Logo

विचार

पर्यटन, होटलसँगै समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि सरकार र व्यवसायीका साझा दायित्व



विनायक शाह

भनिन्छ, ‘कठिन परिस्थितिको सामना धैर्य र साहसपूर्वक गर्नुपर्छ । एकदिन अवश्य पनि नयाँ बिहानी आउने नै छ ।’ कोभिड–१९ को विश्वव्यापी प्रकोपपछि ‘नयाँ बिहानी’ आउने अपेक्षा र विश्वासका साथ नेपाली समाज प्रतिक्षारत छ । नेपाली अर्थतन्त्रको ठूलो हिँस्सा ओगटेको पर्यटन क्षेत्र पनि कोरोना प्रकोपको सन्त्रासबाट मुक्त भएर नवीन अध्याय प्रारम्भ भएको हेर्ने अभिलाषा पालिरहेको छ । यद्यपि, अझै कति समय यो त्रासदी कायम रहने हो भन्ने विषयमा अझै पनि विश्व स्वास्थ्य संगठनजस्ता संस्था नै यकिनका साथ भन्न सक्ने अवस्थामा छैनन् । त्यसैले हामीले धैर्यवान हुनुको विकल्प छैन ।

कोभिड–१९, होटल र पर्यटन क्षेत्र

पर्यटन र होटल उद्योगमा हामी ७० वर्षदेखि सक्रिय छौं नेपालमा । विश्वभरिको व्यावसायिक रुपमा सञ्चालित होटल जुन स्ट्याण्डर्ड छ, त्यही मापदण्ड कायम गरेर नै नेपालमा होटल व्यवसाय सञ्चालन गरिरहेका छौँ । हामी सफल पनि छौँ । जुन देशबाट पर्यटकहरू आउनुहुन्छ, उहाँको आफ्नो देशको तौरतरिका हुन्छ । यद्यफि उहाँहरूले अन्तर्राष्ट्रियस्तरको सर्भिस खोज्नुहुन्छ, त्यो सेवा पनि प्रदान गरिरहेका छौँ ।

नेपालमा एकपछि अर्को अन्तर्राष्ट्रिय चेन होटलहरू आइरहेका छन् । नेपाल सरकारले भिजिट नेपाल–२०२० घोषणा गरेपछि नेपालमा धेरै होटलहरू खुले, कति बन्ने प्रोसेसमा छन् । कति लाइसेन्सको प्रतिक्षामा छन् । त्यसैगरी होटल व्यवसाय विस्तार हुने अर्को कारण देश संघीयतामा जानु पनि हो । सातै प्रदेश अनि त्यसका राजधानीहरू भए । शहरीकरण बढ्न थालेपछि खानपिन, बस्नका लागि हस्पिटालिटीको डिमान्ड बढेको हुन्छ । यसका कारण होटलहरू खुल्ने क्रम बढेर गएको छ । यो सकरात्मक छ ।

कोभिड–१९ को प्रकोप शुरु भएपछि नेपालका सबै क्षेत्रलाई आक्रान्त पारेकै छ । विश्वभरि नै महामारीले असर गरिरहेको छ । पर्यटन क्षेत्र पनि तहसनहस भयो । हामीले ‘भिजिट नेपाल–२०२०’ को वर्षलाई पनि बन्द गर्नुपर्‍यो । हाल झण्डै २०–२१ महिनापछि नेपाली होटल र पर्यटन क्षेत्र कोमामा छ । रेडजोनमा छ । हाम्रो व्यवसायमा जति मान्छे आए त्यति चल्ने हो । अहिले जमघट हुने अवस्था छैन । त्यसैले हामी गाह्रो, अप्ठ्यारो अवस्थामा छौं ।

लगानी डुब्ने खतरा, पूर्वतयारीको प्रयास

एउटा अध्ययनले के देखाएको छ– झण्डै १७ प्रतिशत साना तथा मझौला होटलहरू नखुल्ने गरी बन्द भएका छन् । अहिलेको अवस्था अझै केही महिना वा केही वर्ष रहेमा स्थिति झन् खराब हुन्छ । यसका बाबजुद पनि हामी २०–२१ महिनापछि पनि कसरी अगाडि बढ्न सक्छौं के गर्न सक्छौँ भनेर गृहकार्य गरिरहेका छौँ । हाम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पर्क छन्, एजेन्टहरू छन्, उनीहरूसँग पनि सरकारसँग पनि निरन्तर छलफलमा छौँ । अब कसरी अगाडि बढ्न भनेर एउटा निर्क्याैल निकालिसकेका छौं । सुखद् कुरा के रह्यो भने अहिले देशैभरि खोप अभियान चलेको छ । खोपमा आजको दिनसम्म नेपालको जनसंख्याको एकतिहाई अर्थात् झण्डै एक करोड मानिसको पहुँच पुगेको छ । अहिले संसारभरि ‘भ्याक्सिन टु भ्याक्सिन’ को प्रचलन छ । ‘भी टु भी’ भनेको हाम्रो होटलमा आउने ग्राहकहरूले खोप लगाएर आएको अनि जसले सेवा दिने हो, उहाँ पनि खोप लगाएको हुनुपर्छ । त्यसले आउने ग्राहक र काम गर्ने कर्मचारीको पनि कन्फिडेन्ट बढेको छु । दुवैलाई सुरक्षित रहने विश्वास हुन्छ । अगाडि बढ्ने पहिलो आधार भनेको डोमेस्टिक टुरिजम नै हो ।

त्यसका लागि सरकारले १० दिनको पर्यटन काज भनेको निजामति कर्मचारी संगठित क्षेत्रका बैंक कर्मचारीलाई १० दिन बराबरको तलब दिएर देशदर्शनमा पठाउने भन्ने योजना आएको छ । हामी त्यसको कार्यविधिमा काम गरिरहेका छौँ । यो योजना जतिसक्दो चाँडो कार्यान्वयनमा आएको खण्डमा डोमेस्टिक टुरिजमले गति लिन थाल्छ । यो अहिलेको अवस्थामा कोशेढुङ्गा सावित हुन्छ भन्ने आँकलन छ । दोश्रो सरकारले विदेशी पर्यटकलाई एक महिनाको फ्री भिसा दिने घोषणा गरेको छ । त्यसले के देखाएको छ भने अक्टुबर नोभेम्बरमा वीन्टर सिजनमा नेपालमा हिउँमा खेल्न जाने अल्पाइन स्पोर्ट्स् गर्ने, माउन्टेनियरिङ, ट्रेकिङ गर्नेहरूको इन्क्वाइरी राम्रो छ । उहाँहरूका लागि नेपाल स्वर्गै हो । नेपाल आउन ती पर्यटकहरू इच्छुक छन् । सरकारले घोषणा गरेको एक महिने फ्री भिसा लागू हुनुपर्छ । त्यसो भएमा थप काम गर्न सकिन्छ ।

सरकारले मौद्रिक नीतिमा पनि केही कुराहरू ल्याएको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेट परिमार्जित गरेर नयाँ बजेट आउँदैछ । त्यसले पनि पर्यटन र होटल उद्योगलाई सम्बोधन गर्छ भन्ने लागेको छ । नेपालको सीमानाका बन्द छ । होटल, पर्यटन खोल्न दिएको छ । अब स्वास्थ्य मापदण्ड पालना गरेर काम गर्न दिनुपर्छ । सरकारले सहज गरिदिएमा हामी हजारौं संख्यामा पर्यटकहरूलाई सुरक्षित ल्याउन सक्छौं ।

होटल र पर्यटनको उत्थानमा सरकारको भूमिका

होटल संघ नेपालको १६ क्षेत्रमा हाम्रो क्षेत्रीय संघहरू छन् । सबैको मेम्बरशीप हेर्दा झण्डै ४–४ हजारको हाराहारीमा छ । नेपालमा त ४ हजारभन्दा बढी होटलहरू छन् । नेपाल सरकारको एउटा तथ्याङ्क हेर्दा ७१ अर्बको पर्यटन क्षेत्रमा घाटा भयो भन्ने छ । त्यसमा होटल मात्रै त होइन । अरु पनि छन् ।

हाम्रो होटल सञ्चालनमा छैनन् । आम्दानी छैन । होटलको सम्पत्ति सरसफाई गर्नुपर्‍यो। होटलमा भएका उपयोगका सामग्रीहरू मर्मत गुर्नपर्छ । त्यसका लागि कर्मचारी चाहिन्छ । ती कर्मचारीहरूलाई पनि खर्च दिनुपर्छ । हाम्रो ऋणको भार बढेको छ । हामीसँग प्रत्यक्ष–अप्रत्यक्ष सिजनल अनसिजनल गरी झण्डै ११ लाख कर्मचारी छन् । ती मान्छेहरू सबै शीप भएकै हुनुहुन्छ । उहाँहरूको जीवनयापन कसरी सहज बनाउने र कसरी टिकाउने भन्ने ठूलो प्रश्न हो । हामीले ट्रेड युनियनसँग एग्रिमेन्ट गरेर केही रकम होटलको स्तरअनुसार कर्मचारीको खातामा राख्दै आएका छौँ । वर्षको अन्तिमसम्म हामीले यो क्रम जारी राख्ने छौँ । यसबाट होटल व्यवसायी र कर्मचारीको सम्बन्ध पनि राम्रो बनाइराखेका छौँ । तर, सधैँ यस्तो गर्न सकिँदैन ।

सरकारले रोजगारी संरक्षण कोष कुनै योजना ल्याएर अघि बढेको खण्डमा कर्मचारीले सञ्चय कोषबाट नागरिक लगानी कोषबाट जुन ऋण पाउनुहुन्छ निःब्याजी त्यो अनि सामाजिक सुरक्षा कोष छ । त्यहाँ अर्बौं रुपैयाँ छ । त्यो पैसा मुभिलाइज गरेको खण्डमा उहाँहरूको जीवनयापन सहज हुन्छ भन्ने हाम्रो कुरा हो । हिजोभन्दा आज अलि सजिलो भएको छ । सरकारले राष्ट्रिय कार्यनीति, जस्तो स्वास्थ्य क्षेत्रमा संक्रमणकालीन ऐनकानून, सिसिएमसी, डिएमसीसी लगायतका निकायमार्फत् काम गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा त्यसले राम्रो काम गरेको छ ।

अर्थ क्षेत्र तहसनहसको अवस्थामा छ । हामी सामान्य अवस्थामा छैनौँ । स्थिति असामान्य छ, तर नीति–नियम, कानूनहरू सामान्य अवस्थाको पालना गरेर अघि बढिरहेका छौँ । यसमा तालमेल मिलिरहेको छैन । सरकारले पनि २४ घण्टा युद्धस्तरमै काम गर्ने किसिमले जुन कुरा घोषणा गरेको छ । जुन कुरा उद्योगलाई आवश्यक छ । त्यसलाई अध्ययन गरेर लागू गरिदिनुपर्‍यो । एउटा राष्ट्रिय कार्यनीति नै अगाडि आएमा सबै क्षेत्रले काम गर्न सजिलो हुन्छ । आजको दिनमा स्वास्थ्य प्राथमिकता हो । पर्यटनले भनेको कुराहरू स्वास्थ्य मन्त्रालयमा लागू हुँदैन, गृह क्षेत्रमा लागू हुँदैन। एकअर्कामा समन्वयको अभाव छ । हामी सबैले आ–आफ्नो काम गरिरहेका छौँ । तर, समन्वयको अभाव भएका कारण जति प्रभावकारी हुनुपर्ने हो, त्यो भएको छैन । हामीले गरिरहेकै कामलाई प्रभावकारी बनाउन राष्ट्रिय कार्यनीतिको घोषणा भएको खण्डमा हामी अगाडि बढ्न सक्छौँ । आजको दिनभन्दा भोलि धेरै राम्रो गर्न सक्छौं ।

(लेखक शाह होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष हुन्)

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल