Logo

आर्थिक

सहकारीको ४६ लाखभन्दा बढी घोटाला, काउन्टरका कर्मचारी पक्राउ



काठमाडौं, आषाढ १९ गते । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ४६ लाख रूपैयाँभन्दा बढी घोटाला भएको छ। ४६ लाख ८७ हजार ९ सय ८० रूपैयाँ घोटाला गरिएको पुष्टि भएपछि सहकारीको गोठगाउँ सेवा केन्द्रका कर्मचारी सुन्दरहरैँचा–७ का २४ वर्षीय विवेक खवासलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सहकारीका सचिव यमप्रसाद सिग्देलको जाहेरीका आधारमा सहकारीको काउण्टरमा कार्यरत रहेका खवासलाई पक्राउ गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ। बचतकर्ताको ठूलो रकम हिनामिना भएको पाइएपछि सहकारीले सचिव सिग्देलको संयोजकत्वमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेल सम्मिलित समिति बनाएर छानबिन गरेको थियो। समितिले रकम हिनामिना भएको पुष्टि गरेपछि खवासविरुद्ध कारबाही अघि बढाउन माग गर्दै सहकारीले प्रहरीमा जाहेरी दिएको हो।

आफूले ३१ लाख घोटाला गरेको स्वीकार गरेपछि आगामी भदौ १० गतेभित्रमा सबै रकम फिर्ता गराउने सहमति यसअघि नै खवासलाई गराइएको थियो। तर हिमामिना भएको रकम बढ्दै गएपछि छानबिन समिति बनाएर वास्तविकता खोजी गर्दै कानुनी कारबाहीका लागि जानुपर्ने अवस्था आएको सहकारीका अध्यक्ष अर्जुनराज अधिकारीले जानकारी दिए। उनका अनुसार जम्मा गरेको रकम निकाल्न आएका बचतकर्ताले आफ्नो खातामा पैसा नभएको थाहा पाएपछि सहकारीको रकम घोटाला भएको खुलेको हो।

सहकारीले सफ्टवेयरमार्फत काम गर्दै आएको थियो। बचतकर्ताको पैसा सफ्टवेयर मार्फत सहकारीमा जम्मा भएको देखाउने तर रकम भने नक्कली हस्ताक्षर गरेर खवास आफैंले लैजाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घोटाला गरेकोमध्ये करीब १० लाख रूपैयाँ भने उनले सहकारीलाई फिर्ता गरिसकेको प्रहरीले जनाएको छ। अरु रकम खवासले अन्यत्र लगानी गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

उनी काउण्टरको सहायक कर्मचारीका रूपमा २०७७ मंसिरदेखि सहकारीमा कार्यरत रहेको पाइएको छ। उनीविरुद्ध सहकारी ठगी कसूरमा कारबाही अघि बढाउने प्रहरीको तयारी छ। शेयर सदस्य तथा बचतकर्ताले भने खवास एक्लैबाट यति धेरै रकम अनियमितता भएको कुरामा विश्वास गरेका छैनन्। उनीहरुले अरु कर्मचारीको पनि मिलेमतो भएको हुनसक्ने आशंका गर्दै छानबिन एवं अनुसन्धानको दायरालाई बढाइनु पर्ने माग राख्दै आएका छन्।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल