Logo

अन्तरवार्ता

अब राजनीतिबाट कला क्षेत्रलाई अगाडि बढाउँछु : भुवन केसी



अभिनेता भुवन केसी मंगलबार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई पार्टी प्रवेश गराउनुभयो। काँग्रेस प्रवेश गरेपछि अभिनेता केसीसँग गरेको कुराकानीको सम्पादित अंश:

कलाकार राजनीतिमा लाग्दैनन् भन्छन् नि ? तपाई किन राजनीतिमा प्रवेश गर्नुभएको हो ?

हरेक क्षेत्रमा हरेक मानिस आफ्नो क्षमताअनुसार लाग्ने हो। सबैको आफ्नै क्षेत्र छ। जस्तै, खेलाडीले देशको लागि मेडल जित्छ, इन्जिनियरले घर बनाउँछ, कला संस्कृति बचाउन लाग्ने छुट्टै छन्। नेताले देश बनाउँछु भन्छन्। तर, कतिपयले जिम्मेवारी पूरा नगरेको गुनासो हामीले सुन्ने गरेका छौँ। जे हुनुपर्ने त्यो भएको छैन।

कलाकार बनेर ४० वर्ष मैले चलचित्र क्षेत्रमा बिताए। मेरो सपना नेपाली संगीत, कला र साहित्य विश्वमा फैलाउनु हो। हाम्रो देशको कुनामा पनि हाम्रा सिनेमा र संस्कृति पुग्न सकेका छैनन्। यो सबै गर्नका लागि राजनीतिबाट नै सम्भव हुनेरहेछ। अहिले आएर आफ्नो सपना सुनाउने ठाउँ संसद भवन नै रहेछ भन्ने मेलै बुझें। संसदमा आजसम्म यस विषयमा आवाज उठाउने व्यक्ति देखिएन। म यही आवाज उठाउनका निम्ति राजनीति प्रवेश गरेको हुँ। म कुनै झण्डा बोक्न र मन्त्री बन्न आएको होइन। मेरो पहिलो प्रयास भनेको राजनीतिबाट कला क्षेत्रलाई अगाडि बढाउनु नै हो।

नेपाली काँग्रेस नै रोज्नुको केही विशेष कारण छ कि ?

संसारका अन्य मुलुकमा पनि कलाकारले देश चलाएको सुन्न पाइन्छ। यो क्षेत्रमा लागेर भोलि मौका पाएमा म पनि देश चलाउन सक्छु। हामी कलाकार राजनीतिमा लाग्दा तन, मन र वचनले लाग्ने हो। कलाकारले झुटो आश्वासन दिँदैनन्। हामी संवेदनशील हुन्छौं, हामीलाई विश्वास गर्दा हुन्छ। हामीले मौका पायौं भने देश र जनताको लागि काम गर्न सक्छौँ। अहिले कलाकारलाई चुनावमा प्रयोग गरिने साधन वा गहनाको रुपमा मात्र हेर्ने गरिन्छ। तर, त्यो होइन। मैले देखेका सपना र योजना पुरा गर्न काँग्रेसबाट धेरै सम्भावना छ भन्ने लागेर नै मैले काँग्रेस रोजेको हुँ। त्यसैले आज म काँग्रेसमा छु। म यसअघि अरु पार्टीमा थिएँ होला। म पार्टीसँग लिनका लागि नभएर केही दिनका लागि गएको हुँ। तर, त्यहाँ मैले बनाएका योजना कार्यान्वयन भएनन्।

राजनीतिमा तपाईंको ‘आइडल’ कोही हुनुहुन्छ कि ?

राजनीतिमा मेरो कोही ‘आइडल’ छैन। यहाँ राम्रा र नराम्रा दुवै व्यक्तित्व छन्। असल व्यक्ति हामी आफैंले छान्न सक्नुपर्छ।

चलचित्र विकास र्बोडको अध्यक्ष बन्नका लागि पार्टी प्रवेश गर्नुभएको भन्ने हल्ला छ। के सही हो ?

जसलाई जसले जे पनि भन्ने अधिकार छ। राजनीतिमा लागिसकेपछि पनि म तन, मन र वचनले देश, जनता र दाजुभाइ दिदिबहिनीको सेवा गर्नेछु। कलाकारितालाई अब्बल बनाउन मैले राजनीतिको यात्रा सुरु गरेको हुँ। बाँकी अरुले के के भन्छन्, त्यो मेरो सरोकार होइन। अनुमानको भनेमा बोलेर मलाई केही पनि फरक पर्दैन। म चलचित्र क्षेत्र, कला संस्कृतिलाई विश्वमा चिनाउने सपना बोकेर काँग्रेस पार्टीमा प्रवेश गरेको छु।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल