Logo

राजनीति

१९ वर्षमै कांग्रेसको वडासभापति भएकी स्वस्तिकालाई विश्वप्रकाशले दिए बधाई, भन्छन्, ‘स्वस्तिका परिवर्तनको प्रतिनिधि आवाज हुन्’



काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दैलेखको दुल्लु नगरपालिका–३ की वडासभापति स्वस्तिका महतलाई बधाई दिएका छन्। प्रवक्ता शर्माले आफ्नो फेसबुक पेजमा स्वस्तिकाको तस्वीरसहित स्टाटस लेखेर उनलाई बधाई दिएका हुन्।

‘नयाँ पालुवा पलाउँदैछ कांग्रेसमा िबधाई स्वस्तिका महतलाई, देशको मुहार बदल्नु छ त राजनीतिको मुहार बदलिनु पर्छ, राजनीतिको मुहार बदल्ने अभियानले तागत प्राप्त गर्छ भविश्य बोकेको जाँगरिलो युवाहरुको सार्थक हस्तक्षेपले, दैलेख दुल्लु नगरपालिका वडा नम्बर–३ मा सभापति निर्वाचित स्वस्तिका परिवर्तनको प्रतिनिधि आवाज हुन्,’ शर्माले लेखेका छन्।

अहिले चर्चामा छिन् स्वस्तिका महत। नेपाली कांग्रेसको शुक्रबार सम्पन्न वडाअधिवेशनबाट सभापति बनेकी स्वस्तिकालाई बधाई दिनेहरूको भीड छ। उनकै विषयमा सामाजिक सञ्जाल तातेको छ।

उमेरले १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर–३ मा सभापति चयन भएकी छिन्। उनी स्वास्थ्य सहायक एचए अध्ययनरत छात्रा हुन्।

पारिवारिक पृष्ठभूमिले पनि उनलाई राजनीतिमा आउन प्रेरित गरेको हो। स्वस्तिकाका बुवा भुपेन्द्रजङ महत कांग्रेस दैलेखमा अघिल्लो कार्यकालमा उपसभापति भएका थिए।

नेपाल विद्यार्थी संघका पूर्वजिल्ला सभापति, नेपाल तरुण दलका जिल्ला कार्यसमितिका सभापति भइसकेका थिए। उनी एक कार्यकाल पार्टीको कोषाध्यक्ष समेत बनिसकेका थिए।

तर, डेढ वर्ष पहिले भारतको मुम्बईमा उपचारको क्रममा निधन भएको हो। स्वस्तिकाका पिता नेविसंघ र तरुण दलमा हुँदा शेरबहादुर देउवा निकट थिए।

स्वस्तिकाले पनि आफ्ना पिताको सपना पूरा गर्नकै लागि राजनीतिमा आएको बताएकी छिन्। ‘म मेरा बुवाको सपना पूरा गर्नकै लागि राजनीतिमा आएकी हुँ, मेरा बुवाले दैलेखमा राजनीति गरेर समाज परिवर्तन गर्ने सपना देख्नुभएको थियो, उहाँको सपना पूरा गर्न म राजनीतिमा होमिएकी हुँ,’ स्वस्तिकाले भनिन्।

नेपाली कांग्रेसमा व्याप्त गुटबन्दीबारे स्वस्तिकालाई कुनै चासो छैन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आ–आफ्ना गुट चलाउन व्यस्त रहँदा स्वस्तिकालाई त्यसबारे चासो छैन। ‘गुट–उपगुटको बारेमा मलाई केही थाहा छैन, म विस्तारै राजनीति गर्दै जान्छु,’ उनले भनिन्।

नेपाली कांग्रेसको विरासतअनुसार आफ्ना वडाबासीको सपना पूरा गर्नका लागि आफू राजनीतिमा होमिएको उनको धारणा छ। ‘राजनीति नै सबै नीतिको मूल नीति हो भनेर मेरो बाबाले मलाई भन्नुभएको थियो । त्यहि अनुसार राजनीतिक यात्रा गरेर मात्रै म गाँउको सेवा गर्न सक्छु भनेर यहाँ लागेकी हुँ,’ उनले भनिन्।

स्वस्तिकासँगै दश जना उम्मेदवार उक्त वडामा थिए। ‘तर, अन्य प्रतिस्पर्धी पनि हुनुहुन्थ्यो, मैले सबैलाई कन्भिन्स गरें, सबैले मलाई सभापतिमा अवसर दिनुभयो,’ उनले भनिन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १९ भाद्र २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल