Logo

आर्थिक

बाटैमा ट्रक रोकेर किसानले खोसे मल



काठमाडौं, आषाढ ४ गते । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् ।

अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्यले सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल खोसेको सूचना पाएको बताए । ‘सशस्त्र प्रहरीको सुरक्षाबाट कसरी मल खोसियो, हामी अनुसन्धान गर्दैछौं’ उनले भने ।

शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४र५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि कुटपिट गरेको थियो ।

किसानले धेरैजसो मल लगिसकेपछि प्रहरी घटना स्थलमा आएको थियो । त्यसपछि उसले मललाई नियन्त्रणमा लिएको छ ।

प्रवक्ता आचार्यका अनुसार ती टकमा एउटा सामान भनेर अर्कै सामान ल्याइएको थियो । ‘एउटामा गहुँ भनेर र अर्कोमा सिमेन्ट भनेर रासायनिक मल ल्याइएको रहेछ, हिजो चेकजाँच गर्दा मल ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बलको सुरक्षामा राखिएको थियो’ उनले भने ।

प्रकाशित : ४ असार २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल