Logo

राजनीति

राजीव ढुंगानाः विद्यार्थी आन्दोलनका सशक्त अगुवा, कांग्रेस पदाधिकारी बन्ने प्रतिस्पर्धामा



काठमाडौं, असोज २२ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष राजीव ढुंगानाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदको प्रतिस्पर्धामा छन्।

२०४३ सालमा पार्टीले पञ्चायतको स्थानीय निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने निर्णय गरेपछि पार्टीका उम्मेदवारको पक्षमा सक्रिय रूपमा खटिएका नेता ढुंगाना झण्डै चार दशक लामो राजनीतिक यात्रापछि पहिलो पटक पदाधिकारी पदको उम्मेदवार भएका हुन्।

स्कुले जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय ढुंगाना २०४६ सालको जनआन्दोलनदेखि २०६२।६३ को दोस्रो जनआन्दोलनसँगै विभिन्न आन्दोलन र संघर्षमा ढुंगाना अग्रपंक्तिमा सक्रिय रहे।

२०४६ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्यबाट राजनीतिक जिम्मेवारी सुरु गरेका ढुंगाना २०५० सालमा नेविसंघको जिल्ला सचिव बने। २०५७ सालमा विश्वप्रकाश शर्मा अध्यक्ष रहेका बेला नेविसंघको केन्द्रीय सदस्य निर्वाचित भएका ढुंगाना त्यसपछि केन्द्रीय कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै २०७६ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष बने। ढुंगानाले २०७६ माघ १६ देखि २०७८ फागुन ५ गतेसम्म नेविसंघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाले।

नेपाली कांग्रेसको ११औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका ढुंगाना १२औँ, १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित भए। १४औँ महाधिवेशनमा खुलातर्फबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका ढुंगाना विद्यार्थी विभाग प्रमुखको जिम्मेवारीमा समेत रहे।

कांग्रेसको कार्यसम्पादन समिति सदस्य रहेका ढुंगाना सादगीपूर्ण जीवन, इमानदारीपूर्ण राजनीति र स्पष्ट राजनीतिक अडानका कारण पार्टीभित्र परिचित छन्। युवामाझ लोकप्रिय ढुंगाना प्रखर वक्ताका रूपमा पनि चिनिन्छन्।

प्रतिनिधिसभाको निर्वाचनमै उम्मेदवार बन्ने अठोटसहित राजनीतिमा अघि बढेका ढुंगानाले २०७४ सालको स्थानीय निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर तथा त्यसपछि प्रदेशसभा सदस्यमा उम्मेदवार बन्न पार्टी सभापति र केन्द्रीय नेताहरूबाट आएको आग्रह अस्वीकार गरेका थिए।

सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि ढुंगाना पछिल्ला तीनवटै निर्वाचनमा लगातार सिफारिस हुँदै आएका छन्। अविवाहित ढुंगाना पार्टीको संगठन निर्माण र राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने निर्णयसँगै ढुंगानाले आफ्नो लामो राजनीतिक अनुभव, विद्यार्थी संगठनमा गरेको नेतृत्व र पार्टीभित्रको सक्रियतालाई नयाँ जिम्मेवारीमा अघि बढाउने तयारी गरेका छन्।

प्रकाशित : २२ आश्विन २०८३, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल