Logo

राजनीति

गैरआवासीय नेपाली संघ: स्वार्थी समूहको जालझेल र षडयन्त्रमा ‘संस्था कब्जा’



काठमाडौं – बालकृष्ण दाहाल बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्छन्। एनआरएन युकेका पञ्जीकृत सदस्य उनको नाम एनआरएन युकेले गैरआवासीय नेपाली संघको गत अक्टोबर महिनामा काठमाडौंमा आयोजित नवौं विश्व सम्मेलनमा भाग लिनका लागि प्रकाशित गरेको प्रतिनिधि सूचीमा २ सय २१ नम्बरमा थियो।

तर, दशैं लगत्तै महँगो टिकट काटेर काठमाडौं पुगेका उनी आफ्नो नाम एनआरएन केन्द्रीय सचिवालयद्वारा प्रकाशित मतदाता नामावलीमा न देखेर आश्चर्यचकित र आक्रोशित पनि भए। उनले काठमाडौंमा निर्वाचन समिति समक्ष उजुरी दिए। तर, कुनै सुनुवाइ भएन। अहिले उनले छानबिनको माग गर्दै एनआरएन युकेमा पनि उजुरी दिएका छन्।

अजिता सिम्खडा र सुशीला कार्की बेलायतको नेपाली समाजमा ख्याती कमाएका व्यक्तित्व हुन्। दुवै नेपाल नर्सिङ एसोशिएशन युकेका पूर्व अध्यक्षहरु हुन्। सुशीला कार्कीको नाम एनआरएन युकेले केन्द्रमा पठाएको मतदाता नामावलीमा थियो। तर, केन्द्रीय सचिवालयद्वारा प्रकाशित मतदाता नामावलीमा थिएन।

अजिताको नाम युकेको सूचीमा नै समावेश गरिएन। एनआरएनका ८१ मुलुकहरुबाट त्यस्ता दर्जनौं उदाहरणहरु रहेको जानकारहरु बताउँछन्। नयाँ नेतृत्व चुन्दै गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन काठमाडौंमा सकिएको छ। तर, सम्मेलनको चर्चा अझै सेलाएको छैन। झण्डै एक महिना लगाएर एशिया सञ्चारले गरेको अनुसन्धानबाट प्राप्त जानकारी हामी क्रमिक रुपमा प्रकाशित गर्दै जाने छौं।

आचार्य र पन्तबीच टक्कर

खासगरी छोटो समयमै अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्ना प्रतिस्पर्धी कुमार पन्तलाई दिएको कडा टक्कर, चुनावमा पैसाको चलखेल र राजनीतिकरणको आरोप चर्चाको केन्द्रमा छन्। त्यत्तिकै चर्चामा रहेको छ, सक्कली मतदाताको नाम हटाएर सैयौं फर्जी मतदातालाई मतदान गर्न लगाइएको भन्ने आरोप र अस्तव्यस्त व्यवस्थापन।

अक्टोबर १६ बुधबारका दिन बेलुका होटल हायातमा इलेक्ट्रोनिक भोटिङ मशिन प्रयोग गरी मतदान गराउन सबै तयारी पूरा भएको थियो। डेलिगेटहरु लामो लाइनमा पर्खिरहेका थिए। तर, मतदान शुरु हुनासाथ प्राविधिक कारण देखाउँदै मतदान प्रक्रिया बन्द गरियो। सो मेशिन बनाएर चर्चामा आएका रामलक्ष्मण दाजुभाइले मेशिनमा खासै ठूलो समस्या नरहेको तर सचिवालयले नै चुनाव रोक्न लगाएको प्रतिक्रिया दिए। त्यसो भए भएको के थियो त?

सम्मेलनमा भाग लिन संसारभरिबाट आएका माओवादी समर्थकहरुले कुल आचार्यलाई समर्थन गर्ने सूचना पाएपछि नियोजित रुपमा मतदान रोकिएको आचार्य पक्षको आशंका छ। आचार्य पक्षले सिंगो एनआरएन सचिवालय र निर्वाचन समितिले एक पक्षीय रुपमा काम गरेको आरोप लगाएको थियो। आपसी विश्वासको अभावमा मेशिनबाट मतदान गर्नुको सट्टा मतपत्र छापेर मतदान गर्ने निर्णय गरियो। बुधबार भएको मतदानमा १४७ मतले आचार्य पराजित भएको घोषणा गरियो।

अस्तव्यस्त केन्द्रीय सचिवालय

१५ तारिखदेखि सम्मेलन शुरु हुने भएपनि बालुवाटारस्थित एनआरएनएको केन्द्रीय सचिवालयमा १४ तारिखदेखि दिनभरि नै डेलिगेटहरुको भीड लागेको थियो। परिचयपत्र बनाउन घण्टौ लाइन बस्नु परेको थियो। मतदाता नामावलीमा फेरबदल हुने क्रम पनि जारी थियो।

आचार्य समूहले एनसीसीहरुले पठाएको नामावलीमा नाम नै नरहेका र नेपाल फर्की सकेका मानिसलाई पनि मतदाता नामावलीमा समावेश गरी भोट हाल्न लगाइएको आरोप लगाएको छ। गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले एनआरएनएको मतदाता नामावलीमा धाँधली भएको दाबीका साथ छानबिनको माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिए।

‘संघको राष्ट्रिय महाधिवेशन सञ्चालन नियमावली २०१९ को नियम ३.१, संघद्वारा ३० अगस्ट २०१९ मा जारी सूचनाको बुँदा नम्बर १ तथा संघको ४ अक्टोबर २०१९ मा बसेको निर्णय बमोजिम जारी सूचना नम्बर ५ को बुँदा नम्बर ७ बमोजिम विभिन्न मुलुकबाट प्राप्त प्रतिनिधि तथा मतदाता नामावली, उल्लेखित कानूनी व्यवस्था बमोजिम प्रकाशित नगर्ने, हामीलाई उपलब्ध नगराउने, गोप्य रुपमा प्रतिनिधिको नाम फेरबदल गर्ने, अनाधिकृत व्यक्तिहरुको नाम सिफारिस गर्ने लगायत संघको विधानको बर्खिलाप कार्यहरु सचिवालयबाट निरन्तर रुपमा भैरहेका छन्,’ उजुरीमा भनिएको थियो।

गैरआवासीय नेपालीसम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरी त्यस्तो गैरकानूनी कार्य अबिलम्ब रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयमा मिति २०७६ असोज २७ गते दर्ता नम्बर १५९४ मा निवेदन दर्ता गरिसकेको र परराष्ट्र मन्त्रायलबाट विश्वसम्मेलनमा संघको सचिवालयले गरेको कार्यको अनुगमन गरी आवश्यक निर्देशन नआउञ्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न उनले माग गरे। निर्वाचन समितिमा उजुरी पनि दिए। तर न परराष्ट्रले कुनै सुनुवाई गर्यो, न निर्वाचन समितिले।

चुनावी नतिजा घोषणा गरिए पछि एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले निर्वाचनमा व्यापक र योजनावद्ध ढंगले अनियमितता गरिएको आरोप लगाए। ‘अन्तिम मतदाता नामावली प्रकाशन नगरी उम्मेदवारी दर्ता गर्ने काम गरियो। धेरै फर्जी मतदाताहरु तयार गरियो। चुनाव सम्पन्न भई सकेपछि पनि कति मत खस्यो भन्ने विवरण सार्वजनिक गरिएन।

बिना मुचुल्का मतगणना शुरु गरियो। बहालवाला निर्वाचित जनप्रतिनिधि जापानको प्रतिनिधि बनेर मतदान गरेको घटनासहित नेपाल फर्किसकेका सैयौं व्यक्तिहरुलाई मतदाता नामावलीमा समावेश गरी योजनाबद्ध ढंगले मतदान प्रक्रियामा सहभागी गराइयो,’ आचार्यले भने। आचार्य र उनको समूहका उम्मेदवारहरुले मतदाताहरुले पेश गरेको कागजातको पुनः प्रमाणीकरण गरियोस् भन्दै निर्वाचन समिति समक्ष उजुरी दिए। तर, समितिले त्यसको पनि कुनै सुनुवाइ गरेन।

निर्वाचनमा योजनाबद्ध ढंगले अनियमितता गरिएको भन्ने आरोपहरुको नवनिर्वाचित अध्यक्ष कुमार पन्तले खण्डन गरेका छन्। एक अनलाइनसँगको अन्तर्वार्तामा उनले त्यसो भए मतदाता नामावलीमाथि किन दावी विरोध नगरेको भनि उल्टै प्रश्न गरे।

राजनीतिकरणको आरोप

निवर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यमाथि चुनाव जित्न राजनीतिकरण गरेको आरोप लाग्यो। आचार्यको पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले खुलेरै प्रचार गरेको तथा जनसम्पर्क समितिहरुलाई निर्देशन दिएको भन्ने आरोप पनि लाग्यो। तर, अमेरिका, जर्मनी लगायतका मुलुकबाट आएका आफूलाई प्रजातन्त्रवादी भन्ने डेलिगेटहरु विभाजित देखिन्थे।

कुमार पन्तले आफ्नो टिममा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, गौरीराज जोशी जस्ता कांग्रेस निकट ठानिने उम्मेदवारहरु राखेका थिए। पूर्व अध्यक्ष जीवा लामिछानेले खुलेरै आफ्ना व्यावसायिक साझेदार पन्तलाई समर्थन गरेपछि र आचार्यलाई समर्थन गर्न कांग्रेस नेतृत्वले दिएको दवाव अस्वीकार गरिदिए पछि पन्तलाई ठूलो बल मिल्यो। कतिपयले त कुल आचार्यले पन्तविरुद्ध हैन, जीवा लामिछानेविरुद्ध चुनाव लडिरहेको भन्ने टिप्पणी पनि गरे।

त्यस्तै पूर्व अध्यक्षहरु र संरक्षकहरु समेत उम्मेदवारहरुको पक्षविपक्षमा बाँडिएका थिए। राजनीतिकरण भयो भन्दै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सम्मेलनमै भाग लिएनन्। जीवा लामिछाने पन्तको पक्षमा अडिग रहे। अध्यक्ष भट्ट तटस्थ रहे। पूर्व अध्यक्षद्वय शेष घले तथा देवमान हिराचनको सहानुभूति आचार्यतर्फ देखिन्थ्यो।

होटलदेखि दर्ता शुल्कसम्म

सम्मेलनमा भाग लिन आएका कयौं प्रतिनिधिहरुले एक साता अघिदेखि नै उम्मेदवारहरुसँग होटल बुक गरिदिन अनुरोध गर्थे। त्यसमाथि मादिरापानीको खर्च छुट्टै। धेरैजसो प्रतिनिधिहरु सम्मेलन दर्ता शुल्क २०० डलर पनि उम्मेदवारहरुले नै तिरिदिने आशा गर्दथे।

मसँग यति भोट छ भनेर दुवै प्रमुख उम्मेदवारहरूसँग पैसाको मोलतोल गर्ने गरेको पनि चर्चा चलेको थियो। हायात मात्रै हैन, वरिपरिका होटेलहरु पनि उम्मेदवारहरुले पहिलेदेखि नै बुक गरी राखेका थिए। एउटा सामाजिक संस्थाका लागि २–२ वर्षमा हुने यस्तो महँगो चुनावको औचित्य के भनेर केही प्रतिनिधिहरूले प्रश्न गरेको पनि पाइयो।

गैरआवासीय नेपाली संघलाई माफियाको जालोमा जेल्‍न खाेजिएकाे आराेप एनआरएनए अभियन्‍ताहरुले लगाएका छन्। ‘माफियाहरुसँग नेतृत्व जेलिन पुगेको छ, सामाजिक संस्थामाथि यो गम्भीर षडयन्त्र हो,’ एक अभियन्ताले एशिया सञ्चारसँग भने।

टिम बनाउन ढिलाई

समयमै टिम बनाउन नसक्दा र महासचिवको विवादले कुल आचार्यलाई गाह्रो परेको देखियो। एनआरएन युएसएका पूर्व अध्यक्ष डा. केशव पौडेलले काठमाडौं नआउँदै महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका थिए।

तर, पूर्व अध्यक्ष शेष घले तथा जमुना घले जसरी भए पनि जानकी गुरुङलाई कुलको टिमबाट महासचिवमा लडाउने पक्षमा थिए। पछि पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिन सहमति जनाए। तर, चुनावी नतिजा आउँदा गुरुङ तथा पौडेल दुवै पराजित भए। साधनश्रोतको मामिलामा पनि पन्त पक्ष अगाडि देखिन्थ्यो। आचार्यले सबैजसो खर्च आफै बेहोर्नु परेको स्थिति देखिन्थ्यो।

लम्बिएको चुनावले गर्दा सम्मेलनका धेरै जसो कार्यक्रमहरु सम्पन्न हुन सकेनन्। संघको इतिहासमै पहिलोपटक सम्मेलनले कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेन। सहभागीहरु पनि भोट खसालेर चाँडो जान पाए हुन्थ्यो भन्ने मनस्थितिमा देखिन्थे। हायात होटलको परिसरमा उम्मेदवार र मतदाताहरुको घुइँचो देखिन्थ्यो।

विश्लेषकहरु भन्छन्, ‘खर्चिलो, एकपक्षीय तथा अपारदर्शी निर्वाचन प्रणाली कायम रहेसम्म संघको नवनिर्वाचित टिमले वैधता पाउन सक्दैन।’ यसले पुरै संस्थालाई नै विघटन तर्फ लग्न सक्ने खतरा रहेको पनि उनीहरु औंल्याउँछन्।

‘यस्ता क्रियाकलापले सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएको छवि धमिलो भएको छ, यसको निष्पक्ष छानबिन गरी चुनाव प्रक्रियालाई नै सुधार्नु जरुरी छ,’ बेलायतका बालकृष्ण दाहालले भने।

याे पनि पढ्नुहाेस्:

‘एनआरएनए सचिवालयको कमजोरीले मतदान स्थगित, विद्युतीय भोटिङ मेसिनमा समस्या छैन’

प्रकाशित : १२ मंसिर २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल