Logo

राजनीति

कांग्रेस उपसभापतिमा उम्मेदवारीपछि रञ्जीत कर्णले भनेः बिपीको विचार नवयुवा पुस्तासँग जोड्ने छु



काठमाडौं, असोज २० गते । संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत कर्णले पार्टीको १५औँ महाधिवेशनमा समावेशी समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

नेता कर्णले मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्तास्थल पुगेर उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबारदेखि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो। कर्णले सोही प्रक्रियाअन्तर्गत समावेशी समूहबाट उपसभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयनपत्र दर्ता गरेपछि कर्णले कांग्रेसभित्रको सांगठनिक रुपान्तरणका पक्षमा दूरगामी एजेन्डासहित उपसभापति पदमा दावी प्रस्तुत गरेको बताए। नेता कर्णले पार्टीको संगठनलाई बलियो बनाउन, वैचारिक रुपमा स्पष्ट बनाउन र नागरिकसँग जोडिने कार्ययोजना प्रस्तुत गरेका छन्। कर्णले कांग्रेससँग विचारलाई नवयुवा र युवाको पुस्तासँग जोड्ने दृढता व्यक्त गरे।

कर्णले संगठनलाई पुनर्जीवित गर्न, कार्यकर्तालाई अधिकार र जिम्मेवारीसँग जोड्ने, नयाँ पुस्तालाई नेतृत्वको साझेदार बनाउन र कांग्रेसलाई जनताको विश्वासको केन्द्रमा पुनः स्थापित गरिने बताए।

नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय अध्यक्ष कर्णले पार्टीमा पुरानो ढर्रा बदलेर ‘राजनीतिक इन्जिनियरिङ’ मार्फत नयाँ संरचनात्मक र वैचारिक सुधार गर्नुपर्ने बताए। उनले पार्टी संगठनलाई केन्द्रदेखि वडा तहसम्म व्यवस्थित र चलायमान बनाउन पूर्ण प्रतिबद्ध रहेको बताए।

पेसाले इन्जिनियर रहेका कर्णले राजनीतिमा भनाइ र गराइबीच देखिएको अन्तरले जनतामा अविश्वास बढेको बताए। प्राविधिक रूपमा नापजोख र नियमसंगत काम गरेझैँ पार्टीलाई पनि पारदर्शी, व्यवस्थित र संरचनात्मक हिसाबले अघि बढाउन ‘पोलिटिकल इन्जिनियरिङ’ आवश्यक रहेको उनको तर्क छ।

कर्णले कांग्रेससँग करिब १० लाख क्रियाशील सदस्य भए पनि चुनावमा सोही अनुपातमा मत नआउनु चिन्ताको विषय भएको बताए। उनले बिनामापदण्ड, अनुशासन र तालिम बाँडिने सदस्यताभन्दा वैचारिक रूपमा प्रशिक्षित कार्यकर्ता तयार पार्नुपर्ने र बिपी कोइरालाको सिद्धान्तलाई आधुनिक प्रविधि (एआई र नयाँ युग) अनुसार पुनर्व्याख्या र परिमार्जन गर्नुपर्नेमा जोड दिए।

नेता कर्णले अहिलेको राजनीतिक परिदृश्यमा कांग्रेसको प्रतिस्पर्धा परम्परागत कम्युनिस्ट दलहरूसँग मात्र नभई सुशासनको नारा लिएर आएका नयाँ शक्तिसँग रहेको बताए। उनले कांग्रेसले आफ्नो कार्यशैली, चरित्र र निष्ठामा सुधार गरेर मात्र जनताको विश्वास जित्न सक्ने प्रस्ट पारे। उनले पार्टीमा सहमति र प्रतिस्पर्धा दुवै लोकतान्त्रिक अभ्यास भएको र असन्तुष्ट तथा छुटेका शीर्ष नेताहरूलाई पनि पार्टीको मूलधारमा समेटेर लैजानुपर्ने बताए।

नेता कर्णले आफूले नेविसंघको अध्यक्ष हुँदा २० वर्षपछि पहिलोपटक सफल महाधिवेशन गराएको, प्रविधि (ई–भोटिङ) को प्रयोग गरेको र कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानमा रहेर पहिलो ‘युवा नीति’ निर्माण गरेको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई नेताको निष्ठा र विगतको कामको आधारमा सही मूल्यांकन गर्न अपिल गरेका छन्।

प्रकाशित : २० आश्विन २०८३, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल