Logo

आर्थिक

ठूलो परिमाणको अवैध खयर नियन्त्रणमा



काठमाडौंं, आषाढ १ गते । रामेछापको मन्थली नगरपालिका -२ टेकनपुरमा कटान गरेर वीरगन्जतर्फ लैजान लागिएको ठूलो परिमाणको खयर नियन्त्रणमा लिइएको छ ।
सार्वजनिक जग्गामा रहेको खयरसमेत कटान भएको उजुरीका आधारमा स्थानीय प्रशासनले गाडीमा लोड भइसकेको २ हजार ५ सय क्युफिट खयरको काठ गोलिया नियन्त्रणमा लिएको हो । यसअघि डिभिजन वन कार्यालयबाट सबै प्रक्रिया पूरा गरी निकासीका लागि आदेश भएको थियो ।

व्यक्तिको नाममा दर्ता भएको जग्गामा रहेको खयर काट्ने आदेश दिए पनि सार्वजनिक जमिनबाट समेत खयरका केही रुख काटिएको उजुरीका आधारमा छानबिन प्रक्रिया थालिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए । जिल्ला प्रशासन कार्यालयले डिभिजनल वन कार्यालय र नापी कार्यालयलाई कटान क्षेत्रमा स्थलगत अनुगमन र नापजाँच गरी प्रतिवेदन पेश गर्न पत्राचार गरेको छ ।

जाँचबुझ टोलीले प्रतिवेदन दिएपछि थप कारबाही प्रक्रिया अघि बढाउने तयारी स्थानीय प्रशासनको छ । व्यक्तिगत स्वामित्वमा रहेको जग्गाको खयर काट्दा व्यक्तिले कटानका लागि मञ्जुरी र जग्गाधनी प्रमाण पुर्जासमेत दिनुपर्ने र नापी कार्यालयबाट पुर्जाबमोजिम जग्गारहोइन यकिन गर्नुपर्ने कानुनी प्रक्रिया छ ।

यसैबीच वीरगन्जतर्फ लैजानका लागि लोड भएको खयरको गोलिया ट्रकबाट मंगलबार साविककै स्थानमा झारिएको छ । ट्रक हिँडिनसकेकाले सोही स्थानमा खयर झारेर ट्रक फकाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख रामकृष्ण केसीले निकासीका लागि अनुमति दिइएको खयरको काठ व्यक्तिगत जग्गाको मात्र रहेको दाबी गरेका छन् । उनले सबै प्रक्रिया कानुनसम्मत भएको बताए ।

रामेछापको नदी तटीय क्षेत्रमा हरेक वर्ष खयर कटान गरी निकासी हुँदै आएको छ । विगत्‌का वर्षहरूमा पनि खयर काठ निकासीमा विभिन्न प्रकारका समस्या आउने गरेको थियो । व्यवसायीले खयर धनीलाई भनेको रकम नदिएको, भोगचलन भएको सार्वजनिक जग्गामा रहेको लगायत समस्याले खयर निकासी कार्य कठिन हुने गरेको थियो ।

प्रकाशित : १ असार २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल