Logo

राजनीति

घिमिरेलाई २ मतले हराउँदै कांग्रेस प्रदेश १ सभापति बनेका थापा को हुन् ?



विराटनगर – कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव जमाएका गुरुराज घिमिरेलाई पराजित गर्दै कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी बनेका छन्। केन्द्रबाट प्रदेशमा झरेर सभापतिमा उम्मेदवारी दिएका घिमिरेलाई झापाका बासिन्दा थापाले झिनो मतान्तरले पराजित गरेका हुन्।

संस्थापन समूहका थापा र इतर पक्षका घिमिरेको मतान्तर २ मात्रै रहेको छ। थापाले ८ सय ४४ मत ल्याएर पार्टीमा प्रदेशको नेतृत्व गर्ने अवसर पाउँदा घिमिरेले ८ सय ४२ मत प्राप्त गरे।

कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिएका थापालाई पार्टी सभापति शेरबहादुर देउवाको पनि समर्थन थियो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका घिमिरेलाई डा. शेखर कोइराला लगायतले साथ दिएका थिए।

घिमिरेलाई सभापतिको उम्मेदवार बनाउनकै लागि संस्थापनइतर समूहमा रहेका कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालालाई ‘ब्याक’ गर्न डा. शेखरको ठूलो भूमिका थियो।

को हुन् थापा ?

पार्टीको प्रदेश सभापतिमा निर्वाचित थापा झापाको अर्जुनधारा नगरपालिकाका बासिन्दा हुन्। कांग्रेसका पुराना कार्यकर्ता थापा नेता सिटौलाको साथ पाएर पार्टीभित्रको राजनीतिमा सफल भइरहेका छन्। झापाबाटै राजनीति गरिरहेका कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मासँग ‘लाइन संघर्ष’ भए पनि थापालाई सिटौलाले सहयोग गरिरहेका छन्।

सिटौलाकै संरक्षणमा राजनैतिक प्रभाव जमाइरहेका उनी अन्ततः पार्टीको प्रदेश १ को पहिलो सभापति बन्न सफल भए। विद्यार्थी कालदेखि २०३४ सालबाट कांग्रेसको राजनीति सुरु गरेका थापा पार्टीको दुई पटक झापा जिल्ला सभापति बनिसकेका छन्।

२०३५ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनको महत्वपूर्ण योगदान छ। पञ्चायती व्यवस्थाविरुद्धको प्रचार अभियानमा थापाले जननायक बिपी कोइरालाको सुरक्षा दस्ताका रूपमा काम गरेका थिए।

कांग्रेस अर्जुनधारा गाउँ समितिको सचिव र सभापतिमा एक–एक कार्यकाल काम गरेको अनुभव उनीसँग छ। झापा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति भएका उनी जिल्ला सचिव, उपसभापति र दुई कार्यकाल जिल्ला सभापति बन्न सफल भइसकेका छन्।

२०६२÷०६३ को दोस्रो जनआन्दोलनमा होमिएका बेला पक्राउ परेका थापालाई तत्कालीन शाही नेपाली सेनाले झापाको चारआलीस्थित ब्यारेकमा राखेर यातना दिएको थियो। वाणिज्य शास्त्रमा स्नातक गरेका उनलाई पार्टीभित्रको आन्तरिक राजनीतिमा फलिफाप भए पनि संसदीय राजनीति भने अफपशिद्ध जस्तै भएको छ। उनी प्रतिनिधिसभा निर्वाचनमा झापाबाट दुई पटक पराजित बनेका थिए।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल