षधर र अग्रगामी सोच भएको शक्ति सत्तामा पुग्नुपर्छ,’ उनले भने, ‘अनि मात्रै परिवर्तन सुनिश्चित हुन्छ।’

संसदमा पुगेर नेकपा र कांग्रेसका भ्रष्ट सांसदहरुसँग प्रतिवाद गर्न सक्ने नेताहरूलाई जनताले छान्नुपर्नेमा जोड दिँदै अध्यक्ष लिङदेनले अब जनताका बीचमा गएर शासनसत्ता नै रुपान्तरण गर्न सक्ने र जनहितमा काम गर्ने नेतृत्व निर्माण गर्ने उद्घोण गरे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानवीनको दायराभन्दा बाहिर रहेका ठूला विकास योजना नेपाली सेनालाई दिने र सबै मिलेर कमिशन खाने गरेको बताउँदै लिङ्देनले नेपाली सेना देशको सीमा सुरक्षामा नखटेर ठेक्कापट्टा र भ्रष्टाचारमा लिप्त भएको बताए।

कार्यक्रममा नेताहरू ध्रुव लावती, सुकबहादुर थेगिम लिम्बु, संघीय दलित शिल्पी मञ्चकी महासचिव शर्मिला बागचन्द, रत्न तिरुवा विश्वकर्मा लगायतले मुलुकको पछिल्लो राजनीतिक अवस्था र मञ्चको रणनीतिका विषयमा धारणा राखेका थिए।

कार्यक्रममा कांग्रेस र नेकपाबाट ३० जना लिम्बुवानमा प्रवेश गरेका छन्। एक सय जनालाई मञ्चको क्रियाशील सदस्यता प्रदान गरिएको छ।

प्रकाशित : ६ पुस २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल