Logo

राजनीति

समृद्ध राष्ट्र निर्माणबारे बहस प्रारम्भ गर्दै सुनिता बरालको ‘समृद्धिप्रतिको संकल्प’ (हेर्नुहोस् भिडियो)



काठमाडौं – नेकपा एमालेकी युवा नेतृ तथा अनेरास्ववियु उपाध्यक्ष हुन् सुनिता बराल। तर, अब युवा नेतृ बरालको परिचय लेखकका रुपमा पनि हुने भएको छ।

बरालको ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गरिएको छ। शनिबार राजधानीको बागबजारस्थित होटल हार्दिकमा एमालेका महासचिव ईश्वर पोखरेलले उक्त पुस्तक विमोचन गरेका हुन्।

महासचिव पोखरेलले युवा नेता बरालको लेखनको प्रशंसा गरे। आगामी दिनमा थप प्रगतिको कामना पनि उनले परे। साथै महासचिव पोखरेलले ‘समृद्धिप्रतिको संकल्प’लाई लिएर केही वैचारिक तर्कहरू अघि सारेका थिए।

‘सुनिताजीलाई पुस्तकका लागि बधाई छ। यस पुस्तकमा विभिन्न विषयहरू समावेश गर्नु भएको छ। सबै विषयहरू गहन छन्। त्यसैमा पनि गणतन्त्र, लोकतन्त्र, बहुदलीय जनवादका बारेमा पनि केही प्रसंगहरु उठाउनु भएको छ,’ उनले भने।

शासन जे–सुकै भए पनि त्यो शासनले जनतालाई सेवा प्रवाह कसरी गरिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण अर्थ राखने पोखरेलले बताएका छन्।

‘विचार र व्यवहारबीचको मेल छ कि छैन भन्ने कुराले अर्थ राख्छ, सुनिताजीले यस पुस्तकमा समृद्धि, विकास, राजनीति, वाद–विचारहरूका बारेमा आफ्ना दृष्टिकोणहरू अघि सार्नु भएको छ, सामाजिक न्यायका बारेमा आफ्ना कुराहरू राख्नु भएको छ,’ उनले भने।

कार्यक्रममा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले युवाहरू अध्ययनशील हुनुपर्नेमा जोड दिए। प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पुस्तकमाथि टिप्पणी गर्दै ‘समृद्धिप्रतिको संकल्प’ले युवाहरूमा आशा जगाउने काम गरेको बताएकी छिन्।

विमोचन कार्यक्रममा कसले के भने? (भिडियो)

को हुन् सुनिता बराल?

झापाको दक्षिणी क्षेत्र विकासको दृष्टिले धेरै पछि परेको छ। सुगम जिल्ला भए पनि कतिपय गाउँमा पक्की सडक पनि पुग्न सकेको छैन।

त्यस्तै विकासले पछि परेको गौरादह साविकको महारानीझोडा–९ मा बुवा खगेन्द्रप्रसाद बराल र आमा शारदा बरालकी सुपुत्रीका रुपमा सुनिताका जन्म वि.सं. २०४५ साल वैशाख ३० गतेका दिन भएको हो।

सानै उमेरदेखि साहसी स्वभावकी सुनिताले जनता मावि गौरादहमा कक्षा–१० सम्म अध्ययन गरिन्। प्लस टुको पढाई गौरादह बहुमुखी क्याम्पसबाट अघि बढाइन्। उनले स्नातक तह अध्ययन विराटनगरस्थित गोग्राहा क्याम्पसमा गरिन्।

शिक्षा र स्वास्थ्य विषयमा स्नातक तहको पढाई पूरा गरेकी सुनिताले स्नातकोत्तर चाहिँ त्रिभूवन विश्वविद्यालयबाटै पूरा गरिन्। नेपाल ल क्याम्पसबाट एलएलबी गरेकी सुनिता त्रिचन्द्र क्याम्पसमा समाजशास्त्र विषयमा स्नातकोत्तर तह दोश्रो वर्षमा अध्ययनरत छिन्।

अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालको राजनीतिक यात्रा स्कूल पढ्दा नै शुरु भएको हो। उनको परिवार राजनीतिक पृष्ठभूमिकै भएकाले पनि घरमा हरेक दिनजसो राजनीतिका बहस हुनै नै गर्थे। सुनिता राजनीतिक बहसलाई ध्यानपूर्वक सुन्थिन्।

अन्ततः त्यही नै उनको जीवनको लक्ष्य भइदियो। ‘नेताहरूको आलोचना भएको सुन्दा दुःख लाग्थ्यो, राजनीतिमा लागेर देशको सेवा गर्ने र सबैलाई खुशी दिने मेरो अठोट हो,’ उनले थप प्रष्ट पारिन्।

मावि तहमा अखिलका कार्यक्रमहरुमा सहभागिता जनाउने गर्थिन् सुनिता। तर, वि.सं. २०६० सालमा गौरादह बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटीमा उपाध्यक्षकै जिम्मेवारी आयो।

त्यसपछि विराटनगरमा पनि उनी क्याम्पस कमिटीकै उपाध्यक्ष भएर काम गरिन्। विराटनगरमा नगरस्तरीय कमिटीको सचिव भएकी सुनिता २०६३ सालमा अध्यक्ष भइन्।

त्यसैगरी, जिल्ला कमिटी तथा पूर्वाञ्चल विश्वविद्यालयको आयोजक कमिटी लगायतका विभिन्न जिम्मेवारीमा रहेर काम गरेपछि उनी पोखरा सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन्।

जनकपुर र काठमाडौं सम्मेलनबाट विजयी हुँदै उनले दुई कार्यकाल सचिवालय सदस्य भएर काम गरिन्। सुनिता २०७२ सालमा काठमाडौंमा सम्पन्न २२औं राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

‘केन्द्रीय कमिटीमा आएपछि कार्यविभाजनदेखि हरेक कामको दायरा फराकिलो भएको पाएँ,’ उनी भन्छिन्, ‘नेपाली राजनीतिक आन्दोलनलाई अझै नजिकबाट नियाल्ने मौका मिल्यो।’

प्रकाशित : ३१ श्रावण २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल