Logo

राजनीति

‘कुनैबेला भद्रपुर-धनकुटाका बस चालक लिङ्देनको हातमा राप्रपाको साँचो’



झापाको क्षेत्र नं ३ बाट २०७४ सालको आम निर्वाचनमा विजयी प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष निर्वाचित भएका छन्। उनी यसअघि कमल थापा अध्यक्ष रहँदा लगातार दुई कार्यकाल केन्द्रीय समितिका महामन्त्री थिए।

वि.सं.२०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका राजेन्द्र लिङ्देनका बाबु पञ्चायतकालमा गाउँपालिकाको अध्यक्ष बनेका थिए।
बाबुको पथ पछ्याउँदै लिङ्देन विद्यालय तहदेखि नै राजनीतिमा लागेका हुन्।

उनले राजनीति गर्ने मात्र होइन राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पनि गरेका छन्। राप्रपाको देशभर सङ्गठन बलियो नभए पनि लिङ्देनको ‘शालीन र शिष्ट’ व्यक्तित्व र साङ्गठनिक कुशलताका कारण झापाका तीन स्थानमा उक्त दलले वडा तहको चुनाव जितेका उनका प्रतिद्वन्द्वी राजनीतिक दलका नेता बताउँछन्।

उनका प्रतिद्वन्द्वीहरू ‘उनको कमजोरी नेपाली जनताले अस्वीकार गरिसकेको विचार वा सिद्धान्त बोकेर हिँड्नु हो,’ भन्छन्।

उनी पञ्चायतकालको अन्त्यतिर २०४५ सालमा मेची क्याम्पसमा विद्यार्थी सङ्गठनको निर्वाचनमा पञ्चायत समर्थक विद्यार्थी सङ्गठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट अध्यक्ष पदमा उठेर हारेका थिए।

२०४९ सालमा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा उनी संस्थापक केन्द्रीय अध्यक्ष बनेका थिए। त्यस्तै उनी झापाको तत्कालीन गोल्धाप गाविसको वडा नं ३ वडाध्यक्ष भएका थिए।

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापति बनेका थिए। उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले जिविस झापाको सभापतिमा मनोनयन गरेका थिए। २०६२/६३ को जन आन्दोलनका बेला उनलाई झापाको बिर्तामोडमा राजावादी भएको आरोप लगाउँदै कालो मोसो दलिएको थियो।

सशस्त्र द्वन्द्वकालमा माओवादी कार्यकर्ताले उनको झापा गोल्धापमा रहेको घरमा आगजनी गरेका थिए। घर ध्वस्त भएपछि उनी परिवारसहित त्यहाँबाट विस्थापित भएर बिर्तामोडमा बसोबास गर्दै आएका थिए।

पैतृक सम्पत्तिमा पहुँच नभएका बेला उनले केही वर्ष धनकुटा-भद्रपुर गर्ने आफ्नै माइक्रो बस चलाएको पारिवारिक स्रोत बताउँछ। ०६२/६३ को राजनीतिक परिवर्तनपछि पनि उनले राजतन्त्र र हिन्दू राष्ट्रको मुद्दा भने छोडेनन्।

भाषणमा राजतन्त्र पुन:स्थापना र हिन्दू राष्ट्रबारे उनले कडा अभिव्यक्ति दिने गरेका छन्।केही महिना अघिदेखि मात्र उनी गोल्धापको घर मर्मत गरी त्यहीँ बसोबास गर्दै आएका छन्।

लिङ्देन २०७४ सालको संसदीय चुनावमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। नेकपा एमालेको समर्थनमा उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ठूलो मतान्तरले पराजित गरेका थिए। एमालेले उनी उठेको क्षेत्रमा उम्मेदवार उठाएको थिएन।

लिङ्देनले उक्त निर्वाचनमा ४४,६१४ मत प्राप्त गरेको र उनका निकटतम प्रतिद्वन्द्वी सिटौलाले ३१,१७१ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ।

-बीबीसी बाट

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल