काठमाडौं, असोज २२ गते । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा आरम्भ गरेका नेताहरूले पार्टी हाँक्ने ठाउँमा आइपुगेका छन्। कांग्रेस कार्यकर्ता उत्पादनको नर्सरी नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवं उपाध्यक्ष गगनकुमार थापाले सभापति बनेर पार्टीको नेतृत्व गर्ने निश्चित हुँदा पूर्वअध्यक्षहरू महत्त्वपूर्ण जिम्मेवारीका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्।
कांग्रेसको १५ औँ महाधिवेशनको निर्वाचन समितिका अनुसार नेवि संघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा पार्टीको वरिष्ठ उपसभापतिमा सर्वसम्मत चयन भएका छन्। सभापति पदमा उम्मेदारी दिए पनि सभापतिमा गगनकुमार थापालाई समर्थन गर्दै पूर्वअध्यक्ष किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिए। कांग्रेस उपसभापतिमा नेवि संघकै पूर्वअध्यक्ष धनराज गुरुङ, गोविन्द भट्टराई र रञ्जीत कर्णले प्रतिस्पर्धा गर्दैछन्।
गुरुङ र भट्टराई खुला प्रतिस्पर्धामा रहेका छन्। समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी दिएका कर्णले नेपाल विद्यार्थी संघको २० वर्षसम्म हुन नसकेको महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गरेका थिए। विद्यार्थी राजनीतिबाट उदाएका नेता कर्ण सभापति थापाकै समकालीन हुन्। कर्णको शालिन छवि पार्टीका वरिष्ठ नेतादेखि नवयुवा पुस्तासम्मलाई समेट्न सक्छ।
पूर्वअध्यक्ष गुरुराज घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। पूर्वअध्यक्ष राजीव ढुंगाना सहमहामन्त्री पदको प्रतिस्पर्धामा छन्। विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्री भएका घिमिरे र पौडेल सिद्धान्तमा अडिग र बौद्धिकता बोकेका नेताका रुपमा परिचित छन्।
सभापति गगनकुमार थापाले विद्यार्थीकालदेखि नै राजनीतिक संघर्षमा होमिएका नेताहरू समेटेर पार्टी पदाधिकारीको टिम बनाउने मनस्थिति बनाउँदा नेवि संघको नेतृत्व र पदाधिकारीमा बसेर काम गरेका नेताहरू पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्। सभापति थापाले पनि विद्यार्थी राजनीतिबाटै आएका अनुभवी नेताहरू पदाधिकारी निर्वाचित हुँदा पार्टी सञ्चालनमा सहयोग पुग्नेमा प्रस्ट भए पनि औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन्।
उपसभापति पदका उम्मेदवार रञ्जीत कर्णले विद्यार्थीकालदेखि राजनीतिक आन्दोलन र रुपान्तरणका पक्षमा काम गरेका नेताहरूको टिम बनेमा पार्टीले सही ट्रयाक लिने र पार्टी सञ्चालनको नवीन कार्यदिशा निर्माण हुने प्रस्ट पारेका छन्। कर्णले कांग्रेसको रुपान्तरणका पक्षमा विद्यार्थी र तरुण दलबाट राजनीतिक अघि बढाएका सबै नेता–कार्यकर्ताले योगदान दिन र काम गर्न सक्ने बताए।
‘जतिबेला देशमा प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि आवाज उठ्न थाले, आन्दोलन आरम्भ भयो, त्यति बेला हाम्रो पुस्ताका विद्यार्थी सडक थियौँ । यो परिवर्तनको अगुवाइ गर्ने राजनीतिक आन्दोलनका सिपाहीहरू पार्टीको नेतृत्वदेखि पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित हुँदै हुनुहुन्छ । नेपाली कांग्रेसलाई बदल्ने अठोटका साथ हामी अघि बढ्छौँ ।’
नेवि संघकै पूर्वअध्यक्ष राजीव ढुंगानाले पनि विद्यार्थी राजनीतिबाट उदाएका अग्रज नेता र समकालीन नेताबिच समन्वय र दृष्टिकोण मिल्ने भएकाले कांग्रेसलाई नयाँ मार्गचित्रका साथ अघि बढाउने बताए। ‘राजनीतिक आन्दोलन सहज हुँदैन। विद्यार्थी हुँदै पार्टीको मूल प्रवाहमा आएका नेता–कार्यकर्ताले विधिपूर्वक पार्टी सञ्चालन गर्ने क्षमता राख्छन्,’ ढुंगानाले भने।
नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलबाट राजनीतिक अघि बढाएका धेरै नेताहरू पनि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धामा छन्।







प्रतिक्रिया