Logo

राजनीति

रेखा थापा पनि राप्रपा पदाधिकारीको आकांक्षी, अरु को–को छन् ?



काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बुधबारबाट शुरु भएको छ। काठमाडौं भृकुटीमण्डमा हुने महाधिवेहन मंसिर १७ गतेसम्म चल्नेछ।

हाल तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनले एकमात्र अध्यक्ष चयन गर्नेछ। हालका एक अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्ष्यमा उम्मेदवारी घोषणा गरेका छन्।

प्रकाशचन्द्र लोहनीले लिङदेनलाई समर्थन गर्ने बताएका छन् भने पशुपतिशम्शेर राणा खुलेका छैनन्। यद्यपि राणाका पनि धेरै मानिसहरू लिङदेनकै समर्थनमा उभिएका छन्।

राप्रपामा अध्यक्षपछि उपाध्यक्ष र महामन्त्रीमा पनि चुनाव हुने व्यवस्था छ। पार्टीको विधानअनुसार एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ। राप्रपाको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको हो।

अध्यक्षका दुवै दाबेदारले पदाधिकारीमा आ–आफ्नो प्यानल अघि सार्ने तयारी गरेका छन्। लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशम्शेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ। आफ्नो पक्षबाट चार उपाध्यक्ष र तीन महामन्त्री उम्मेदवारहरूको सूची लिङदेन पक्षले आज साँझसम्ममा टुंगो लगाउने बताएको छ।

कमल थापा पक्षबाट उपाध्यक्षमा बुद्धिमान तामाङले उम्मेदवारी घोषणा गरेका छन्। यस्तै महानमन्त्रीमा कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन्।
पदाधिकारीका अन्य आकांक्षीहरूमा लिङदेन पक्षबाट श्याम तिमल्सिना गोविन्दराज खनिया, मुकुन्दश्याम गिरी, विन्दु पौडेल, दुर्गा श्रेष्ठ, रेखा थापा लगायतले पदाधिकारीको आशा गरेका छन्।

कमल थापा पक्षबाट भाष्कर गहतराज, ध्रुवबहादुर प्रधान, जयन्त चन्द, भीम प्रसाद गौतन, अर्जुन राई, बसन्त मानसिंह अधिकारी, गीता बस्नेत, रोशन कार्कीलगायत नेताहरू उपाध्यक्ष र महामन्त्रीका आकांक्षी हुन्।

राप्रपामा उपाध्यक्ष र महामन्त्रीपछि सहमहामन्त्री, सहायक महामन्त्री, प्रवक्ताहरू रहने व्यवस्था छ। यद्यपि, तिनीहरू प्रतिनिधिको भोटबाट नभइ अध्यक्षबाट मनोनित हुन्छन्। विधानअनुसार ७ जना सहमहामन्त्री र ७ जना सहायक महामन्त्री मनोनीत हुनेछन्।

राप्रपाको १९९ सदस्यीय केन्द्रीय समिति रहने छ जसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित भएर आउनेछन् भने बाँकी मनोनीत हुने व्यवस्था छ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल