Logo

राजनीति

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीले भने, ‘देउवालाई फेरि भेट्न उत्सुक छु’



काठमाडौं, जेठ १ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध अतुलनीय रहेको बताएका छन्।

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा आइतबार वक्तव्य जारी गर्दै मोदीले आफ्नो भ्रमणले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई अझै गहिरो बनाउने उल्लेख गरेका छन्।

‘नेपालसँगको हाम्रो सम्बन्ध अतुलनीय छ। भारत र नेपालबीचको सभ्यता र जनताबीचको सम्पर्कले हाम्रो घनिष्ठ सम्बन्ध दर्शाउँछ,’ उनले भनेका छन्।

मोदीले आफ्नो भ्रमणको उद्देश्य शताब्दीयौंदेखिको दुई देशको ऐतिहासिक परस्पर सम्बन्धहरुमा खुसी मनाउने र गहिरो बनाउने रहेको उल्लेख गरेका छन्।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा जेठ २ गते बुद्ध जयन्तीका दिन आफू लुम्बिनी भ्रमण गर्न लागेको भन्दै मोदीले भारत र नेपालबीचको सभ्यता र जनताबीचको सम्पर्कले दुई देशको घनिष्ठ सम्बन्धलाई दर्शाउने बताएका छन्।

बुद्ध जयन्तीको शुभ अवसरमा मायादेवी मन्दिरमा पूजाआजा गर्न आतुर रहेको उल्लेख गर्दै मोदीले भनेका छन्, ‘लाखौं भारतीयहरूको प्रतिनिधित्व गरेर भगवान बुद्धको जन्मस्थलमा श्रद्धा अर्पण गर्न पाउँदा मैले सम्मानित महसुस गरेको छु।’

गत महिना प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको फलदायी वार्तापछि आफू देउवालाई फेरि भेट्न पनि उत्सुक रहेको मोदीले उल्लेख गरेका छन्। ‘भ्रमणका क्रममा हामी जलविद्युत, विकास र कनेक्टिभिटी लगायतका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्न हाम्रो साझा समझदारीलाई निरन्तरता दिनेछौं,’ उनले भनेका छन्।

मोदीले पवित्र मायादेवी मन्दिरको दर्शन गर्नुका साथै लुम्बिनी विहार क्षेत्रमा रहेको इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास समारोहमा सहभागी हुने जानकारी गराएका छन्।

नेपाल सरकारले आयोजना गरेको बुद्ध जयन्तीको अवसरमा हुने समारोहमा पनि सहभागी हुने उनले उल्लेख गरेका छन्।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल