Logo

नेपालमा पनि ओमिक्रोन भेटिएपछि उपत्यकामा लकडाउनबारे यसो भन्छन्- काठमाण्डौ,ललितपुर र भक्तपुरका सीडीओ ?



नेपालमा ओमिक्रोन भेरिअन्टका दुईजना सङ्क्रमित फेला परेसँगै खासगरी काठमाण्डू उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन्। सामाजिक दूरी, मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डको पालनामा फेरि कडाइ गर्नुपर्ने विज्ञहरूले सुझाइरहँदा कतिपय मानिस सम्भावित लकडाउनलाई लिएर झस्केका हुन्।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा सङ्क्रमण भेटिएको सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो। दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म भारतसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ।

के भन्छन् सीडीओहरू?

कोभिड महामारी शुरू भएयता नियन्त्रण तथा रोकथामका लागि काठमाण्डू उपत्यकाका काठमाण्डू, ललितपुर र भक्तपुर जिल्ला प्रशासनहरूले एकसाथ प्रतिबन्धात्मक कदमहरू चाल्दै आएका छन्।

उपत्यकामै ओमिक्रोनका सङ्क्रमित भेटिनुलाई आफूहरूले “गम्भीर” रूपमा लिएको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउँछन्।

“अब छिट्टै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर हाम्रो तर्फबाट गर्नुपर्ने पूर्वतयारी र पूर्वसावधानीका उपाय के कस्ता हुनसक्छन् भन्नेबारे हामी एउटा निचोडमा पुग्छौँ,” बीबीसीसँग उनले भने। विगतमा जस्तै लकडाउन गर्ने वा नगर्ने विषय सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने प्रजिअ रिजालले स्पष्ट पारे।

“सङ्क्रमितहरू बढ्दै गए र नियन्त्रणका लागि हामीले विभिन्न निषेधात्मक उपाय अपनाउनुपर्ने अवस्था सिर्जना भयो भने लकडाउनमा पनि जान सकिन्छ। तर अहिले नै लकडाउन वा निषेधाज्ञा जारी हुन्छ जस्तो लाग्दैन,” उनले थपे।

यद्यपि आउँदा दिनमा देखिनसक्ने प्रतिकूल अवस्थासँग जुझ्नका लागि अनौपचारिक तयारी थालिएको रिजालले बताए। पछिल्लो घटनाक्रमलाई लिएर उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरूबीच कुराकानी भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।

“हामीले निर्णय गरिसकेकै अवस्था चाहिँ होइन। अहिलेको स्थितिको मूल्याङ्कन गरी सामूहिक रूपमा बैठक बसेर हामीले उचित निर्णय लिनेछौँ,” बीबीसीसँग उनले भनिन्। त्यसअघि विगतमा जस्तै सङ्क्रामक रोग विशेषज्ञ, जनस्वास्थ्यविद्‌लगायत पक्षसँग परामर्श गरिने प्रजिअ शर्माले बताइन्।

जनस्वास्थ्यका मापदण्डको पालनामा पछिल्लो समय हेलचेक्र्याइँ भइरहेको विज्ञहरूको गुनासोकाबीच तत्काल कडाइ हुनसक्ने सम्भावनालाई चाहिँ उनले नकारिनन्।

“कडाइ हुनसक्छ। नियन्त्रणको एउटा प्रभावकारी माध्यम भनेकै जनस्वास्थ्यका मापदण्डको पालना हो। सङ्क्रमण बढ्दै गएको अवस्थामा हामीले त्यही अनुसारको नीति पक्कै पनि लिनेछौँ,” प्रजिअ शर्माले थपिन्।

आफ्नो जिल्लामा फेला परेका ओमिक्रोन सङ्क्रमितबाटै अरू मानिसहरूलाई फैलने अवस्था नभए पनि पूर्वसावधानीहरू अपनाइसकिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।

“तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू औपचारिक/अनौचारिक रूपमा बसिरहेका छौँ। गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको छ,” बीबीसीसँग उनले भने।

“स्थितिको आकलन गर्दै भावी रणनीति तय गर्ने हो। अलिकति असहज परिपस्थिति आएपछि त्यसको सामना गर्नेगरी सतर्कतापूर्वक तयारी गरिरहेका छौ।”

अहिले पनि आफूहरूले धेरै भिडभाड हुने खालका गतिविधि नगर्न प्रोत्साहित गर्दै आएको प्रजिअ उपाध्यायले बताए।

ओमिक्रोन फेला परिसकेको पृष्ठभूमिमा निर्देशनविपरीत ठूला खालका सभा, जुलुसको आयोजना गरिएमा स्थानीय प्रशासनहरूले हस्तक्षेप गर्लान् त?

जबाफमा उपाध्यायले भने, “समन्वयात्मक रूपमा सकेसम्म सचेतनाबाट र स्वास्थ्य मापदण्डको पालना गराएर नै यस्ता सङ्कटबाट हामी मुक्त हुनसक्छौँ।”

“त्यसभन्दा फरक स्थिति सिर्जना भएको अवस्थामा एकीकृत रूपमा रणनीति तय गर्नुपर्ने हुन्छ।”

नेपालले पछिल्लो समय के गर्दैछ?

नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूबाट प्रवेश गर्ने मानिसहरूलाई नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेको छ। त्यसैगरी खोपको विवरण लिने र पूर्ण मात्रा खोप नलगाएका तथा शङ्कास्पद देखिए एन्टिजन परीक्षण गर्ने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तत्कालै रिपोर्ट आउने एन्टिजन परीक्षणमा पोजेटिभ फेला परेका मानिसलाई पुनः पीसीआर परीक्षण गर्ने र शङ्कास्पद नमुनाहरूको जीन सिक्वेन्सिङ पनि गर्ने गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमवार बताएका थिए।

उनका अनुसार विगत एक महिना पहिलादेखि पोजेटिभ भएका नमुनाहरूको थप परीक्षण गर्ने गरिएको छ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल