Logo

प्रदेश-१

श्यामसुन्दर ओली : कनकाई नगरको विकासमा समर्पित राजनीतिक योद्धा, अब प्रमुख भएर सेवा पर्ने लक्ष्य



झापा, वैशाख १८ गते । नागरिकको पक्षमा निरन्तर सक्रिय । जनहितका पक्षमा लगातार जीवन समर्पण । झापाको कनकाई नगरपालिकाको प्रमुख पदका उम्मेदवार श्यामसुन्दर ओलीको परिचय यतिमा मात्रै सीमित छैन । राजनीतिलाई सेवा बनाएका ओलीले अहिलेसम्म पदका लागि काम गरेनन् । जनताका बीचमा सदा समर्पित रहे । त्यसैले नगर प्रमुखमा उम्मेदवारी दिनेबित्तिकै उनको पक्षमा माहोल देखिएको छ ।

कनकाई वार्ड नं. १ मा बाल्यावस्था, वार्ड नं. २ मा युवा अवस्था बिताएर र हाल कनकाई नगरपालिका वार्ड नं. ३ मा स्थायी बसोबास गर्ने श्यामसुन्दर ओली लोकतन्त्र, सुशासन, राष्ट्रियता र विकासको मूल नारा लिएर वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कनकाई नगर प्रमुख पदमा उम्मेदवार बनेका छन् ।

राजनीति र समाजसेवाको पृष्ठभूमि

आफ्नै बुबा देवीप्रसाद ओली (दाताराम) बाट विरासतमा प्राप्त समाजसेवा र राजनीतिप्रतिको लगाव अहिले पनि कायमको छ श्यामसुन्दर ओलीमा । कनकाई नगरका युवाहरू उनलाई ‘श्यामदाइ’ भन्छन् । वास्तवमा यो नाम युवाका लागि अति प्रिय छ । हुन त ‘श्याम अंकल’ भन्नेको पनि कमी छैन । बाल्यावस्थामै बुबाको समाजप्रतिको उत्तरदायित्व र कर्तव्यलाई नजिकबाट बुझेका श्यामको रगतमै समाजसेवा र जनसेवा प्रवाहित छ ।

२०५३ सालमा एमाले नेता युक्त भेटवालको चुनावी अभियानमा  सरिक भएर कम्युनिष्ट राजनीतिको यात्रा शुरु गरेका ओलीले केही दिन अघिसम्म एमालेमै रहेर आफ्नो राजनीतिक कर्मलाई निरन्तरता दिएका थिए, तर अहिले आम कार्यकर्ता र युवा लगायत बहुसंख्या नगरवासीको चाहना हुँदाहुँदै पनि पार्टीको आन्तरिक चुनावमा गुटबन्दीका कारण उनलाई नगर प्रमुखको टिकटबाट वञ्चित गरियो ।

अहिले उनी नगरकै एमाले र नेपाली कांग्रेस पछाडिको तेस्रो शक्तिको रूपमा उदाएको र कनकाई नगरमा निरन्तर प्रगति गरिरहेको राजनीतिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । श्यामदाइको उम्मेदवारीले हलचल पैदा गरेको छ ।

नगरवासीमा परिचित

आगामी बैशाख ३० मा हुने तय भएको स्थानीय तहको चुनावमा एमाले र नेकाका उम्मेदवारसँग कडा प्रतिष्पर्धामा रहेका श्याम असलमा समाजसेवाबाट राजनीतिमा आएका हुन् । उनी जनताले दिएको माया र जनचाहना बमोजिम राजनीतिमा आएको र जनसेवा नै आफ्नो अभिष्ट भएको उनको दावी छ ।

नेपाल विद्युत प्राधिकरणमा लामो समय काम गरेका ओलीले कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका ३ वटा वार्डमा विद्युत विस्तारमा मुख्य भूमिका खेली उज्यालो नगरीको अभियान अघि बढाइरहेका छन् । उनको पहलकदमीमा भएको यो कामबाट जनताले ठूलो राहत महसुस गरेका छन् र यसले उनलाई जनताको मनमा बस्न काबिल बनाएको छ ।

कनकाई नगरमा उनको प्रसिद्धि वास्तवमा उनको न्यायको पक्षमा प्रष्ट अडान, विद्युत विस्तारमा खेलेको भूमिका र उनको ग्रास लेभलका मानिसदेखि माथिल्लो तहका मानिससँगको पहुँचका कारण बढेकोमा शंका छैन ।

भ्रष्टाचारविरुद्ध उम्मेदवारी

जनताको जीवनशैलीलाई माथिल्लो तहमा लैजाने र मुलुकमा शान्ति अमनचयन कायम गर्ने राजनीतिको लक्ष्य मान्छन् उनी, मिलाएर खाने, सेटिङ मिलाएर अबैध काम गरी मुलुक र जनतालाई ठग्ने प्रवृत्ति आजको राजनीतिको कालो रूप हो । हो, त्यही भ्रष्टाचारको विरुद्ध उनले राप्रपाबाट कनकाई नगरको प्रमुखमा उम्मेदवारी दिएका हुन् ।

‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्ने राप्रपाका केन्द्रीय अध्यक्षको लाइनमा छन् उनी । कनकाई नगरमा व्याप्त सेटिङ मिलाएर राज्यकोषको दोहन गर्ने र जनताले तिरेको करको दुरुपयोग गर्ने परिपाटीका विरुद्ध आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

उनले यस अघि कनकाई नगरको नेतृत्व गर्ने दलका कार्यकर्तालाई प्रश्न गरेका छन्—तपाई कनकाई नगरपालिकामा प्रतिनिधित्व गर्ने नेतृत्वले एक पैसा पनि हिनामिना गरेको छैन भनी हृदयमा हात राखेर, मन्दिरमा पसेर भगवानका सामु भन्न सक्नुहुन्छ ? उनी प्रश्न गर्छन्—तपाईहरूलाई आफ्नो नेतृत्व निष्कलङ्क र बेदाग भएको शतप्रतिशत विश्वास छ ? अरुलाई ढाँटे पनि मानिसलाई आफ्नो मनलाई ढाँट्न सक्दैन । जनताको चाहना नगरमा नेतृत्व परिवर्तन हो ।

श्यामको उम्मेदवारी किन ?

नेकपा एमाले र नेपाली कांग्रेसजस्ता दलप्रति जनताको विश्वास उडेको छ । नगरवासीले विकल्प खोजिरहेका छन् र जनताको आशा र भरोसाको रूपमा श्याम उभिएका छन् । सबैभन्दा मानसिक दबाबमा रहेको कुनै वर्ग छ भने त्यो युवा वर्ग छ । त्यही वर्गको संरक्षण गर्दै स्वरोजगार सृजना गर्ने ओलीको लक्ष्य छ । वास्तवमा ओलीले उम्मेदवारी दिँदा उनका आँखा अगाडि युवाहरूकै तस्वीर थियो । उनी भन्छन्, ‘मेयरमा उम्मेदवारी दिएका बखत मेरो मन र मस्तिष्कमा युवाहरूकै चित्र थियो ।’

राप्रपाको राष्ट्रिय घोषणापत्रको आधारमा स्थानीय विषयवस्तु र जनसरोकारका सवाललाई समेटी स्थानीय घोषणापत्र बनाइएको छ र त्यसकै आधारमा आफू चल्ने र पार्टी पंक्तिलाई साथमा लिएर अघि बढ्ने उनको प्रतिबद्धता छ । श्याम ओली कनकाई नगरवासीका लागि प्यारो नाम पनि बन्दै गएको छ । कसैलाई कुनै अन्याय परेको छ अथवा कोही कुनै अप्ठेरोमा छ भने उनी सदैव न्यायको पक्षमा उभिने र सेवाका लागि तत्पर हुने गर्छन् । जनता विकल्प खोजिरहेका छन् । जनता पुरानै अनुहारको पक्षमा छैनन् । जनता भ्रष्टाचारमुक्त नगरपालिकाको पक्षमा छन् । पुरानो नेतृत्वप्रति भरोसा उडेको छ, पुरानो अनुहारको पक्षमा जनता छैनन् ।

जीतको आधार के के छन् ?

आफूले गरेको सामाजिक काम र कनकाई नगरवासीलाई पुर्‍याएको सहयोगले जनताको हृदयमा विश्वास पैदा भएको छ । अन्य दलप्रति वितृष्णा पैदा भएको छ । राष्ट्रियता, जनजीविका र सुशासनको पक्षमा मुलुकमै सबभन्दा अगाडि उभिएको राप्रपाप्रति देशव्यापी रूपमा जनलहर आएको छ ।

राष्ट्रवादी शक्ति राप्रपाप्रति जनताको विश्वास यति बढेको छ कि अब मुलुकको नेतृत्व राप्रपाले गर्नुपर्छ भन्ने जनताको अपेक्षा छ, हो त्यसैको आधारमा आफूले पनि जित्ने उनको भनाइ छ । कनकाई नगरका सबै वार्डका जनतासँग आफ्ना घनिष्ठ सम्बन्ध रहेको र राप्रपा आफ्ना भविष्य भएको जनताको बुझाइ भएका कारण आफूलाई जनताले मतदान गर्ने उनको आश छ ।

श्यामका नारा

कनकाई नगरलाई उनी स्मार्ट नगर बनाउन चाहन्छन् । ‘हाम्रो कनकाई राम्रो कनकाई’, ‘उज्यालो नगरी कनकाई नगरी’, ‘श्याम ओली युवाको बोली’, ‘युवाको आशा ः जनताको भरोसा’ जस्ता सुन्दर नाराहरूसहित चुनावी मैदानमा उत्रेका ओलीको प्रचारका अघि अन्य उम्मेदवार फिका लाग्छन् ।

श्याम ओलीका आँखामा सबै बराबर

ओली कसैलाई कुनै विभेद गर्दैनन् । पार्टीगत रूपमा कुनै कसैलाई कुनै फरक गदैनन् । धनी र गरीब समान हुन् उनका लागि । उनका लागि कनकाई आफ्नै घर हो र नगरवासी एउटै परिवारका सदस्यहरू । जाति, भाषा, वर्ग, क्षेत्र, दलगत कुनै पनि रूपमा उनी कसैलाई पक्षपात गर्दैनन् ।

श्यामको नगरवासीमा अपिल

जनतालाई एक पटक परिवर्तनको पक्षमा उभिन अपिल गरेका छन् । नगरपालिकाबाट भ्रष्ट नेतृत्वलाई बिदा गर्नुहोस् र जनताको पक्षमा उभिने, नगरलाई समृद्ध नगर बनाउने अठोटका साथ हलो चिन्ह लिएर चुनावी प्रतिष्पर्धामा उत्रेका राप्रपाका समस्त उम्मेदवारलाई मतदान गर्नुहोस् । उनी भन्छन्, ‘अरुको भनाइ सुन्नुभयो धेरैपटक, आफ्नै मनको आवाज सुन्नुहोस् यस पटक ।’

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल