Logo

पत्र-पत्रिका

कमिसन माग्दै अमलेखगञ्ज डिपो ठप्प : तीन प्रदेशमा पेट्रोलको सङ्कट



पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित बनेका छन् ।

निगमको अमलेखगञ्ज डिपोले भारतको बरौनीबाट दैनिक २५ देखि ४० ट्याङ्कर पेट्रोल आयात गर्दै आएको छ । सो पेट्रोलियम पदार्थ यहाँबाट वाग्मती, गण्डकी र  मधेस प्रदेशका  अधिकांश जिल्ला ढुवानी हुने गर्छ । शुक्रबारदेखि भएको हडतालले तीनवटै प्रदेशका उपभोक्ताहरू मारमा परेका छन् ।

 नेपाल आयल निगमले तेल बिक्रेताहरूलाई कुल बिक्रीको ३ प्रतिशत रकम कमिसन बापत दिँदै आएको थियो । पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको छ । कमिसन बापतको रकम कटौती गरेपछि राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार विज्ञप्ति जारी गरेर ढुवानी ठप्प पारेको हो ।

नेपाल आयल निगम अमलेखगञ्जका डिपो प्रमुख प्रदीप यादवले रुस–युक्रेन युद्धका कारण विश्व बजारका कच्चा तेलको मूल्य बढेकाले नेपाली उपभोक्तालाई मूल्यवृद्विबाट बचाउन डिलरलाई दिनुपर्ने कमिसन रोकिएको बताए ।

यादवले रातोपाटीसँग भने, ‘ढुवानी व्यवसायीहरूले मूल्य बढेपछि हाम्रो कमिसन पनि बढाउनुपर्छ भन्ने उहाँहरूको माग हो । शुक्रबारदेखि ढुवानीमा समस्या भएको  छ, गाडीहरू एउटा पनि लोड भएका छैनन् ।

’ मोतिहारी—अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेदेखि सञ्चालनमा आएपछि डिजल पाइपबाट आयात हुन्छ भने पेट्रोल र मट्टीतेल ट्याङ्करबाट ढुवानी हुँदै आएको छ  ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल