Logo

समाचार

काठमाडौं महानगरलाई सहयोग गर्न फ्रान्स इच्छुक



काठमाडौं, जेष्ठ २७ गते । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेन्द्रसँग फ्रान्सका राजदूत जील बुर्बाओले आज शिष्टाचार भेट गरेका छन्। प्रमुखको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणलगायत विषयमा छलफल भएको थियो।

मेयर शाहले आफूहरु अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा रहेको, फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी गराएका थिए।

विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्न लागेको उनले सुनाए।

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुन सक्ने उल्लेख गरे।

राजदूत बुर्वाओले, सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए। ‘फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धीकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ,’ राजदूत जिलले सार्वजनिक यातायात प्रणालीको सुधार विषयमा भने, ‘काठमाडौँको भौगोलिक तथा सामाजिक संरचना अनुसार मेट्रो वा मोनोरेल भन्दा सहरी केवुल कार उपयोगी हुन्छ। अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा यसका लागि थोरै लगानी चाहिन्छ। मर्मत र सञ्चालन खर्च पनि कम हुन्छ।’

कुराकानीपछि राजदूत वुर्वाओले प्रमुख शाहलाई सहरी केवल कार सञ्चालन सम्बन्धी सोच पत्र प्रदान गरेका थिए।

प्रकाशित : २७ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल