Logo

राजनीति

कांग्रेस युवा नेता महरले भने, ‘बाढी, पहिरो पीडितलाई तत्काल उद्दार गरी दीर्घकालीन समाधान खोजियोस्’



काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले बाढी, पहिरो र डुबान प्रभावितलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छन् ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष महरले केही दिनयताको अविरल वर्षाका कारण सुदूरपश्चिमसहित पहाडी र तराईसँगै देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिको तत्काल र दीर्घकालीन रोकथाम गर्न माग गरेका हुन् ।

गृह प्रदेश सुदूरपश्चिमा रहेका नेता महरले महाकालीमा आएको बाढीका कारण नदीको बीच टापुमा पाँचजना स्थानीय अड्किएको र महाकालीमा अहिले पनि पानीको सतह खतराभन्दा निकै माथि रहेको बताउँदै तत्काल उनीहरूको उद्दार गर्न माग गरेका छन् ।

नेता महरले अहिले नदी किनारका दुवैतर्फ करिब २ सय बढी घर डुबानमा समेत परेको बताए । बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्‍याएको उनले जानकारी दिए ।

नदी आसपासका बस्तीका स्थानीयबासी त्रसित बनेको बताउँदै सुरक्षित स्थान्तरणका लागि नेता महरले आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्कविच्छेद भएको उल्लेख गर्दै महरले तत्काल सञ्चार सेवा सुचारु गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

नेता महरले गृह जिल्ला डडेलधुरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु र दुई जना घाइते भएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल