Logo

आर्थिक

कोपोमिसमा आवद्ध नहुने सहकारीले अब कर चुक्ताको प्रमाणपत्र नपाउने



काठमाडौं, बैशाख ९ गते । सहकारी एकीकृत सूचना केन्द्र कोपोमिसमा आवद्ध नहुने संघ, संस्थाहरुले अब कर चुक्ताको प्रमाणपत्र नपाउने भएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज सिजेएन र सहकारी विभागको संयुक्त कार्यक्रम ‘कोपोमिस अभिलेखिकरण अभिवृद्धि विषयक कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले यस्तो घोषणा गरेका हुन् ।

अब कोपोमिसमा आवद्ध नहुने कुनैपनि सहकारी संघ संस्थाले कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्र पाउने छैनन् । यस्तो प्रतिबन्ध कर कार्यालयमा सूचना हुने गरी सरकारले व्यवस्था गर्दैछ’ रजिष्ट्रार मण्डितले भने, ‘व्यवसायिक बन्न चाहनुहुन्छ भने कोपोमिसमा आउनुस्, होइन भने विभाग कारबाहीको चरणमा अघि बढिसक्यो ।’
सोही अवसरमा रजिष्ट्रार पण्डितले थप खबरदारी गर्दै कोपोमिसमा आवद्ध नहुने सहकारी संघ–संस्थाहरुलाई अनुदानबाट समेत बञ्चित गराइने बताए । ‘करचुक्ताको प्रमाणपत्र मात्र होइन, कोपोमिसमा प्रविष्ठित नहुने सहकारीहरूले अब कुुनै पनि अनुदान समेत पाउने छैनन् । बेलैमा सोचौं’ पण्डितले भने ।

निकै लामो समयदेखि कोपोमिस कार्यान्वयनमा रहेपनि सहकारी संघ, संस्थाहरु यस प्रणालीमा आवद्ध हुन नचाहेपछि बाध्य भएर यस्तो नियम ल्याउनु परेको रजिष्ट्रार पण्डितको भनाइ छ । उसो त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागको सक्रियता २०७५, असारमा नै सफ्टवेयरमा आधारित एकीकृत सूचना केन्द्र कोपोमिस सञ्चालनमा ल्याइएको थियो । सफ्टवेयर निर्माण तथा सञ्चालनका लागि सरकारले लाखौं रुपैयाँ खर्च गरेपनि यता सहकारी संघ–संस्थाहरुले भने कोपोमिस प्रयोगमा खासै इच्छा देखाएका छैनन् । जसले गर्दा कोपोमिस त्यसै अलपत्र परेको छ ।

करिब ३० हजार सहकारी संघ–संस्थाहरु रहेकामा हालसम्म करिब ११ हजार सहकारी संघ, संस्थाहरुले मात्र यो प्रणालीमा आवद्धता भएको र त्यसमा पनि करिब ८ हजार संघ–संस्थाहरुले मात्र नियमित तथ्याङ्क कोपोमिसमा सूचना अपडेट गर्ने गरेको विभागको भनाइ छ ।

यता, प्रारम्भिक सहकारी संघ–संस्थाहरुले भने सफ्टवेयरमा आधारित भएकाले कोपोमिस सञ्चालन तथा व्यवस्थापनमा विविध समस्या आएको र अन्योलको स्थिति बनेको बताएका छन् । कोपोमिसका लागि इन्टरनेट तथा कम्प्युटरको पहुँच भएको हुनुपर्ने र प्रत्येक घटना प्रणालीमा प्रविष्ट गर्न छुटै कर्मचारी र समय खटाउनुपर्नाले समस्या भएको उनीहरुको तर्क छ ।

यता, विषयगत केन्द्रीय संघहरुले भने कोपोमिस सञ्चालन तथा व्यवस्थापमा आफुहरु सधै सकारात्मक रहेको बताउँदै कारबाही भोग्न तयार भएको बताएका छन् । कार्यक्रममा बोल्दै कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेमबहादुर पाठकले कोपोमिस प्रयोगका लागि आफ्ना सदस्य संघहरुलाई प्रेरित गर्ने र कार्यान्वयनमा विभागलाई सहयोग गर्ने बताए ।

यस्तै, बचत तथा ऋण केन्द्रीय संघ, नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले कोपोमिस सञ्चालन तथा व्यवस्थापनमा धेरै जटिलताहरू रहेकाले यसको शीघ्र समाधन गरी सिंगो अभियान कार्यान्वयनमा संवेदनशील हुनुपर्ने बताए ।

प्रकाशित : १० बैशाख २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल