Logo

समाचार

प्रचण्ड अस्पताल भर्ना, यस्तो छ स्वास्थ्य अवस्था



काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालका अनुसार रक्तचाप बढेपछि प्रचण्ड ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरूमा निरन्तर सहभागिता हुने क्रममा भएको धपेडी र चापका कारण प्रचण्डलाई रक्तचाप बढेको दाहालले बताएकी छिन् ।

‘अहिले अवस्था सामान्य रहेको र चिकित्सकीय सल्लाहअनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ,’ उनले फेसबुकमा लेखेकी छन् ।

माओवादी घटकसँग पार्टी एकताको छलफल चलिरहेको छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले सञ्चालन गरेको जनयुद्ध कुनै लहडमा नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन । जनयुद्ध कुनै लहड थिएन ।’

प्रचण्डले माओवादी पङ्क्ति एक्लाएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा पनि औँल्याए । उनले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए ।

‘किरण (मोहन वैद्य) को अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लव (नेत्रविक्रम चन्द) को बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन,’ उनले भने ।

ढिलोछिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास अध्यक्ष प्रचण्डको थियो । उनले थपे, ‘छुट्टै बसेरभन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ । अहिले कुरा पनि चलिरहेको पनि छ । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुनेबाहेक अरु विकल्प छैन ।’

अध्यक्ष प्रचण्डले एउटै समयमा थुप्रै नेतृत्व जन्मन नसक्ने भन्दै माओवादी आन्दोलन र आफूलाई प्रतिक्रान्तिकारीले सिध्याउन खोजेको बताए ।

‘प्रतिक्रान्तिकारीले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा लागेको र तारो माओवादी आन्दोलन भएको छ,’ उनले भने ।

जनता, आन्दोलन, सङ्घर्ष, बलिदानले नेतृत्व पैदा गर्ने बताउँदै प्रचण्डले सही विचार र कार्यक्रम लिएर जनतामा जाँदा माओवादी पुनः एक पटक थप विस्तारित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल