Logo

समाचार

काठमाडौं र आसपासका जिल्लामा भारी वर्षा, बागमती तटीय क्षेत्रमा सतर्कताको सूचना जारी



काठमाडौं,आषाढ १ गते । काठमाडौं उपत्यकासहित सो आसपासका जिल्लामा गएराति भारी वर्षा भएको छ । काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुली, गोरखा र आसपासमा मेघ गर्जनसहित भारी वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले गएराति साढे १ बजे सूचना जारी गरी पछिल्लो चार घण्टा काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली, गोरखा र आसपास भारी वर्षा मापन भएको जानकारी दिंदै सतर्कता अपनाउन आग्रह गरेको थियो ।

साथै बागमतीका सहायक नदीहरू मनोहरा, हनुमन्ते, विष्णुमती लगायतमा बहाव सतर्कता नजिक पुगेको भन्दै सूचनामा तटीय क्षेत्रमा अर्को चार घण्टा उच्च सतर्कता अपनाउन भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान साढे २ बजे ललितपुरको खोकनामा जलसतहले सतर्कताको तह पार गरेको र बढ्दो क्रममा रहेको भन्दै आज बिहान ६ बजेसम्म बागमती तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन एसएमएस मार्फत् आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको भोर्लेनी स्टेसनमा पनि भारी वर्षा मापन भएको छ । त्यहाँको वर्षा खतराको तहसम्म पुगेको बाढी पूर्वसूचना केन्द्रले जनाएको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

प्रकाशित : १ असार २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल