काठमाडौँ, भदौ ५ गते । नेपाल र चीनबिच जनस्तरको सम्बन्ध विकास एवं प्रवर्धन गर्ने उद्देश्यले ‘सिजाङ पानोरोमाः नयाँ युग, नयाँ विकास’ शीर्षकमा अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । चीनको मानव अधिकार अध्ययन समाज, नेपालको त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय मानव अधिकार आयोगले अनुभव आदानप्रदानको साझेदारी मञ्च आयोजना गरेका हुन् । अन्तरक्रियासँगै फोटो प्रदर्शनी पनि राखिएको कार्यक्रममा नेपाल र चीनका ३०० भन्दा बढीको सहभागिता थियो । कार्यक्रमका वक्ताहरूले नेपाल र चीनबिचको सहकार्य र साझेदारीलाई अझै बढाउनुपर्ने बताए।
चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका स्थायी समिति सदस्य तथा सीपीपीसीसी राष्ट्रिय समितिको जातीय तथा धार्मिक मामिला समितिका उपाध्यक्ष जियाङ जियांगुओ, नेपालको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीनको आर्थिक, सामाजिक एवं सांस्कृतिक सम्बन्धसहित विविध पक्षबारे विचार राखेका छन् ।
उपाध्यक्ष जियाङले चीनको सिजाङ स्वायत्त क्षेत्रको शान्तिपूर्ण मुक्तिको ७५औँ वार्षिकोत्सव यसै वर्ष परेको जानकारी दिए । जियाङले ७५ वर्षमा चिनियाँ कम्युनिष्ट पार्टी र चीनको सरकारले जीवनयापन र विकासको अधिकारलाई प्राथमिक आधारभूत मानव अधिकारको रूपमा निरन्तर मान्दै आएको बताए । उनले समयको प्रवाहसँग मिल्ने र चीनको राष्ट्रिय अवस्था सुहाउँदो मानव अधिकार विकासको मार्ग तय गरेको प्रस्ट पारे । ‘सिजाङको परिवर्तन नयाँ युगमा चीनको मानव अधिकार विकासको सबैभन्दा जीवन्त प्रतीक हो,’ जियाङले भने ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको प्रवर्धन र संरक्षणमा चीनको प्रयासको उच्च प्रशंसा गरे । मगरले चिनियाँ संस्थाहरूसँगको सहकार्य र सहयोग आदानप्रदान महत्त्व हुने बताए । ‘नेपालको राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार प्रवर्धन र संरक्षणका क्षेत्रमा चीनसँगको सहयोगलाई थप सुदृढ बनाउन इच्छुक छ,’ मगरले भने ।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले जीवन्त, खुला, सुमधुर र हरित सिजाङ निर्माण गर्ने विकास अवधारणाले हिमालय सीमापार सहयोगलाई अझ गहिरो बनाउन उपयोगी हुने बताए । झाङले सिजाङको आर्थिक र सामाजिक विकास तथा तल्लो तहको शासनको अनुभव नेपालका लागि पनि उपयोगी बताए । उनले चीन विकासका अवसरलाई मूर्त सहयोग गर्न तथा परिणाममा बदल्न र नेपाल–चीनका जनतालाई ठूलो लाभ पुर्याउन नेपालसँग मिलेर काम गर्न तयार रहेको प्रस्ट पारे ।
अनुभव साझेदारी मञ्च खुला सिजाङ, जीवन्त सिजाङ, सुमधुर सिजाङ र हरित सिजाङमा आधारित थियो । नेपाल र चीनका अतिथिले वास्तविक, बहुआयामिक र व्यापक सिजाङका जीवन्त कथा र तस्बिर साझा गरेका छन् । कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठ, पूर्वअध्यक्ष कुमार शर्मा आचार्यसहित विभिन्न क्षेत्रका अगुवाहरूले नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्ध र अबको साझेदारीका सन्दर्भमा विचार राखेका छन् ।







प्रतिक्रिया