Logo

आर्थिक

कन्फिडेन्स’ खोज्दै सेयर लगानीकर्ता



काठमाडौं, जेष्ठ २६ गते। २ भदौ २०७८ मा अहिलेसम्मकै उच्च विन्दु ३१९९.०३ छोएको सेयर बजार परिसूचक नेप्से त्यसयताको ९ महिनामा १२ सय अंक तल झर्‍यो । हाल सेयरको दैनिक कारोबार औसतः डेढ अर्बमा खुम्चिएको छ । ४० खर्ब १० अर्ब रुपैयाँसम्म पुगेको बजार पूँजीकरण अब घटेर २९ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ ।

कोरोना महामारीले अर्थतन्त्र ठप्प भएको समयमा प्राथमिक सेयर किनेर पुँजीबजारमा प्रवेश गरेका नुवाकोटका अर्जुन न्यौपानेले विस्तारै दोस्रो बजारमार्फत लगानी गर्न थालेका थिए । तर, बजार निरन्तर ओरालो लागेपछि सेयर कारोबार गर्न छाडेको पाँच महिना भयो ।

‘पहिला कुनै महिना १० हजारमात्र बचत भए पनि बजारमै लगानी गरौं भन्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘अब त्यो जोखिम लिने आँट छैन ।’सामान्यतया सेयरमा स्टक हेरेर लामो समयका लागि लगानी गर्दै आएका होटेल व्यवसायी युवराज श्रेष्ठ अहिले तत्काल थप लगानी गर्ने मुडमा छैनन् । ‘बजारलाई प्राकृतिक नियममा चल्न दिनुपर्छ,’ उनी भन्छन्, ‘हाम्रोमा हल्लाको भरमा साना लगानीकर्तालाई विना अध्ययन बजारमा तान्ने प्रवृत्तिले जोखिम बढाएको हो ।’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल बजारमा लगानी र सहभागी बढ्नुमा प्रविधिको प्रवेशलाई मुख्य कारण मान्छन् । उनका अनुसार धितोपत्र बजारमा गरिएका सुधार कार्य एवं डिजिटलाइजेसनले गर्दा गत आर्थिक वर्षमा नेपालको धितोपत्र बजार ऐतिहासिक उचाइमा पुगेको हो ।

कोभिड–१९ को असर कम हुँदै जाँदा लगानीका अन्य क्षेत्र खुला हुँदै गएपछि सेयर बजारमा लगानीकर्ताको चासो पहिले भन्दा कम देखिएको हमालको विचार छ ।

वैदेशिक आप्रवाहमा कमी, कर्जायोग्य रकमको संकुचन व्याजदर वृद्धि, पूँजीगत खर्चमा कमी तथा रुस–युक्रेन युद्धको प्रभावले समग्र क्षेत्रमा महँगी बढ्दा उपभोक्ताको क्रयशक्ति घटेको छ ।

यही कारण सेयर बजारमा लगानी घटेको छ र सेयर बजार परिसूचक पनि निरन्तर घटेको हो । लगानीकर्ता भने चालु आर्थिक वर्षको मौद्रिक नीतिले धितोपत्र बजारमा मार्जिन ल्यान्डिङको सीमाका कारण बढी हतोत्साहित भएका हुन् ।

एक लगानीकर्ताले सेयर धितोमा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा पाउँछन् ।

एकातर्फ मार्जिन ल्याण्डिङमा कडाइ र अर्कोतर्फ बैंकहरुमा लगानीयोग्य तरलताको अभावले ठूला लगानीकर्ताको पैसा बजारमा आउन पाएको छैन

प्रकाशित : २६ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल