काठमाडौँ, असोज २२ गते । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले पार्टीलाई सही मार्गचित्रमा अघि बढाउने संकल्प गरेका छन्। कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. शर्माले महाधिवेशनमा छुटेका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
डा. शर्मा कांग्रेस रुपान्तरणको संकल्प र एजेन्डासहित प्रतिस्पर्धामा छन्। डा. शर्माले आफूलाई नेपाली कांग्रेसको इतिहासमा पहिलो पटक महामन्त्री बन्न लागेको सुकुमवासीको छोरोका रूपमा प्रस्तुत गरेका छन्। डा. शर्माले आफूले बोरा ओढेर जीविकोपार्जन गर्दाको पीडादेखि खुलामञ्चमा हाँस बेच्दासम्मका संघर्षका दिन स्मरण गरे।

डा. शर्माले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सानिध्यमा रहेर कांग्रेस पार्टीमा राजनीति सुरु गरेको प्रस्ट पारे। गिरिजाबाबुसँग काम गरेँ, १२ बुँदे सम्झौताको सूत्राधार हुँ। र १५–१६ हजार नागरिकलाई रोजगारी दिएको संस्था चलाएको व्यक्ति हुँ। महामन्त्री पदका लागि मभन्दा अनुभवी अरू कोही छैन। गिरिजाबाबुको ४८–५१ को आर्थिक नीतिको भाग–२ पूरा गर्ने दायित्व हाम्रै हो,’ डा. शर्माले भने।

डा. शर्माले नागरिकले काठमाडौँमा धाउने प्रथा अन्त्य गर्ने र ५० प्रतिशत समय मेचीदेखि महाकालीसम्मका बस्ती र गरिबका झुपडीमा हुने प्रस्ट पारे। उनले कुनै पनि कार्यकर्ताले आर्थिक अभावका कारण उपचार नपाएमा आफ्नै मेकानिजमबाट निःशुल्क उपचार गराउने प्रतिवद्धता व्यक्त गरे। डा. शर्माले देशभरबाट आएका प्रतिनिधि र नेताहरूको अत्यन्त उत्साहजनक प्रतिक्रिया रहेको बताए। ‘९० प्रतिशतभन्दा बढी विवेकशील प्रतिनिधिले मत दिने विश्वास लिएको छु, कांग्रेसको इतिहासमा पहिलो पटक सुकुमवासीको छोरो महामन्त्री बन्दै छ,’ डा. शर्माले भने।

संघर्षपछिको सफलता
कांग्रेस महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्मा झापामा जन्मिएका हुन्। डा. शर्मा मोरङको बेलबारीका स्थायी बासिन्दा हुन्। उनी चिकित्सक हुन्। उनी नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमार्फत आर्थिक रूपमा कमजोर र विपन्न नागरिकलाई सहुलियत तथा निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएका समाजसेवीका रूपमा पनि परिचित छन्।
२०५४ सालदेखि राजनीतिमा सक्रिय डा. शर्मा १३औं महाधिवेशनदेखि महासमिति सदस्यको जिम्मेवारीमा छन्। मोरङ–३ बाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनी २०७४ र २०८२ को निर्वाचनमा पराजित भए। डा. शर्मासँग लोकतन्त्र पुनःस्थापनाका लागि नेपाल, भारत र अमेरिकासम्म राजनीतिक गतिविधि तथा लबिङ गरेको अनुभव छ।

डा. शर्माले स्वास्थ्य सेवामार्फत नागरिकसँग बनाएको प्रत्यक्ष सम्बन्ध र व्यक्तिगत लोकप्रियतालाई राजनीतिक संगठनमा रूपान्तरण गरेर रुपान्तरणको अभियान आरम्भ गरिरहेका छन्। कांग्रेस महामन्त्री पदमा डा. सुनिलकुमार शर्मा, महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलसहितका नेता प्रतिस्पर्धा गर्दैछन्।







प्रतिक्रिया