Logo

राजनीति

यस्तो छ विप्लवको ‘नेपाल बन्द’को प्रभाव, बिहानैदेखि प्रहरीको हरपकड, कहाँ–कतिलाई गरियो पक्राउ ?



काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव आंशिक रुपमा परेको छ । पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आंशिक रुपमा चलिरहेको नेपाल प्रहरीले जानकारी दिएको हो ।

बन्दमा हुन सक्ने सम्भावित घटनाहरूलाई दृष्टिगत गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सवारीसाधन सञ्चालन गर्दा आवश्यक सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी सडक र चोकहरूमा परिचालन गरिएको छ ।

यसैबीच, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् ।

आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदा शङ्कर लगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिएका छन् ।

पुनले पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् । नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।

मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् ।

सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।

मेटमणि चौधरीको अन्तरवार्ता (भिडियो)

विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।

काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् ।

काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल