Logo

राजनीति

अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बराल : झापा आन्दोलनबाट प्रशिक्षित, समृद्धिप्रति दृढ संकल्प



काठमाडौं, २ असोज – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन्। केन्द्रीय सचिवालयको शनिबार सम्पन्न बैठकले एमाले युवा नेतृ बराललाई अनेरास्ववियुको अध्यक्ष चयन गरेको हो।

त्यस्तै, उपाध्यक्षमा कल्पना वाइबा र महासचिवमा समिक बडाल चयन भएका छन्। अध्यक्ष ऐन महरसहित पदाधिकारीले विद्यार्थी संगठनबाट बिदा लिएपछि अनेरास्ववियूले बराल नेतृत्वको रुपमा पाएको हो।

को हुन् सुनिता बराल ?

वि.सं. २०२८ सालको झापा विद्रोह नेपाली राजनीतिक आन्दोलनको इतिहासमा एउटा कोर्सकै रुपमा समाविष्ट छ । भारतको नक्सलबारीमा भएको वामआन्दोलनको प्रभाव स्वरुप झापाका वामपन्थी विचारधारा राख्ने युवाहरुको समूहले ‘पुँजीपति’ र ‘दलाल’हरुको सफाया शुरु गर्‍यो ।

निकै ठूलो विद्रोहपश्चात तत्कालीन पञ्चायती सरकारले सुरक्षाकर्मी लगाएर झापाका धेरै वामयोद्धाको हत्या गर्यो। त्यसपछि केही समयका लागि त त्यो आन्दोलन शिथित भएजस्तो देखियो । तर, ‘एउटालाई मारे हजार योद्धा जन्मिन्छन्’ भन्ने उखानलाई प्रमाणित गर्दै झापामा कम्यूनिष्टहरु भित्रभित्रै संगठित हुँदै गए।

वर्गीय मुक्तिका लागि शुरु भएको झापा विद्रोहलाई तत्कालीन राज्यसत्ताले ‘सामान्य’ रुपमा लिँदै केहीको हत्या गरेपछि सेलाउँँछ भन्ने ठानेको थियो। तर, झापा विद्रोहको जगकै आधारमा तत्कालीन नेकपा माले देशव्यापी संगठन निर्माण गर्न सफल भयो। नेपाली वामआन्दोलन विस्तारै विजयीको झण्डा फहराउने बाटोतर्फ अघि बढ्यो।

हो, झापा आन्दोलनबाट केपी शर्मा ओली, चन्द्रप्रकाश मैनाली, राधाकृष्ण मैनालीलगायतका युवा वामराजनीतिमा नायक रुपमा उदाए। झापा आन्दोलनका एक नायक केपी ओली अहिले नेकपा एमालेको नेतृत्वमा गरिरहेका छन्। र, उनी जस्तै हजारौं क्रान्तिकारी कार्यकर्ता निर्माणमा तल्लिन छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बराल पनि क्रान्तिकारी वामयोद्धाहरूको रगतले सिंचिएको झापाबाटै राष्ट्रिय राजनीतिमा उदाएकी साहसी विद्यार्थी नेतृ हुन्, जो मुलुक निर्माणको दृढ अठोट लिएर वामआन्दोलनमा निरन्तर लागिरहेकी छिन्। उनी नेपाली राजनीतिमा नयाँ अध्यायको शुरुवात गर्न मनोवैज्ञानिक रुपमा पूर्ण तयार भइसकेकी छिन्।

‘विश्व बुझेको हाम्रो पुस्ताका नेपाली महिला समृद्ध नेपाल राष्ट्र निर्माणको अगुवाई गर्न तत्पर र सक्षम छन्, अबको पुस्ताका महिला समाजले सोचेभन्दा पनि सशक्त र शक्तिशाली छन्,’ सुनिताले भन्छिन्, ‘अनेरास्ववियुको नेतृत्व गर्दै–गर्दा यी चुनौतीलाई सहज रुपमा पार लगाउनुछ।’

सुनिता राजनीतिक निरन्तरताको एउटा अनुपम् नमूना हुन्, जसमा देशलाई नयाँ दिशा प्रदान गर्ने विचार छ, मुलुकको नेतृत्व गर्ने क्षमता र आत्मविश्वास छ।

बाल्यकालदेखि नै साहसी

झापाको दक्षिणी क्षेत्र विकासको दृष्टिले धेरै पछि परेको छ । सुगम जिल्ला भए पनि कतिपय गाउँमा पक्की सडक पनि पुग्न सकेको छैन । त्यस्तै विकासबाट ठगिएको गौरादह (साविकको महारानीझोडा–९) मा बुवा खगेन्द्रप्रसाद बराल र आमा शारदा बरालकी सुपुत्रीका रुपमा सुनिताका जन्म वि.सं. २०४५ साल वैशाख ३० गतेका दिन भएको हो।

सानै उमेरदेखि साहसी स्वभावकी सुनिताले जनता मावि गौरादहमा कक्षा–१० सम्म अध्ययन गरिन्। प्लस टुको पढाई गौरादह बहुमुखी क्याम्पसबाट अघि बढाइन्। उनले स्नातक तह अध्ययन विराटनगरस्थित गोग्राहा क्याम्पसमा गरिन्।

शिक्षा र स्वास्थ्य विषयमा स्नातक तहको पढाई पूरा गरेकी सुनिताले स्नातकोत्तर चाहिँ त्रिभूवन विश्वविद्यालयबाटै पूरा गरिन्। नेपाल ल क्याम्पसबाट एलएलबी गरेकी सुनिता त्रिचन्द्र क्याम्पसमा समाजशास्त्र विषयमा स्नातकोत्तर तह दोश्रो वर्षमा अध्ययनरत छिन्।

अखिलबाटै राजनीतिक यात्रा

अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालको राजनीतिक यात्रा स्कूल पढ्दा नै शुरु भएको हो। उनको परिवार राजनीतिक पृष्ठभूमिकै भएकाले पनि घरमा हरेक दिनजसो राजनीतिका बहस हुनै नै गर्थे। सुनिता राजनीतिक बहसलाई ध्यानपूर्वक सुन्थिन्।

अन्ततः त्यही नै उनको जीवनको लक्ष्य भइदियो। ‘नेताहरुको आलोचना भएको सुन्दा दुख लाग्थ्यो, राजनीतिमा लागेर देशको सेवा गर्ने र सबैलाई खुशी दिने मेरो अठोट हो,’ उनले थप प्रष्ट पारिन्।

मावि तहमा अखिलका कार्यक्रमहरुमा सहभागिता जनाउने गर्थिन् सुनिता। तर, वि.सं. २०६० सालमा गौरादह बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटीमा उपाध्यक्षकै जिम्मेवारी आयो।

त्यसपछि विराटनगरमा पनि उनी क्याम्पस कमिटीकै उपाध्यक्ष भएर काम गरिन्। विराटनगरमा नगरस्तरीय कमिटीको सचिव भएकी सुनिता २०६३ सालमा अध्यक्ष भइन्।

त्यसैगरी, जिल्ला कमिटी तथा पूर्वाञ्चल विश्वविद्यालयको आयोजक कमिटी लगायतका विभिन्न जिम्मेवारीमा रहेर काम गरेपछि उनी पोखरा सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन्।

जनकपुर र काठमाडौं सम्मेलनबाट विजयी हुँदै उनले दुई कार्यकाल सचिवालय सदस्य भएर काम गरिन्। सुनिता २०७२ सालमा काठमाडौंमा सम्पन्न २२औं राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

‘केन्द्रीय कमिटीमा आएपछि कार्यविभाजनदेखि हरेक कामको दायरा फराकिलो भएको पाएँ,’ उनले भनिन्, ‘नेपाली राजनीतिक आन्दोलनलाई अझै नजिकबाट नियाल्ने मौका मिल्यो।’

नेपाली राजनीतिमा महिलाको भूमिका

नेपाल पितृसत्तात्मक सोचबाट ग्रस्त छ। अझै पनि नेपाली समाजमा महिलाको स्थिति अत्यन्तै जटिल छ।

अनेरास्ववियुकी उपाध्यक्ष बरालले पनि राजनीतिक अभियानकम क्रममा विभिन्न जिल्लामा पुग्दा नेपाली महिलाहरुको स्थिति दयनीय रहेको आफ्नै आँखाले देखिन्।

अनि, उनलाई लाग्यो – ‘महिलाका लागि बनेका कानूनको कार्यान्वयन अझै हुन सकेको छैन।’

युवा नेता कस्तो हुनुपर्छ ?

युवा नेतामा केही अनिवार्य विशेषता हुनैपर्ने सुनिताको निष्कर्ष छ। ‘युवा नेता समाजका हरेक मानिसजस्तै नै हुनुपर्छ,’ उनले भनिन्, ‘तर, राजनीतिमा लागेका हरेक युवा वैचारिक रुपमा पृथक हुनुपर्छ, विशिष्ट गुणयुक्त हुनुपर्छ।’

युवा नेता समन्वय र नेतृत्व प्रदान गर्नसक्ने, आर्थिक रुपमा पारदर्शी, अध्ययनशील, अनुशासित, मनोवैज्ञानिक रुपमा छाप छोड्न सक्ने क्षमताको हुनुपर्ने सुनिताको निष्कर्ष छ।

नेतृत्वमा पुगेपछि‍‍…

राजनीति आन्दोलनका क्रममा विभिन्न जिम्मेवारी आउने उल्लेख गर्दै सुनिताले नेतृत्वमा पुगेपछि नीतिगत कार्यमै प्राथमिकता दिने बताइन्। उनी भन्छिन्, ‘राजनीतिक दल नै राज्य सञ्चालनमा निर्णायक हुन्छन्, त्यसैले नेतृत्वमा पुगेपछि स्वास्थ्य, शिक्षासहित जनताका आधारभूत आवश्यकताका विषयमा रहेका नीतिगत समस्या समाधान गर्ने नै हो।’

चुनौतीको सामना गर्दै मुलुकको उज्यालो भविश्य निर्माणको थालनी गर्ने सुनिताको सोच छ। ‘हामीले गर्न नसक्ने भन्ने केही छैन, तर अठोट चाहिन्छ,’ उनी भन्छिन्, ‘भनिन्छ नि, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक।’

प्रकाशित : २ आश्विन २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल