Logo

राजनीति

जनआन्दोलनकी ‘आइकोन’ चन्दा अधिकारी कांग्रेस केन्द्रीय सदस्य निर्वाचित



काठमाडौं, असोज २७ गते । २०६२।६३ को जनआन्दोलनमा अग्रमोर्चा सम्हालेर सर्वाधिक ख्याती कमाएकी युवा राजनीतिज्ञ चन्दा अधिकारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएकी छन्। प्रवासमा बसेर देशको समुन्नतिका पक्षमा निरन्तर सक्रिय अधिकारीले दोस्रो सर्वाधित मत प्राप्त गर्दै विजयी हासिल गरेकी हुन्।

नवनिर्वाचित केन्द्रीय सदस्य अधिकारीले आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने देश तथा विदेशमा रहेका नेपाली जनसम्पर्क समितिका अग्रज, साथी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छन्। उनले ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नेपाली कांग्रेस’को सिद्धान्तलाई आत्मसात् गर्दै प्रवासमा रहेका नेपालीको हकहित र पार्टी संगठन सुदृढीकरणका पक्षमा काम गर्ने प्रस्ट पारिन्।

विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलन र सामाजिक सेवामा सक्रिय अधिकारीको राजनीतिक यात्रा संघर्ष र निरन्तर संगठन निर्माणसँग जोडिएको छ। उनले विसं २०५९ मा राधा दामोदर संस्कृत माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ अध्यक्ष भएर प्रारम्भिक राजनीतिक यात्रा सुरु गरिन्। त्यसपछि उनले पोखरास्थित पठाकन्या क्याम्पसमा नेविसंघको इकाई उपसभापति, स्ववियु सदस्य, स्ववियु सहसचिव हुँदै इकाई सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकी छन्।

२०६६ मा नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सदस्य निर्वाचित भएकी अधिकारी सोही वर्ष सम्पन्न १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिएकी थिइन्। प्रवासी नेपाली समुदायमा सक्रिय रहँदै उनले नेपाली जनसम्पर्क समिति क्यानाडाको उपसभापति, नेपाली कांग्रेस महासमिति सदस्य तथा हाल जनसम्पर्क समिति क्यानाडाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्। उनी गैरआवासीय नेपाली संघ क्यानडाको निर्वाचित महासचिव तथा अध्यक्ष पदको प्रत्यासीसमेत रहिसकेकी छन्।

विसं २०६२।६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा पटक पटक घाइते भएकी अधिकारीले आन्दोलनकै सिलसिलामा पटक पटक राजनीतिक बन्दी जीवनसमेत व्यतीत गरेकी छन्। उनको लोकतान्त्रिक निष्ठा र योगदानको कदर गर्दै विसं २०६३ मा जनआन्दोलन नायक पुरस्कार प्रदान गरिएको थियो। यसैगरी नेत्री अधिकारी अन्तर्राष्ट्रिय स्तरमा सन् २०२३ मा क्यानाडाको क्वीन एलिजाबेथ दोस्रो कम्युनिटी भोलेन्टियर अवार्ड र सन् २०२५ मा किंग चार्ल्स तेस्रो कोरोनेसन मेडलबाट विभूषित भएकी छन्।

शैक्षिक हिसाबले उहाँले अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गर्नुका साथै बौद्ध दर्शनमा आचार्य उपाधि हासिल गरेकी छन्। समुदायको सशक्तीकरण, प्रवासी नेपालीको हकहित र एकता एवं समृद्ध नेपाल भन्ने सङ्कल्पका साथ आफू चुनावी मैदानमा उत्रिएको जानकारी दिँदै अधिकारीले प्रवासमा रहेका नेपालीको अधिकार सुनिश्चितता र पार्टीलाई थप सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएकी छन्।

मतदातालाई धन्यवाद

कांग्रेस केन्द्रीय सदस्य अधिकारीले आफ्नो जीतलाई व्यक्तिगत सफलताभन्दा पनि सबैको साझा उपलब्धिका रूपमा व्याख्या गरेकी छन्। उनले विशेषगरी विदेशमा रहेर पनि नेपाली कांग्रेसको विचार, सिद्धान्त र लोकतान्त्रिक आन्दोलनलाई निरन्तर साथ दिँदै आएका नेपाली जनसम्पर्क समितिका सदस्यप्रति विशेष सम्मान र कृतज्ञता प्रकट गरेकी छन्।

नेत्री अधिकारीले आफूमाथि गरिएको विश्वासलाई थप जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै पार्टी, लोकतन्त्र, महिला सशक्तीकरण तथा प्रवासमा रहेका नेपालीहरूको हकहितका लागि इमानदारी, निष्ठा र प्रतिबद्धताका साथ काम गर्ने प्रयास गर्ने बताएकी छन्।

उनले आफ्नो निर्वाचनलाई सबैको साझा जित भन्दै आगामी दिनमा पनि अग्रज, साथीभाइ तथा शुभेच्छुकहरूको साथ, सहयोग र विश्वासलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा अधिकारीको निर्वाचितसँगै पार्टीको संगठन सुदृढीकरण, महिला सहभागिता अभिवृद्धि तथा प्रवासी नेपालीका मुद्दालाई पार्टीभित्र प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समितिका तर्फबाट छुट्टा छुट्टै क्लस्टरमा पहिलो पटक सात जना निर्वाचित भएका छन्। कांग्रेस केन्द्रीय सदस्यमा सीता सापकोटा, सीए विद्याभूषण कार्की, जितेन्द्रविक्रम शाही, पुरुषोत्तम खनाल, बालकृष्ण पाण्डे र डा. बलराम श्रेष्ठ निर्वाचित भएको छन्।

प्रकाशित : २७ आश्विन २०८३, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल