Logo

समाचार

पूर्वयुवराज पारसले गरे सडकमै हंगामा, प्रहरीले पक्राउ गरेपछि समर्थकले यसरी जोगाए (भिडियो)



काठमाडौं, १५ साउन – पूर्वयुवराज पारस शाहले काठमाडौंको महाराजगञ्जस्थित सडकमै बबाल गरेका छन्। बेलाबेला उपद्रो र अनौठो गतिविधिका कारण विवादमा आइरहने पूर्वयुवराज पारस शाहले आज फेरि प्रहरीसँग लफडा गरेका छन् ।

पूर्वयुवराज शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् ।

हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका उनलाई नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेपछि पारसले उदण्डता देखाएका हुन् । भिडियोमा हेल्मेट लगाउन अनुरोध गर्दा पूर्वयुवराज शाहले उल्टो प्रहरीलाई धम्क्याएका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकका थिए । मादक पदार्थसमेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेको सिंहले बताए ।

पारस शाह र प्रहरीबीच के भयो ? (हेर्नुहोस् भिडियो)

प्रहरीले पक्राउ गरी चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न, जान्न, जान्न भनेर प्रतिवाद गरेका छन् । उनले ‘तैले भन्दा जाने ?’ भनेर धुम्क्याएको भिडियोमा देख्न सकिन्छ ।

समर्थकहरूले नारावाजी गर्दै प्रहरीको साथबाट छुटाएर लगेको भिडियोमा देख्न सकिन्छ । महानगरीय ट्राफिक प्रहरी कार्यालय महाराजगञ्जले भने यो त्यस्तो ठूलो घटना नभएको बताएको छ । त्यहाँका एक अधिकारीले भने, ‘खासै ठूलो घटना होइन । चार–पाँच मिनेटको घटना हो । सम्झाईबुझाई पठाइदिएका छौ । अहिले सबै ठीक भइसक्यो ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता एसपी सञ्जिव शर्मा दासले धेरै सञ्चारकर्मीको फोन आए पनि घटनाबारे जानकारी नभएको बताए ।

उनले भने, ‘तपाईंजस्तै धेरैजनाको फोन आयो । मलाई पनि जानकारी छैन । महाराजगञ्जको ट्राफिकसँग बुझ्दा पनि जानकारी छैन भन्ने खबर आयो । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पनि बेखबर छ ।’ तर आफूले भिडियो भर्खरै हेरेकोले यसबारेमा बुझिरहेको एसपी दासले बताए ।

प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो ।

तनाव घट्ने स्थिति नदेखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको सुनिन्छ । एक ट्राफिक प्रहरीले सेटमा भनेका छन्, ‘पारस शाह रक्सी खाएर एकदम लफडा गरिरहेको छ, गाडी तुरुन्त पठाउनु त ।’

कतिपय सर्वसाधारणले ‘आम जनता थियो भने प्रहरीले अघि नै गाडीमा हालेर लगिसक्ने बताउँदै’ प्रहरीप्रति पनि आक्रोश व्यक्त गरेका थिए । केहिवेरमा शाहको समर्थकले पनि उनको पक्षमा नारा लगाएको सुनिन्छ ।

पूर्वयुवराज शाह पटकपटक उछृंखल गतिविधि गरेर चर्चामा आइरहन्छन् ।

२८ जेठ २०७५ मा उनी सवार बा १४ च २१३१ नम्बरको गाडी जावलाखेलबाट ट्राफिक नियम उल्लंघन गर्दै भागेको थियो । प्रहरीले उनको गाडीलाई थापाथलीमा रोको थियो । तर रिसमा उनले थापाथलीमा कार्यरत् एक महिला प्रहरी जवानलाई हान्ने गरी गाडी हुइँक्याएका थिए ।

संयोगले उनी जोगिएकी थिइन् । उनी तिनै प्रहरी जवान थिइन्, जसले पारसको लाइसेन्स लिएर जरिवानाको चिट काटेको थियो ।

२०७१ सालमा उनी थाइल्याण्डमा गाँजासहित पक्राउ परेका थिए । चारपटकसम्म लागूऔषधसहित पक्राउ परेका उनी पछिल्लो समय नेपालमै थिए । विशेष गरी उनी पोखरामा देखिन्थे ।

दुई वर्षअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक प्रहरीलाई धकेलेको भिडियो पनि भाइरल भएको थियो ।

कुनै वेला चितवनमा उनले रुबेल चौधरीमाथि पनि गोली चलाएका थिए । दरबारमार्गमा २२ साउन २०५७ मा पारसले चलाएको गाडीले ठक्कर दिँदा गायक प्रविण गुरुङको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार गुरुङलाई हानेर उनको गाडी सिधै निर्मल निवास छिरेको थियो ।

पछि दरबारले नक्कली चालक खडा गरेर उनलाई जोगाएको थियो । तर राजतन्त्र हटेको लामो समय भइसक्दा पनि उनको उदण्डता उस्तै छ ।

प्रकाशित : १५ श्रावण २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल