Logo

प्रदेश

‘लिम्बुवान किरात खम्बुवान प्रदेश नामकरण गराउन अब सशक्त आन्दोलन’



जीवन पौडेल, काठमाडौं – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्चले प्रदेश नम्बर १ लाई ‘लिम्बुवान किरात खम्बुवान’ नामकरण गराउन सशक्त आन्दोलन शुरु गर्ने भएको छ।

गत मंसिर २९ र ३० गते बसेको बैठकले प्रदेश १ लाई लिम्बुवान किरात खम्बुवान नामकरण गराउन दबाब दिनका लागि सशक्त आन्दोलन थाल्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय समितिले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव अशोक चेम्जोङले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले सशक्त सडक आन्दोलन अघि बढाउने निर्णय गरेको जानकारी दिएका हुन्।

‘निर्णायक आन्दोलनका लागि पहिचान पक्षधर सबै पार्टी, समुदाय, व्यक्ति, संस्था, नागरिक समाजसँग सहकार्य र गठबन्धन गरिने छ,’ चेम्जोङले भने, ‘साथै मञ्चका सबै जनवर्गीय संगठन, सबै तहका समिति र लिम्बुवान भोलेन्टियर्सहरूलाई आन्दोलनका लागि तयार राखिने छ।’

महासचिव चेम्जोङले आन्दोलनलाई व्यवस्थित र निर्णायक बनाउन समिति गठन गरिएको बताए। ‘प्रदेश संयोजकको जिम्मा महासचिव शान्ता योङयाङलाई दिइएको छ, सदस्यसचिव राजु राई, सचिव गजेन्द्र चोङवाङ क्याक, संघीय दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेर, नेताहरू अमर इजम, दिलु लिङदेन र धनबहादुर पन्धाक सदस्य रहनु भएको छ,’ चेम्जोङले भने।

बैठकमा मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, मञ्चका अर्थसचिव विष्णुकुमार लिम्बु र दीपा लिम्बुले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, प्रान्तीय अर्थसंयोजक तथा उपाध्यक्ष एबी पन्धाकले प्रस्तुत गरेको चुनावी आर्थिक प्रतिवेदन पारित गरिएको छ।

प्रवास समिति र अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्चबाट आएका सुझावलाई पनि प्रतिवेदनमा समावेश गरेर पारित गरिएको जानकारी अध्यक्ष लिङदेनले दिए।

यस्ता छन् मञ्चका अन्य निर्णय

मञ्चको बैठकले ७ प्रदेशलाई संशोधन गरेर १० प्लस १ प्रदेश कायम गराउनुपर्ने माग गर्दै त्यो नभएसम्म असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको महासचिव चेम्जोङले बताए।

मञ्चले उपनिर्वाचन परिणामलाई विश्लेषण गरी आगामी दिनका लागि रणनीति बनाउने निर्णय गरेको छ। ‘यसबीचमा मञ्चको अधिकांश समय पहिचानसहितको संघीयता, प्रदेश १ को नामकरण, ऐतिहासिक विजयपुर बचाउ आन्दोलन, नयाँबानेश्वरमा पाँच दिने बृहत धर्ना, आरक्षण हटाउने लोकसेवा विरुद्धको लामो आन्दोलनमा खर्च भयो,’ चेम्जोङले भने, ‘पहिचानका लागि सडक आन्दोलन जारी राख्नुपर्ने भएकाले संगठन विस्तार अभियानमा कमी भयो, अब मञ्चले आन्दोलन र चुनावी तयारी एकैसाथ अघि बढाउने छ।’

चैत्र पहिलो हप्तामा हुने अर्को प्रान्तीय बैठकमा लिम्बुवानका ९ जिल्लासहित २५ जिल्लाका सबै नगर, गाउँपालिकाहरुका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरुका सम्भावित उम्मेदवारहरुको नामावली अनिवार्य पेश गर्ने र मञ्चको ४ वर्षे योजनालाई सफल बनाउने निर्णय गरिएको जानकारी महासचिव चेम्जोङले बताए। ‘यो वर्षभरिमा थप १० हजार क्रियाशील सदस्य निर्माण गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने।

सीमा अतिक्रमणका सम्बन्धमा

मञ्चले नेपालको सीमा अतिक्रमण गर्ने भारतीय पक्षको कदमको समाधान सहअस्तित्वको आधारमा ऐतिहासिक प्रमाणहरु पेश गर्दै कुटनीतिक वार्ताबाट गरिनुपर्ने निष्कर्ष निकालेको छ।

यसैबीच, मञ्चको बैठकले फूलमाया लिम्बु, भरतमणि थामी र भुवानीप्रसाद लिम्बुलाई संघीय लिम्बुवान मञ्च नेपालको प्रान्तीय पहिचान समिति सदस्यमा मनोनित गरेको छ।

साथै, पहिचानवादी पार्टीहरुसँग सहकार्य, गठबन्धन, एकता वार्ताका लागि पनि समिति निर्माण गरिएको छ। वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ संयोजक रहेको समितिमा सदस्यहरू विसेन्द्र चेम्जोङ, चन्द्र खापुङ, एबी पन्धाक, अशोक चेम्जोङ, थाङसाङ लावती, यलम्बर खम्बु, संगम खनाल र विष्णु भट्टराई रहेका छन्।

प्रकाशित : ३ पुस २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल