
ताप्लेजुङ, ७ वैशाख – ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको आयोजनामा सम्पन्न वक्तृत्वकला प्रतियोगिताको उपाधि सिनाम नमुना माविकी कक्षा–११ मा अध्ययनरत निशाम थेबेले जितेकी छिन्।
ताप्लेजुङ जिल्लाका ९ वटै स्थानीय तहका माध्यमिक विद्यालयहरूको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्दै सिनाम नमुना माविकी निशामले ३० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित पुरस्कृत भएकी हुन्।
सिरीजंघा गाउँपालिकाले आयोजना गरेको ‘ताप्लेजुङ जिल्लाभित्रका अन्तरमाध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता–२०७८’मा २७ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
पहिलो चरणबाट उत्कृष्ट ५ विद्यार्थी छनोट गर्ने गरी समग्र प्रतियोगितालाई दुई चरणमा सम्पन्न गरिएको थियो। प्रतियोगितामा सरस्वती मावि आठराई त्रिवेणीकी ललिता खातीले द्वितीय स्थान हासिल गरेकी छिन्। खातीले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छिन्।
त्यसैगरी, शारदा मावि पाथीभरा याङ्वरककी रेविका तामाङले तृतीय स्थान हासिल गरी १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेकी छिन्।
भानुजन मावि फुङलिङकी शोभा सेम्बु र सरस्वती मावि फक्ताङलुङका दीपेश लिम्बुले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। दुवै जनाले ३ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिता कार्यक्रमको उद्घाटन एवं समापन समारोह सिरीजंघा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो। पाथीभरा याङ्वरक, आठराई त्रिवेणी र सिरीजंघा गाउँपालिकाका उपाध्यक्षहरूको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।
प्रतियोगिताको निर्णायक मण्डलको नेतृत्व याङवरक गाउँपालिका पाँचथरका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले गरेका थिए।
सधैं उत्कृष्ट सिनाम नमुना मावि
ताप्लेजुङका सरकारी विद्यालयहरूमा सिनाम नमुना मावि उत्कृष्टमा पर्छ। विद्यालयका प्रध्यानाध्यपक महेन्द्रप्रकाश गौतमले सबैको साझा प्रयासबाटै विद्यालय उत्कृष्ट बन्न सफल भएको बताएका छन्।

सिरिजंघा गाउँपालिकाले प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै शिक्षासेवी एवं विद्यालयका प्रध्यानाध्यपक गौतमले भनेका छन्, ‘वक्तृत्वकला प्रतियोगिता विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने र ताप्लेजुङ जिल्लाका सम्पूर्ण विद्यालयको अवस्था मूल्यांकन गर्ने ताप्लेजुङको मात्र होइन, देशकै सर्वोत्कृष्ट कार्य हो।’
गाउँपालिकाको यो अभियानमा सबैले इमानदारपूर्वक सहयोग गर्नु, सही छनौट गर्नु र जुन उद्देश्यले कार्यक्रम आयोजना भएको हो, त्यही अनुसारको क्रियाकलाप गर्नु सबैको कर्तव्य रहेको गौतमको धारणा छ।







प्रतिक्रिया