
काठमाडौं, १३ वैशाख – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि तत्कालै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन्।
शिक्षामन्त्री पोखरेलले विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने बताएका हुन्। ‘शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा स्थिति हेरेर सञ्चालन गर्ने विषयमा निर्णय लिइने छ,’ पोखरेलले भने।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ शैक्षिक सत्र लकडाउन खुलेपछि मात्रै सुरु गर्न सुझाव दिएको छ।
अध्यक्ष ऐन महरको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई भेटेर विश्वविद्यालयका स्थगित परीक्षा पनि लकडाउन खोलिए लगत्तै लिनुपर्ने सुझाव दिएको हो।

कक्षा ११ को परीक्षा लकडाउन खुलेपछि होम सेन्टरमै लिन स्वतः ग्रेडिङ गर्न सकिने सुझाव मन्त्रीलाई दिइएको जानकारी महरले दिए। कक्षा १२ को अनिवार्य परीक्षा गरिनुपर्ने अनेरास्ववियूले माग गरेको छ।
अखिलले सबैको पहुँचमा पुग्ने गरी शिक्षण संस्थाहरुमा अनलाइन कक्षा सञ्चालन सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि नेपाल टेलिकमसँग समन्वय गरी डाटा र भ्वाइस कल निःशुल्क व्यवस्था हुनुपर्ने माग गरेको छ।
अहिले कक्षा सञ्चालन असम्भवः शिक्षामन्त्री
शिक्षा पत्रकार समूहले कोरोना भाइरस र शिक्षा क्षेत्रको व्यवस्थापन सम्बन्धी शनिबार आयोजना गरेको भर्चुअल प्रेसमिटमा मन्त्री पोखरेलले देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले पनि तत्काल त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नहुने बताएका छन्।
जेठसम्ममा नयाँ शैक्षिकसत्र शुरू गर्न सके शैक्षिकसत्र नभत्किने बताउँदै पोखरेलले परीक्षाहरु पनि सञ्चालन हुनसकिने बताए। जाडो–गर्मी बिदा, चाडपर्वका बिदा कटाएर साथै, अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने पोखरेलले बताए।
मन्त्री पोखरेलले लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालयले शैक्षिक कार्यक्रम र योजना तय गर्ने बताएका छन्। शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले भोलि आइतबारसम्ममा सुझाव प्रतिवेदन बुझाउँदै छ।
आइतबारै मन्त्रिपरिषदले १५ वैशाखमा सकिने लकडाउनबारे निर्णय गर्ने र त्यसकैका आधारमा योजना बनाइने मन्त्री पोखरेलले बताएका छन्।







प्रतिक्रिया