Logo

राजनीति

कृषिमन्त्रीज्यू याद रहोस्, हामीले तरकारी फलाउने जमीनमा विदेशी फौजले बुट बजार्दैछ!



कृषिमन्त्रीलाई खुल्लापत्र, ‘राष्ट्रपतिमाथि मर्यादाको प्रश्न उठाउने, अनि मन्त्री खाने?’

लेखक ज्योती किरण र कृषिमन्त्री घनश्याम भुसाल।

प्रिय कामरेड घनश्याम भुसाल, अभिवादन!

अरु सबैलाई बधाई दिएँ। तर, नेपाली राजनीतिमा मेरा एक प्रिय मान्छे मन्त्री बनिरहँदा पनि मैले तपाईलाई बधाई दिन सकिनँ। सायद सामाजिक सञ्जालबाट यस्तो टिममा मन्त्री नबन्न आग्रह गर्ने पहिलो मान्छे मनै थिएँ होला। धेरै लामो गन्थन कुरा गर्नु छैन। मलाई प्रष्ट थाहा छ, प्रधानमन्त्री केपी ओलीको मनसायमा कुनै खोट छैन। तर, तपाईप्रतिको भरोशाले हामीलाई धोका दिँदैन भन्ने आधार यो टिममा देखिँदैन।

दोश्रो, नेकपाकै नेता भीम रावलले उठाएका चार सवालको जवाफ दिने साहस तपाईसँग हुनुपर्छ। नभए इतिहासमा कलंकित पात्र भएर बिदा हुन बाध्य पारिनेछ तपाईलाई। तेश्रो, नैतिक रुपमा जनताले प्रश्न उठाएका पात्रलाई कायम राखिएको मन्त्रिमण्डलमा जनताले उठाएका तुलनात्मक प्रश्नलाई सामान्य ठान्नु तपाईको मुर्खता हो कि होइन?

चौथो, के तपाई जस्तो जिम्मेवार नेताले महामहिम राष्ट्रपति ज्यू र तटस्थ पदीय मर्यादामा पदीय प्रश्न खडा गरेर मन्त्री खान हुन्छ? पाँच– यो मात्रै कुरा होइन, देशको सङ्कटलाई नजिकबाट बुझेको मान्छेले चुनौती उठाउने कुरा के मन्त्री पद मात्रै हो?

प्रिय कामरेड! म पनि तपाईभन्दा कुनै मूल्यमा कम देशभक्त होइन, सुधारको लडाई आफ्ना मूल्यमा कम लडेको थिइनँ, छैन पनि। र, अहिले पनि लडिरहन्छु नै। तर, तपाईले केही माफियाको सामू उभिएर सपथ खाँदै गर्दा म र मजस्ता लाखौँ मानिस विषादिले भरिएको तरकारी खाइरहेका छौँ। र, हामीले तरकारी फलाउने जमीनमा विदेशी सेनाले बुट बजार्दै अगाडि बढिरहेको छ तपाईलाई यो कुरा पनि ख्याल रहोस्।

थोरै सिद्धान्तका कुरा पनि जोडौँ, तपाई आधारभूत रुपमै मार्क्सवादी सिद्धान्तको जगमा उभिएको सशक्त विचारक र उच्च बौद्धिक नेता हो भन्ने आम बुझाइलाई मैले अन्तरहृदयदेखि नै सम्मान गर्नु अनौठो कुरा होइन–थिएन। तर, तपाईकै शब्दमा भन्दा सर्वहारा वर्गीय मूल्य र मान्यताको आधारभूत जग भत्किसकेको यो माफिया सरकार आज रातारात प्रगतिशील र सर्वहाराकृत मूल्यमा कसरी रुपान्तरण भयो? मालेमा विचार हुँदै जबजको राजनीतिक आदर्शबाट प्रेरित भएको पार्टी र मालेमाबाट प्रचण्डपथीय मार्गचित्र हुँदै विकास भएको २१औं शताब्दिको जनवादको फ्युजनले प्राप्त कम्युनिष्ट सत्ता कस्तो हुनुपर्छ भन्छ तपाईको चिन्तनले? के तपाई मन्त्री बन्दै गर्दा हामीले यो जान्न पाउनु पर्दैन?

आधारभूत रुपमा तपाई जसरी मन्त्री हुनुभएको छ, र तपाई लगायत मन्त्री बन्दै गर्दा बाहिरिएका अरु मन्त्रीको अभिव्यक्ति र तपाईको पार्टीभित्रका दुई पार्टी अध्यक्षको भूमिका के कम्युनिष्ट पार्टीलाई सुहाउने र कम्युनिष्ट नेता कार्यकर्ता हुन लायकको छ? एउटा सिद्धान्त निष्ठ भनिएको कम्युनिष्ट नेता कार्यकर्ता किसान र कृषि क्षेत्रको शासकीय नेतृत्व सम्हाल्दै गर्दा भूमिहीन किसानले जमीनको अधिकार पाउलान्? श्रमजीवी किसानको श्रम र उत्पादनको सम्बन्धलाई न्यायपूर्ण मूल्यले के तपाईको प्रशासनले उपभोक्तासम्म जोड्न सक्छ? यी मेरा जिज्ञाशा र प्रश्न मात्र होइनन्। तपाईले मन्त्री हुनुअघि बारम्बार उठाएका पार्टी र सरकारमाथिका सवालहरु पनि हुन्। एउटा सैद्धान्तिक भरोशाबाट उदाएको कम्युनिष्ट नेता तपाई–तपाईको आफ्नै मूल्य र आदर्शलाई हामीले व्यावहारिक रुपमा हेर्न पाउँ। अहिलेलाई मैले पत्रमा लेख्न सक्ने यति नै हो। बाँकी आगामी पत्रमा।

उही तपाईको
ज्योती किरण

प्रकाशित : १९ मंसिर २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: