Logo

आर्थिक

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान



काठमाडौं, बैशाख १० गते । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल० सञ्चालनमा आएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थलमा बिहीबारदेखि व्यावसायिक उडान सुरु भएको हो। यसको २०७१ माघमा शिलान्यास भएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७० वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो। हालसम्म अन्तर्राष्ट्रिय उडान कारणवश डाइभर्ट गर्नुपर्दा भारत वा बंगलादेश नै पु¥याउनु पथ्र्यो। काठमाडौंबाट डाइभर्ट हुने जहाज प्रायः कलकत्ता, बनारस र ढाका जाने गरेका छन्। साना जहाज भए पटना जाने गर्छन्। तर, अब अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको विकल्प अवतरणका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लिन सक्ने प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए।

अब अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विकल्पका रूपमा गौतमबुद्ध विमानस्थललाई उल्लेख गर्न सक्नेछन्,’ प्रवक्ता कर्णले भने। यो विमानस्थल अब औपचारिक रूपमै खुल्ला भएको उनले बताए। भौतिक निर्माण सकिएपछि फागुनमै क्यालिब्रेसन यान्त्रिक परीक्षण उडान भइसकेको छ। त्रिभुवन विमानस्थलले कोरोनाअघिसम्म वार्षिक ७२ लाख यात्रुको भार वहन गरेको थियो। अहिले गौतमबुद्ध विमानस्थलले वार्षिक २० लाख र दोस्रो टर्मिनल भवन निर्माणपछि वार्षिक करिब ७० लाख यात्रुलाई सेवा दिन सक्ने बताइएको छ। यो विमानस्थलको लागत ३१ अर्ब पुगेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि जजिरा एयरले अनुमति पाएको छ। कुवेतको एयर जजिरालाई पहिलो उडान अनुमति दिइएको प्राधिकरणका प्रवक्ता कर्णले जानकारी दिए। हालसम्म जजिराले मात्र उडान स्वीकृति लिएको उनले बताए। जजिरा एयरले सोमबार, बुधबार र शुक्रबार उडान भर्ने छ। ‘जजिरा एयर जेठ २ गते राति १ः३० बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने र २ः३० बजे कुवेत फर्किने समयतालिका तय भएको छ,’ कर्णले भने। अरू अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले हालसम्म उडान अनुमतिका लागि निवेदन नदिएको कर्णले बताए।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको उडान अनुमतिका लागि दुई देशबीच हवाई सम्झौता आवश्यक हुन्छ। हालसम्म त्रिभुवन विमानस्थलसँग मात्र भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको हुँदा उक्त सम्झौता पुनरावलोकन गर्नुपर्ने हुन्छ। यसका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालसँग हवाई सम्झौता भएका मुलुकलाई चिठी पठाइसकेको प्राधिकरणका प्रबन्ध निर्देशक प्रदीप अधिकारीले बताए। यस्तै, विमानस्थलको नयाँ रनवेबाट आन्तरिक औपचारिक उडान भने बुधबारबाट सुरु भएको छ।
मौसमी खराबीका कारण रोकिएको यती एयरलाइन्सको जहाजले पहिलोपटक उडान भरेको उक्त विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। उक्त विमानस्थलबाट यतीले उडान गरेको छ। पहिलो अवतरण भने बुद्ध एयरले गरेको छ। विमानस्थलको पुरानो धावनमार्ग बन्द गरेर तीन हजार मिटरमा विस्तार गरिएको हो।

यसमा पनि पुरानै हवाई मार्ग सिमरा नै प्रयोग हुने भएको छ। हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान सिमरा हुँदै काठमाडौं भित्रिने गरेका छन्। चीनबाट आउने विमान सगरमाथा आसपास क्षेत्र र भुटानबाट आउने विमान मेची हुँदै नेपाल प्रवेश गर्छन्। बाहिरिने हवाई रुट भने सिमरा, विराटनगर, जनकपुर, महेन्द्रनगर र भैरहवाको आकाश मार्ग हो।

प्रायः एउटै रुटबाट आगमन हुँदा हवाई ट्राफिक जामका साथै उडान तालिका प्रभावित र लामो समयसम्म आकाशमै विमान ‘होल्ड’ गर्नुपर्ने बाध्यता छ। थप रुट उपलब्ध भएको अवस्थामा व्यवस्थापन गर्न सहज हुने प्राधिकरणले बताउँदै आएको छ। नेपालले सात वर्षदेखि भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोगका लागि भारत सरकारसँग छलफल गर्दै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि यो मुद्दा उठाइएको थियो।

भैरहवा र नेपालगन्ज रुटका लागि मात्रै भारत सकारात्मक हुने हो भने नेपाल छिर्ने विमानका लागि दूरी निकै घट्ने बताइन्छ। भैरहवा रुटबाट जहाजले प्रवेश बिन्दु पाउने हो भने दिल्ली तथा पश्चिमबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो दूरी पर्नेछ। काठमाडौं विमानस्थल आउन पनि भैरहवाको रुट छोटो पर्नेछ।

प्रकाशित : १० बैशाख २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल